एक कविको प्रवेश

avaya-shrestha-1मूल सडकबाट दुई सय मिटर पश्चिमतिर ‘शब्द’ साहित्यिक मासिकको कार्यालय थियो । कवि चन्दनश्री गह्रौँ पाइला चाल्दै हिँड्यो । गेटनिर पुग्न लाग्दा पसलकी युवतीसित उसका आँखा जुधे । मुटु ढक्क फुल्यो । अलि अगाडि बढेर एकपल्ट चोर आँखाले हेर्‍यो । युवती सिकारी आँखाले उसैलाई हेरेर हाँसिरहेकी थिई । त्यसले उसलाई जुत्तादेखि टाउकासम्म एकसरो हेरी । ऊ खुम्चियो । उसका खुट्टाका दुवै रेकबक जुत्ता च्यातिएर हेर्नै नहुने भएका थिए । ऊ निहुरिँदै अघि बढ्यो । गेटमा पालेसँग किशोरी गार्ड जिस्किँदै हाँसिरहेकी थिई । के गर्ने ? ऊ फेरि हच्कियो । केटाहरूका आँखा पहिला केटीको छातीमा पुग्छ, केटीहरूका केटाको जुत्तामा । कहाँ, कसलाई भेट्ने भनेर केटीले उसका जुत्तातिर हेर्दै सोधी भने के गर्ने ?
ऊ एकछिन त्यसै टहलियो । पसलकी युवतीका आँखामा अनौठो धूर्ततापूर्ण आमन्त्रण थियो । एक्कासि उसलाई त्यसका भकुल्ले छातीमा कुहिना ठोकाएर अनि चिल्ला गालामा एक किस दिएर हिँडूँजस्तो लाग्यो । हरे, केटीसँग आँखा जुधाउन नसक्नेले त्यस्तो कल्पना गर्नु ! ऊ आफैँलाई धिक्कार्न थाल्यो । एकैछिन सडकतिर हेलियो । उसकै अगाडि आएर माइक्रो रोकियो । खलाँसी बोलाइरहेको थियो । उसलाई जानु थिएन, तर खलाँसी बारम्बार उसैका अगाडि उभिएर यात्रु बोलाइरहेको थियो । झनक्क रिस उठ्यो । त्यसलाई मनमनै आमाचकारी गाली गर्‍यो । पसलकी युवती अझै सिकारी आँखा लडाइरहेकी थिई ।avaya-shre
जे त पर्ला, भित्र नगई छाड्दिनँ । ऊ कस्सिएर गयो । गार्ड केटी उसैगरी जिस्किरहेकी थिई । ऊ ह्वात्तै गेटभित्र छिर्‍यो । स्वीचअफ गरेजस्तै केटीको हाँसो एक्कासि रोकियो ।
‘म चन्दनश्री, शब्दको नियमित ग्राहक र कवि । सम्पादकलाई भेट्न आएको ।’ एकै सासमा भक्भकाएर उसले यस्तरी भन्यो, गार्ड केटा र केटी दुवै हाँस्न थाले । हाँस्दै केटोले बाटो देखाइदियो ।
लामो साँघुरो कोठामा भित्तापट्टि वरिपरि लेखरचनाको डंगुरले झन्डै छोपिएर सम्पादक आफ्नो कुनै कविता पढिरहेको थियो । दायाँपट्टि सहायक सम्पादक, वायाँपट्टि प्रुफरिडर र क्यासियर अनि अगाडि टाइट जिन्सवाली अपरेटर कविता सुनिरहेका थिए ।
‘नमस्ते ।’
‘…………..।’
‘म न्यायालयविरुद्ध
नालिस दिइरहेछु
मलाई थाहा छ
मैले तिम्रो कुनै मानहानि गरेको छैन न्यायाधीश
त्यो मानहानि ठहर्छ भने त्यसविरुद्ध पनि
नालिस दिन्छु ।
कस्तो लाग्यो ?’ सम्पादकले सोध्यो ।
‘राम्रो,’ सबैलाई उछिनेर टाइट जिन्स बोली ।
‘च्वाँक..च्वाँक..’, केटीका सुडोल स्तनमा सिकारी आँखा गाड्दै प्रुफरिडरले भन्यो, ‘तर, तिमीजतिकै चाहिँ अलि होइन ।’ केटीले पनि प्रुफरिडरतर्फ मादक आँखा तेस्र्याई र आफ्नो कार्यकक्षमा गएर कम्प्युटरको किबोर्डसित खेल्न थाली । सहसम्पादक र क्यासियर भुतुक्क भए । प्रुफरिडरचाहिँ गर्धन फुलाएर हाँसिरह्यो ।
‘साँच्चै, कस्तो छ ? कवितामाथि ख्यालठट्टा नगर्नुस् न’, सम्पादकले भन्यो ।
‘गजब छ गजब । युरोप, अमेरिकातिर भए यही कविताबाट तपाईंको नाम नोबेल कमिटीसम्म पुगिसक्थ्यो,’ सहसम्पादकको टिप्पणी व्यंग्य हो कि के हो सम्पादकले ठम्याउन सकेन । तर, त्यसले उसलाई केही रोमाञ्चित अवश्य तुल्यायो । नोबेल पुरस्कारसँग उसको नाम जोडिदिएकामा ।
‘सन्देश पाक्षिकले यसपालि साहित्य विशेषांक निकाल्दैछ’, सम्पादकले भन्यो, ‘त्यसैले मैले तपाईँहरूलाई सुनाएको । बुझ्नु नभएको भए एकपल्ट फेरि सुन्नुस् ।’ उसले कविता भट्याए पनि कसैले मतलव गरेन ।
‘न्यायमूर्तिको मानहानि गर्‍यो भनेर अदालतले मुद्दा त लगाउँदैन होला ?’
‘लगाउन पनि सक्छ’ प्रुफरिडरले भन्यो ।
‘साँच्चै लगाउला ?’ सम्पादकले उत्साहित भएर सोध्यो ।
‘कविता पढेर मुद्दा लगाउने ? ल छाड्नुस् त्यस्ता केटाकेटी सपना देख्न’, सहसम्पादकले भन्यो, ‘तपाईँका कविता कसले पढ्छ ? साहित्यकारले त पढ्दैन भने न्यायाधीशले पढेर मुद्दा लगाउला भन्ने ठान्नुहुन्छ ? राजेश हमालजस्तै चर्चित हुन खोज्नुभएको ? हो भने कविता छाडेर लाग्नुस् जोकरको अभिनय गर्न ।’
सम्पादक खिस्रिक्क पर्‍यो । काममा व्यस्त भएझैँ गर्न थाल्यो ।
‘नमस्ते ।’
चन्दनको नमस्ते फेरि पनि कसैले फर्काएन । अपरेटर छड्के आँखाले हेरेर मुसुक्क हाँसी । उसका आँखा झुके । बाँकी कसैले पनि उसलाई टाउको उठाएरसमेत हेरेन । निकै अप्ठेरो मानेर नजिकैको सोफामा बस्यो । सहायक सम्पादक जुरुक्क उठ्यो । उसले त्यसलाई केही सोध्न खोज्यो । तर, त्यो एक नजर पनि नहेरी सुरुक्क बाहिर निस्क्यो । सायद शौचालय गएको थियो । एकै छिनमा फर्कियो र फेरि त्यही मुद्रामा आएर बस्यो । चन्दन जुरुक्क उठ्यो । सुरुसुरु सम्पादकको अगाडि पुगेर खल्तीबाट पाँचवटा कविता झिकेर राखिदियो । सम्पादकले नदेखेझँै गर्‍यो ।
‘सर मेरो कविता ‘शब्द’का लागि ।’ सम्पादकले फेरि पनि उसलाई हेरेन र कविता टेबुलमा राखिएको ऐनाभित्र घुसारिदियो ।
यसै बेला उसले मिलान कुन्देराको उपन्यास ‘लाइफ इज एल्सह्वेर’को एउटा अंश सम्झियो । नवकवि जेरोमिल सम्पादकसँग यही कुरा सोध्छ । सम्पादक उसलाई पाखुरामा समातेर कविताको सेफ देखाउँदै भन्छ, ‘हाम्रो देशमा कविहरू कति धेरै जन्मिसके । अब तिनलाई विदेश निर्यात गर्न ढिलाइ गर्नुहुन्न ।’
ऊ झस्कियो, कतै यसले पनि यस्तै भनिदिने त होइन ? तैपनि आँट गरेर सोध्यो, ‘सर, कहिले छापिएला ?’ सम्पादकले नाकमा अड्याएर उसलाई घुरेर हेर्‍यो । नजिकैको कुर्सीमा बस्न संकेत गर्‍यो । त्यसपछि ऐनाभित्र घुसारिएको कविता निधार चाउरी पार्दै पढ्न थाल्यो ।
‘घर कता हो भाइ ?’
‘भोजपुर सर ।’
‘भोजपुर बजार कि गाउँमा ?’
‘बजारबाट तीन दिन लाग्छ सर ।’
‘बा के गर्नुहुन्छ ?’
‘खेती–किसानी । हलो जोत्नुहुन्छ सर ।’
‘मेरो विचारमा भोजपुरै फर्केर तिमीजस्ताले बालाई हलो जोत्न सघाए राम्रो हुन्छ,’ उसले सहसम्पादकतिर पुलुक्क हेर्दै भन्यो ।
‘किन सर ? मेरो पढाइ र काम यतै छ ।’
‘किनभने तपाईँ र तपाईँजस्ताले कविता लेख्दा यो देशको वन विनाशमात्र हुन्छ,’ फेरि पनि उसले सहसम्पादकतिर हेर्दै बिझाउने स्वरमा भन्यो ।
‘त्यहाँ पाँचवटा कविता छन् । सबै पढेर भन्नुस् न सर ।‘
‘सबै पढ्न मेरो काम छैन ? राम्रो रहेछ भने त्यहाँको (केटी बसेकोतिर देखाउँदै) कम्प्युटरमा जान्छ । नभए यहाँको (डस्टबिनतिर देखाउँदै) कम्प्युटरमा जान्छ । ल जानुस् अब ।’
‘तर सर……।’
‘ठीक छ ठीक छ । म हेर्छु । कति भो कविता लेख्न थालेको ?’
‘०४७ सालमा समीक्षा साप्ताहिकमा कविता छापिएपछि लगातार लेखिरहेको छु सर । दुइटा कवितासंग्रह पनि छापिइसके ।’
‘संग्रह छापिँदैमा के हुन्छ ? अब त पशुपतिको बाँदरले पनि कविता निकाल्छ । त्यसले के हुन्छ ? आजसम्म तपाईँको नामै सुनेको थिइनँ । कसरी कवि हुनुभयो ?’
‘…………………..।’
‘ल भन, साहित्य कतिको पढ्छौ ?’
‘पढेको छु सर । रिमालको आमाको सपना, भूपीको घुम्ने मेचमाथि अन्धो मान्छे, देवकोटा, सिद्धिचरण, लेखनाथ, मोहन कोइराला, ईश्वरवल्लभ, बासु शशी, वैरागी काइँलादेखि विमल निभा, श्यामल, मीनबहादुर विष्टसम्म पढेको छु । गद्यमा गुरुप्रसाद मैनाली, पारिजात, भवानी भिक्षु, रमेश विकल, गोठाले, विजय मल्ल, पोषण पाण्डे, शंकर लामिछाने, इन्द्रबहादुर राई, शिवकुमार राई, डायमनशमशेर, ध्रुवचन्द्र गौतमदेखि कुमार नगरकोटीसम्म ।’
‘स्वदेशीमात्र पढेर साहित्य बुझिन्छ ? विदेशी पढ्नुभएको छ ?’
‘छु सर । मार्खेजको क्रोनिकल अफ अ डेथ फोरटोल्ड, लभ इन द टाइम अफ कलेरा, मेमोरी अफ माई मिलानकली होर्स, मिलान कुन्देराको लाइफ इज एल्सह्वेर, जोक, लाफेबल लभ्स, स्लोनेस, टीएस इलियटको वेस्टल्यान्ड, ल्याङ्सटन ह्युजको द निग्रो स्पीक्स अफ रिभर, एलेन गिन्सवर्गको हाउल, अमेरिका, हेमिङ्वेको ओल्ड मेन एन्ड सी, फर हुम द बेल रिङ्स, ओरहान पामुकको स्नो, माई नेम इज रेड, पाउलो कोएलोको भेरोनिका डिसाइड्स टु डाई, अलकेमिस्ट, जोसे दोनोसाको कोरोनेसन, एमिली ब्रान्टको उदरिङ हाइट, जोसेफ कानराडको द हार्ट अफ डार्कनेस, एल्फ्रेड जेलिनेकको पियानो टिचर, मिलोराद पाभिचको ल्यान्डस्केप पेन्टेड विथ टी, डिक्सनरी अफ खजार्स, विक्रम सेठको टु लाइभ्स, पौल ह्यागिसको रोप बन्र्स, समरसेट ममको सिक्स पेन्स, अरुन्धती रायको गड अफ स्मल थिंग्स, सम्राट उपाध्यायको गुरु अफ लभ, अरिस्टिङ गड इन काठमान्डू, रोयल घोस्ट, मञ्जुश्री थापाको ट्युटर अफ हिस्ट्री, टिल्ड अर्थ, फरगेट काठमान्डू……….।’
‘सेक्सपियरको कथासंग्रह बिलोभेड पढ्नुभयो ? त्यो नपढी तपाईँले पढेका सारा किताबको कुनै अर्थ हुँदैन, बुझ्नुभयो ?’
‘सेक्सपियरले कथा लेखेका छैनन् सर । बिलोभेड टनी मरिसनको उपन्यास हो, निग्रो जातिको पीडामाथि लेखिएको ।’
‘ए, होइन । बिलोभेड सेक्सपियरकै उपन्यास हो । ठीक छ, हरिगोपाल उपाध्यायका कृति पढ्नुभएको छ ?’
‘सर, हजुरका किताबको त म सुपरफ्यानै हुँ नि । सबै पढेको छु ।’
अग्लो, मोटो तालुखुइले भित्र छिर्‍यो,
‘नमस्कार ।’
‘ओहो, नमस्कार हजुर नमस्कार,’ सम्पादक, सहसम्पादक, प्रुफरिडर र अपरेटरले एक स्वरमा भने ।
‘के सेवा गरौँ हजुर ? चिया, कफी के लिउँm ?’ सम्पादक उठेर तालुखुइलेसँगै सोफामा बस्यो । चन्दन अप्ठेरो मानेर खुम्चेर बसिरह्यो ।
‘भयो, चिया, कफी खाने फुर्सद छैन । बरु मेरी छोरीको एउटा गीत छापिदिनुस् । ल गीतको स्थायी सुन्नुस् है त !
तिम्रो पनि माया लाग्छ, उनको पनि माया लाग्छ ।
यस्तो लाग्छ, किन किन ?
दुवैलाई जोवन आधा आधा बाँडिदिऊँजस्तो लाग्छ ।
‘आहाहा.. कोही जबाब नहीँ भाइसाप’, सम्पादकले भन्यो ।
‘कतै सुनिसक्याजस्तो लाग्यो नि सर ?’ सहसम्पादकले सोध्यो ।
‘होला । रेडियोमा कार्यक्रम चलाउने मान्छेको गीत जसले पनि गाइदिन्छ । पाँचवटा त एल्बमै निस्किसक्यो । कसैले गाइदियो होला,’ तालुले भन्यो ।
‘यो त रुबि जोशीको पुरानो गीत होइन र ?’ सहसम्पादकले सोध्यो ।
‘कहाँ हुनु ? यो त छोरीको फ्रेस गीत । कोको हो, मेल र फिमेल दुवैले गाउँदैछन् क्यारे ।’
‘यस्तो भावप्रधान कवितामाथि अब केको विवाद ? तपाईँकी छोरीको कविता हामीले नछाप्ने, यस्तो कसरी हुनसक्छ साहेब ?’ अपरेटरलाई गीत थमाउँदै सम्पादकले भन्यो, ‘लौ नानी, आगामी आकर्षणमा राख्ने । अहिल्यै टाइप गरिदेऊ । सर आफैँले करेक्सन हेरेर जानुहुन्छ ।’
‘अरे, यहाँलाई चिनेजस्तो लाग्यो नि ?’ तालुले चन्दनतिर हेरेर भन्यो ।
‘नमस्कार, म चन्दन श्री ।’
‘ओहो माई डियर, त्यै त भन्दैछु । सन्देश साप्ताहिकको पत्रकार । मैले यहाँको साहित्यिक स्तम्भ सबै पढेको छु । ब्रिलियन्टली मार्भेलस । मार्भलसली वन्डरफुल । वन्डरफुल्ली डायोबलिकल । यहाँलाई धेरैअघि नै भेट्न चाहन्थेँ । यहाँका कविता र कथा अत्यन्त प्रेमपूर्वक पढेको छु । यु आर रियल्ली भेरी क्रियटिभ राइटर सर ।’
‘थ्यांक यु सर’, चन्दनले भन्यो । सम्पादकदेखि अपरेटरसम्म सबैको केन्द्रविन्दु अब उही थियो ।
‘बाई द वे, म डा. अभिषेक शर्मा, वरिष्ठ समालोचक, कवि, कथाकार, उपन्यासकार । चिफ, रणमुक्तेश्वर कलेज क्याम्पस, कोपुन्डोल । मेरो उपन्यास ‘माया मदानी’ पढ्नुभएकै होला । टिनेजरहरूबीच हारालुछ भएको थियो । तीस हजार बिक्यो । रोयल्टीमात्र पचास लाख लिएँँ । त्यसैबाट नयाँ घर किनेर किरायामा लगाएको छु । तर, त्यस्तो उपन्यासलाई मदन पुरस्कार दिएनन् । तपाईँहरूले लेखिदिनुपर्‍यो’, भिजिटिङ कार्ड थमाउँदै तालुले भन्यो, ‘एकपल्ट अफिसमै आउनुहोला । कफी र मम: खाँदै कुरा गरूँला । तपाईँका कुनै संग्रह निस्केको छ भने पाऊँ ।’
तालु बिदा भयो । अपरेटर चन्दनलाई हेरेर फेरि मुसुक्क हाँसी ।
अब सम्पादक चन्दनसँग हात मल्न थाल्यो ।
‘चन्दन श्री यहाँ नै हुनुहुँदोरहेछ । मैले अघि ध्यानै दिइनछु ? यहाँको उपन्यास मैले पढेको छु ।’
‘मैले उपन्यास लेखेको छैन सर ।’
‘ए कथा हो क्यारे, हो कथाको किताब ।’
‘…………………………।’
‘ए कविता, हो कविता । एम आई राइट ? हो हो हो । वास्तवमा म तपाईँका कविताको ठूलै फ्यान हुँ ।’
‘…………………………………………….. ?’
‘सन्देशको साहित्यिक सम्पादक यहाँ नै हो क्यारे होइन ?’
‘……………………………………. ?’
‘ठीक छ । म यहाँकै अफिसमा एकपल्ट भेट्न आउँछु । वास्तवमा यहाँँका कवितामा ज्यादै पोएटिक स्पोन्टेनिटी पाइन्छ । सबै कविता छाडिदिनुहोला । प्रत्येक महिना एकएक वटा राख्छु । बरु, नियमित पाऊँ है हजुर । एउटा कविता आगामी आकर्षण राखिहाल्छु । ए नानी, लौ त यो टाइप गर्दिहाल, करेक्सन सरलाई नै देखाएर पठाइदिऊँ । सरको फोटो छैन ? ए ल, भोलि म सरकैमा लिन पठाउँला अथवा मै आउँला । सरको अफिस मेरो नजिकै पर्छ ।’
‘सरको पनि रचना पाऊँ न सन्देशका लागि ।’
‘भोलि नै आएर त्यो पनि सरलाई टक्राउँछु ? एउटा कुरा, सरले के भन्नुहुँदोरहेछ भनेर नचिनेजस्तो गरिदिएको । सर पनि …………….. । मैले त यहाँ भित्र छिर्नेबित्तिकै चिनिसकेको थिएँ । एकछिन रमाइलो गरुँ भनेरमात्र । माइन्ड नगरुँ है सर ?’

प्रतिक्रिया