‘होटल व्यवसाय आर्थिक व्यवसायको आधार’

नेपालगन्ज, ३० फागुन । मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र बाँकेको नेपालगन्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ ।

होटल अर्गनाइजेसन बाँकेका अनुसार दैनिक करिब ५० लाख रुपियाँभन्दा बढीको कारोबार हुने नेपालगन्जको होटल व्यवसाय यी क्षेत्रको पर्यटन व्यवसायको आधारस्तम्भका रूपमा समेत विकसित हुँदै गएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चलमा सञ्चालित एक हजार दुई सय होटेलमध्ये बाँकेमा मात्र साना–ठूला गरी नौ सय होटल सञ्चालनमा रहेका छन् । अर्गनाइजेसनका अनुसार यस क्षेत्रमा लहलहैमा खुलेका बाहेक अन्य सबै होटेलले राम्रो कारोबार गरिरहेका छन् ।
बाँकेको पर्यटन व्यवसायमा सघाउ पुर्‍याउने उद्देश्यले पर्यटनको सम्भावना बोकेका जिल्लाको ढकेरी, गाभर, खजुरा, बाँके राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पनि होमस्टे तथा आकर्षक होटलहरू सञ्चालन हुने क्रम बढिरहेकाले बाह्य तथा आन्तरिक पर्यटक पनि क्रमश: बढिरहेको पाइन्छ ।
‘व्यवसाय जानेकाबाट सञ्चालनमा ल्याइएका होटल व्यवसायीहरू घाटामा छैनन्, तर अरूको देखासिकी गरेर खोलिएका होटलहरू आफू त घाटामा पर्छन नै अरूलाई पनि अप्ठेरोमा पार्ने गर्दछन्’ होटल व्यवसायीको साझा धारणा छ ।
नेपालगन्जमा आउने भारतीयहरूमध्ये केही बर्दिया राष्ट्रिय निकुञ्जलगायत साइट भिजिटमा पनि जाने भएकाले पर्यटन व्यवसायलाई पनि टेवा पुगेको पाइन्छ ।
नेपालगन्जमा अहिले उच्चस्तरका होटलहरू पनि खुल्ने क्रम बढिरहेको छ । यहाँ सञ्चालित होटलहरूमध्ये स्नेह, सिद्धार्थ भ्यू, किचनहट, ताज आदि सुविधा सम्पन्न होटेलभित्र पर्दछन् ।
‘वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख आधार होटल व्यवसाय पनि भएकाले यहाँका होटललाई पर्यटकीय दृष्टिकोणले समेत व्यवस्थापन गर्दै लान सकियो भने होटल व्यवसायको भविष्य उज्ज्वल देखिन्छ’ होटल व्यवसायी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाष्कर काफ्लेले भने ।
होटल व्यवसायी महासंघको सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको महासंघको १० बँुदे भावी कार्यक्रम तथा योजनामा राज्यले होटल व्यवसायलाई आन्तरिक तथा वाह्य पर्यटन विकासको प्रमुख आधार बनाउन ठोस नीति निर्माण गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया