शून्यताले बनेका सुन्दर प्वाँखहरू

Ribin-2अनि त्यसपछि गाईवस्तुलाई सिकारी खोलाको उकालो लगाउँदै गर्दा हुण्डरी र पानी रोकियो । निकै आनन्दको समय । विनापातको नांगो सालको रूखमा पहेँला घामको प्रकाश ठोकिए । डाँडाकाँडा मैलो बनाएर बसेको तुवाँलो पानी हुण्डरीले बढारेर लगेछ ,पहेँलो घामले माथिल्लो भाग बादल र तल्लो भाग पहाडलाई परेला बनाएर नुहाएको नांगो रूखलाई हेर्दै छ । सधैँ सिकारी खोला आफ्नो बलौटे मैदानमा कमिलालाई तीर्थयात्रा गराउने आज घरको बलेसी बटुल्न खुब भ्याएछ । सिकारी खोला सकिनै लाग्दाको दाहिनेतिरको बाँसघारीको फेदमा मेरो आँखा पर्‍यो–भर्खर प्वाँख आउन लागेको ढुकुरको बच्चा छटपटाइरहेको छ । गाईवस्तुमा पनि यत्रो चेतना † जोगाएर ढुकुरलाई नटेकी गएको हुनुपर्छ, मैले हातमा लिएँ । मलाई थाहा थियो ढुकुरको दुइटा बच्चा हुन्छ, यताउता खोजेँ कतै पनि छैन । बाँसघारीको टुप्पातिर पनि हेरेँ, त्यसो गर्दा बाँसको झ्याँङ भित्रबाट पानीको एकथोपा मेरो गालामा खस्यो । गाईबस्तु निकै अगाडि पुगिसकेकाले ढुकुरको बच्चालाई गोजीमा राखेर हतार–हतार उकालो लागेँ । घरमुन्तिरको तेर्सोमा पुगेर घरतिर हेर्दा झसंग भएँ, यसलाई के गर्ने ? घरमा थाहा पाउनुभयो भने त, मेरो हालत हुन्छ । ओहो, क्या फसाद † मैले गोजीबाट निकालेर ढुकुरको त्यो बच्चालाई हेरेँ । भर्खर पलाउँदै गरेका पातला अनि छोटा प्वाँख ओभाउँदै छन् । घरमा पुगेँ, आमाले सुरुमै कराउनुभयो, ‘पानी हुण्डरी आउन लागेपछि छिट्टै गाईवस्तु हिँडाउनु पर्दैन ? हेर भिजेको– ल चाँडो लुगा फेर् ।’
म सरासर मतान चढेँ । ढुकुरलाई कहाँ
राखौँ ?

ribin_sketchयताउति हेरेँ, राख्नका लागि कतै सुरक्षित छैन, बुइँगल चढेर हेरेँ– पुरानो ज्याकेट लडिरहेको छ ।
अब मेरो दिमागले त्यही ढुकुरको बच्चा मात्रै सम्झिन थाल्यो । स्कुल जाने आउने अनि बुइँगल चढ्ने, ज्याकेटको नजिक जाने, पानी र चामल ढुकुरको बच्चालाई ख्वाउने । दिनदिनै ढुकुरको कलिलो शरीरबाट नरम प्वाँख निस्किएको देख्दा म निकै खुसी हुन्थेँ । दिन यसरी पनि बित्यो— म स्कुलबाट आएर ढुकुरको बच्चालाई चारो ख्वाउन बुइँगल चढेँ, ज्याकेटमा पाइनँ, आतिएँ, यताउति खोजेँ भेट्टाइनँ । म पसिनासरि भइसकेको थिएँ । मधुरो प्रकाशको उज्यालोमा देख्छु– ढुकुर त पर्खालको सुरमा बसेको रहेछ । भेटेपछि मलाई लाग्यो– संसार मेरो अञ्जुलीमा छ । हेरेँ उसका प्वाँख धेरै राम्रो र बाक्लो आइसकेको रहेछ र थाहा पाएँ, यो कुर्ले ढुकुरको बच्चा रहेछ । कुर्ले ढुकुरको घाँटीमा ताराजस्तो बाक्लो थोप्ला हुन्छ । सधैँ यसरी खोजिरहने झन्झटबाट बच्न कुखुरा राख्ने खुंगीमा राखेँ ।
दिन बित्दै गयो, जब म चारो दिन बुइँगल चढ्छु – खँुगीभित्रबाट ढुकुर मलाई भेट्न हतारिन्छ, म उफ्रिन्छु– खुसीले । बर्खामास लाग्यो, घरमुन्तिर मकैको बोट आकाश छौंलाझैं गरेर बढिरहेका छन् । भुइँकुहिरो आउँदा त पसिसक्नु हँुदैन मकैबारीमा । ‘अब स्याल लाग्छ, कुखुरा छाडा छाड्नुहुँदैन, फेरि खेतको कामले घरमा बसिरहन पनि पाइँदैन’ आमाले खाजा दिँदै भन्नुभयो । म खेतमा काम गर्नयोग्य भइसकेको छैन– कोठामा गएर चित्र कोर्न ब्यस्त छु । कन्फुसियसको दाह्रीमा रंग भर्दै गर्दा बुइँगलबाट आपा कराउनुभयो, म रंग भर्न छाडेर काम्न थालें । खुँगी खोज्दा आमाले ढुकुर भेट्नुभएछ । घरमा उपध्रो मच्चाउने मै थिएँ, मैलाई हकार्नुभयो, चुपचाप बसेँ, अन्त्यमा भन्नुभयो, ‘त्यसको जातै उड्ने, थुन्यो भने मर्छ, उडाइदे ।’ मैले सानो स्वरमा भनेँ, ‘उड्ने भए पछि उडाइदिन्छु ।’
घरमा ढुकुर सार्वजनिक भएपछि ढुकुरलाई सिकुवाको लामो काठे कुर्सीमा छाडिन थालियो । कुर्सीको एक छेउतिर सानो कपमा पानी र अर्कोमा चामल राखियो । म स्कुल जाँदा–आउँदा ढुकुर त्यही कुर्सीमा यताउति गर्दै गरेको हुन्थ्यो ।
वनमाराको चुंगीलाई दश गन्दै खुट्टाले पछाडिबाट डेग हान्दा ढुकुरछेउ पुगेछ– ढुकुर तर्सेर पुग्यो निबुवाको बोटमा, फुर्र गर्दै, म चिसो भएँ । हतार–हतार निबुवाको फेदमा पुगेँ ढुकुर सानो हाँगामा बसेर आफ्नो जिउलाई हल्लाउँदै सन्तुलित बनाउन खोज्दै छ । धन्न त्यहाँबाट उडेन, समाएर ल्याएँ । ओहो अब यो उड्न सक्ने भएछ । छोपेर राखौं त्यो सम्भव छैन, उड्ने भएपछि उडाइदिन्छु भनेको छु । बयस्क बौद्घिकतामा नअटेका धेरै चेतना बालमानसिकतामा अटेका हुन्छन्, मैले ढुकुरको भित्री तहको प्वाँख कैंचीले काटिदिएँ । वाह † बाहिरबाट हेर्दा प्वाँख जस्ताको तस्तै देखिन्छ । म ढुक्क भएँ । अब उसका प्वाँख पातलो भएको छ । पृथ्वीको गुरुत्वाकर्षण बललाई झापट दिन नसक्ने भएको छ दुवै पखेटा ।
बाँझो खेत हिलोले नुहाउँछ, धान रोपिन्छ । हरियो धानको गह्राको सभाँबाट सङ्लो पानी खस्छ । गह्राको पानीमा भ्यागुता उफ्रेजस्तै बित्छ समय । घरमा कहिलेकहीँ कुरा हुन्छ– ढुकुरको । उडेर जान नसकेकोमा दु:खमनाउ हुन्छ । ‘मान्छेले पालेको ढुकुर न हो, स्वस्थ किन हुन्थ्यो, स्वस्थ हुन्थ्यो त उहिल्यै उडेर गइसकेको हुन्थ्यो आदि इत्यादि ।’ तर उड्न नसकेको कारण मलाई मात्र थाहा छ— प्रत्येक दिन उसको पखेटा निरीक्षण गर्नु अनि भित्री प्वाँख कैंचीले छोट्याइदिनु मेरो काम नै भयो ।
चैत वैशाख मलाई त्यसै पनि नरमाइलो लागेर आउँछ, बाँसघारीको पहेंला पात टक्टक्याएर जाने फुक्को हावा, जताततै सुक्खा खेतका गह्राहरू, गह्राका भित्तामा सुकेका बुढी खरुकी र सिरुका पातहरू, लाग्छ खेत बारीका गह्राहरू अन्तिम सास पर्खिरहेछन् । शुक्रबार भएकाले दिउँसै आँगनमा दुई नम्बरको बल घरको भित्तालाई साथी बनाएर खुट्टाले पास खेल्दै छु । भित्ताको लिउन् भत्किने खबरदारी गर्दै आमा कुनै हाते काममा व्यस्त हुनुहुन्छ । भित्तामा ठोक्किएको बल मसम्म आइपुग्नै लाग्दा आमा भन्नुहुन्छ, ‘ऊ त्यहाँ हेर् त’, आमाले ठूलो चिलाउने रूखको टुप्पोतिर देखाउनुहुँदै छ । बल पक्रेर उतैतिर हेर्छु, ‘रूखमाथिका खुला आकाशमा केही चिबेचराहरू फुक्को हावामा पखेटा फिँजाएर तल–माथि गरिरहेका छन्– पानीमा माछा खेलेजस्तै । बाँसका झ्याङ खोलाजस्तै हावामा कराउँदै छ । म उतै हेरिरहेको बेला आमा भन्नुहुन्छ ‘त्यसलाई तैंले घरमा नल्याएको भए त्यसरी नै आकाशमा उड्थ्यो, हेर् त्यसको बिजोक †’ म कुर्सीतिर हेर्छु – कुर्सीमा ढुकुर यताउता कतै जान हतार गरिरहेको छ – होला उसको पनि मन आकाशमा उड्ने । उड्नकै लागि संसारमा आएको ऊ । केही नबोली बल उफारिरहन्छु ।
अब मलाई स्कुलबाट आएपछि ढुकुरलाई कुर्सीमा देख्दा नरमाइलो लागेर आउन थाल्यो । बाटोमा हिँड्दा उडिरहेको चरा देखें भने टक्क रोकिएर हेर्न थालेँ । मलाई एउटा बिमार नै अल्झियो–उडिरहेको चरा हेर्ने । म चाहन्थँे, मैले पालेको ढुकुर पनि सिकुवाको कुर्सीबाट उडेर जाओस् बाँसको टुप्पोमा र निहालोस् आफ्नो संसार अनि चिलाउने रूखको टुप्पोमाथि पौडी खेलोस् । आकाश कतै विभाजित छैन, उसका लागि जताततै खुला छन्, मैले प्वाँख काट्न छाडिदिएँ ।
स्कुलबाट आउँदा म खुब भोको थिएँ । कोठामा पुगेर कपडा चाँडो फेरेर खाजा खान चाहन्थें । म कुद्दै आँगनमा के पुगेको थिएँ, ढुकुर कुर्सीबाट फुर्र उडेर मेरो काँधमा बस्यो । मेरो खुसी त्यसरी नै उड्यो फुर्र, मानौँ मेरै हो पखेटा उम्रेको, म आमालाई चमत्कार देखाउन चाहन्थें, त्यहीं उभिएर कराएँ ‘आमा, आमा…।’
अब ढुकुर निकै राम्रो उड्न थालेको थियो । अक्सर दिउँसो घरको धुरीमा उसको समय बित्थ्यो । धारामा खुट्टा धुँदै थिएँ । झट्ट देख्छु, घरको धुरीमा बसिरहेको ढुकुरलाई घरमास्तिरको कान्लाबाट केही केटा ढुंगा हानिरहेका छन् । म कुद्दै केटाहरू भएतिर जान्छु, म आएको देखेपछि केटाहरू भाग्दै बेपत्ता भए तर हेर्छु, धुरीमा ढुकुर छैन । घरमा यताउति हेरेँ कतै छैन ।्
ढुकुर हराएको लगभग दुई हप्ता बितेको थियो, बर्खायामको पहिलो पानी पर्‍यो रातभरी । बिहानै उठें बारीको खोपिल्टामा अझै धमिला पानीका पाइलाहरू देखिन्थे । माथिल्लो तलाको सिढी झर्दै गर्दा देखें – त्यही मेरो ढुकुर मकैको दाना टिप्दैछ परेवासँग । म खुसीले कराएँ, ‘आमा ढुकुर आएछ ।’ भित्र खाजा बनाउँदै गर्नुभएको आमा निस्कनु भयो र भन्नुभयो, ‘बिचरा हिजोको पानीमा कहाँ बस्यो होला ?’ आमाले भन्नुभयो ‘त्यसको जातै जंगलमा बस्ने, कम्तीमा घर पो कसरी सम्झन सक्यो भन् न ।’ म स्कुल जाँदासम्म बाँसको टुप्पोमा बसिरहेको थियो, भरै घर फर्कंदा ढुकुर त्यहाँ थिएन । त्यसपछि ढुकुर कहिल्यै घर आएन । होला केही दिनको जंगल बसाइबारे भन्न आएको थियो मलाई । अब त धेरै भयो हाम्रो भेट नभएको । यसबीच कैयौँ हुण्डरी र पानी आए, यतिबेला सम्ममा केहि छिमल उसका बच्चाहरू गुँडबाट उडिसके होलान्, लोरीमा म पक्कै आएँ हुँला, उसको भाषामा अनुवाद भएर । आज–भोलि कतै चराहरू देख्दा, लाग्छ मैले पालेको ढुकुरसँग तिनीहरूको कुनै साइनो पर्छ । कुनै बसाइमा पक्कै मैले पालेको ढुकुरले उसका साथीहरूलाई मेरो बारेमा बताएको हुनुपर्छ र लाग्छ प्रत्येक चराहरूले मलाई चिन्छन् अनि लाग्छ, तिनीहरूले मलाई हेरिरहेका छन् । कहिलेकाहीँ डर पनि लाग्छ– कतै मैले उसका प्वाँख काटेको कुरा त कसैलाई भनेन ? र आजभोलि मलाई यस्तो लाग्न थालेको छ– म त्यो ढुकुरको मेटामोर्फाेसिस्, कुन आँधीबेहरी, पानी र हुण्डरीबाट यो काठमाडौंमा खसेको छु र मेरो हरेक प्वाँख यहाँ काटिन्छन्, फरक यति हो कि म अझै उड्न सकेको छैन तर म पनि कुनै दिन उडुँला आºना प्वाँख चलाएर, नसके रातभरि पानी परेको रात बेपत्ताले हराउँला, त्यसबेला मेरा सुन्दर प्वाँखहरू कसैले देख्न सक्ने छैनन्, शून्यताले बनेका मेरा सुन्दर प्वाँखहरूले हावाको सिँढीको पनि जरुरत ठान्ने छैनन्, खाली म उडिरहेको हुनेछु माथि–माथि…।

प्रतिक्रिया