बढ्न थाल्यो नेप्से

काठमाडौ, ४ चैत । खिलराज रेग्मीको नेत्रृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठनसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ । उनले नेत्रृत्व लिएको दिन नेप्समा भारी अंकले बृद्धि भए पनि नेकपा–माओवादी मोहन वैद्य समूहको बन्दको कारण पुन: घटन पुगेको थियो । तर, अबको दिनमा सेयर बजारमा सुधार आउने संभाबन बढेको विश्लेषकहरूले बताएका छन् ।

गत साता स्टक एक्सचेन्जमा १ सय २ कम्पनीको कारोबार भएको छ । जसमा ५ हजार ३ सय ३७ कारोबारबाट ५३ करोड २५ लाख ३३ हजार रुपियाँ बराबरका २३ लाख २० हजार ४ सय ७२ कित्ता सेयर खरिद/बिक्री भएका छन् । गत साता १ सय ११ कम्पनीको कारोबार भएको थियो । त्यसमा ७ हजार ७ सय ९० कारोबारबाट ६७ करोड २६ लाख ९९ हजार रुपियाँ बराबरका २३ लाख ८२ हजार २ सय २ कित्ता सेयर खरिद/बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा २० दशमलव ८४ प्रतिशतले ह्रास आएको छ । कुल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र ३४ करोड ११ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ६४ दशमलव शून्य ६ प्रतिशत हो ।
सातामा नेप्से परिसूचकमा ९ अंकले वृद्धि भई ५ सय ४८ दशमलव २७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव २० अंकले वृद्धि भई १ सय ३९ दशमलब २१ अंकमा आइपुगेको छ ।
गत साता कारोबार रकमको आधारमा किस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयरको आधारमा पनि सोही बंैक रहेको छ भने कारोबार संख्याको आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ । साताको उत्कृष्ट कम्पनीमा किस्ट, नेपाल बंगलादेश, बैंक अफ काठमान्डु, चिलेमे हाइड्रोपावर र एभरेस्ट बैंक रहेका छन् । सेयर सूचीकरणतर्फ भने गत साता खाँदवारी डेभलपमेन्ट र इन्टरनेसनल डेभलपमेन्ट बैंकको साधारण, नेपाल एसबिआई , एभरेस्ट बैक र गरिमा विकास बैंकको बोनस सेयर रहेका छन् ।

प्रतिक्रिया