त्रिशूली–३‘बी’ मा ३० प्रतिशत सेयर दिन माग

काठमाडौं : नुवाकोट रसुवा प्राकृतिक स्रोत सरोकार तथा विकास केन्द्रले त्रिशूली–३‘बी’ जलविद्युत् आयोजनामा ३० प्रतिशत सेयर दिन माग गरेका छन् । आयोजनासँग १२ बुँदे माग राख्दै केन्द्रले त्यस्तो माग गरेको हो । केन्द्रले गरेको मागमा १५ प्रतिशत आयोजनाको गम्भीर प्रभावित क्षेत्र र १५ प्रतिशत गम्भीर क्षेत्रमा लगानी गर्न माग गरिएको छ । केन्द्रले स्थानीयबासीलाई रोजगारको अवसर दिन, आयआर्जनका लागि तालिमको व्यवस्था गर्न, स्थानीय क्षेत्रका सहिद, बेपत्ता र द्वन्द्वपीडितलाई प्राथमिकता दिन, प्रभावित तीन गाविसका तीन उच्च माविका स्नातक उत्तीर्ण शिक्षक, कम्प्युटर शिक्षक र कम्प्युटरको व्यवस्था तथा छात्रवृत्ति प्रदान गर्न माग गरेको छ ।

त्यसैगरी प्रभावित पाँच गाविसमा अहेब वा एचएको व्यवस्था गर्न, स्वास्थ्य शिविरहरू सञ्चालन गर्न, आकस्मिक सेवाका लागि बाहन र त्यसको सञ्चालनको व्यवस्था गर्न, बाँध, सुरुङ र उत्पादन क्षेत्र वरिपरिका बासिन्दालाई बिमाको व्यवस्थापन गर्न केन्द्रले माग गरेको छ । त्यसैगरी सिभिल, मेकानिकल, इलेक्ट्रिक, डिलिङका साथै फर्निचर, सिलाइबुनाइ, जडिबुटी, फलफूल, तरकारीलगायतको तालिम व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा संचित कोषमार्फत नि:शुल्क विद्युतीकरण तथा आयोजनाकै आन्तरिक प्रसारणबाट विद्युत्को व्यवस्था गर्न, उचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा मुहान सुक्दै गएमा वैकल्पिक व्यवस्था गर्न, ज्यालादारीलाई महँगीको आधारमा ज्याला वृद्धि गर्नुका साथै माथिको सबै कार्यका लागि बास्केट फन्डको व्यवस्था गर्न र सरोकारवालाहरूसँग सहमति भएपछि मात्र काम सुरु गर्न पनि केन्द्रले माग गरेको छ ।
केन्द्रका अध्यक्ष नारायण नेपाल र सचिव भीम घिमिरेले बुझाएको मागपत्रमा आफ्नो माग पूरा गर्नका लागि सहमतिमा नआएमा आन्दोलन गर्ने चेतावनी दिइएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय योजना आयोगलगायतलाई वोधार्थ दिइएको उक्त मागपत्रमा त्रिशूली–३ ए आयोजनासँगै निर्माण अघि बढाउने भए पनि ढिलाई भएको र आयोजनाका लागि १८ करोड रुपियाँ खर्च भइसके पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगायत तयार नभएको उल्लेख छ । (सौस)

प्रतिक्रिया