निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता

काठमाडौं, ३० फागुन । विभिन्न राजनीतिक दलहरूले २०१५ भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यका सञ्चालन हुने ‘साक्षर नेपाल अभियान’को कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार भएको कार्यक्रममा एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा—माओवादीलगायत राजनीतिक दलहरूले अभियानमा निरक्षर शून्यमा झार्ने प्रतिबद्धता जनाएका हुन् ।

अनौपचारिक शिक्षा केन्द्रले ४० लाख ६० हजार ९ सय ५४ निरक्षरलाई आगामी तीन वर्षभित्र साक्षर बनाउने उद्देश्यका साथ बिहीबारदेखि अभियान सञ्चालन गर्न थालेको छ । कार्यक्रममा नेताहरूले साक्षर नेपाल अभियानलाई सफल पार्न ‘मन, वचन र कर्मले सहयोग गर्ने’ लिखित प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रममा एमाओवादीका नेता केशव नेपाल, कांग्रेसका जीवन परियार एमालेका महेन्द्र पाण्डेले साक्षर अभियानका निम्ति आफ्नो दलका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक संगठन र विद्यार्थी संगठनले समेत सो अभियानप्रति प्रतिबद्धता जनाएका छन् । नेपाल शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले शिक्षकहरूलाई अभियानमा सहभागी गराएर निरक्षर उन्मूलन गराउनुपर्ने बताए ।
अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले साक्षरता अभियानका लागि क्याम्पस तहका विद्यार्थीलाई परिचालन गरिनुपर्ने धारणा राखे । अभिभावक संघकी उपाध्यक्ष सरिता अर्यालले महिलालाई साक्षरता बनाउनतर्फ बढी ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा शिक्षामन्त्री दीनानाथ शर्माले साक्षरता अभियानलाई सफल बनाउनका निम्ति राजनीतिक दल, शिक्षक, विद्यार्थी संगठनको संकल्पको आवश्यकता रहेको बताएका थिए । उनले सबैले आफ्नो घर परिवारबाटै साक्षरता अभियान सञ्चालन गरी निरक्षरता उन्मूलन गदै जानुपर्नेमा जोड दिए ।
‘सबैले आफ्नो क्षेत्रबाट अभियान सफल बनाउन संकल्प र सहकार्य गरेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘यसो गरे अबको तीन वर्षमा निरक्षरता उन्मूलन गर्न सकिन्छ ।’ उनले साक्षर अभियानका निम्ति शिक्षक र विद्यार्थीको व्यापक परिचालन गर्ने जानकारी दिए । मन्त्रालयका सचिव सोमलाल सुवेदीले साक्षरता अभियानलाई स्थानीय निकायसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी गराए ।
चैतदेखि सञ्चालन हुने तीनमहिने अभियानमा निरक्षरलाई सामान्य लेखपढ, बैंकको भौचर भर्ने, भित्रेपात्रो हेर्ने, लेनदेनको हिसाब राख्ने, एकदेखि सयसम्म चिन्ने तथा मोबाइल र क्याल्कुलेटरका अंक चिन्ने बनाउन सकिने लक्ष्य छ । ३ अर्ब ९५ करोड १० लाख बजेट यसका लागि छुटयाइएको छ । केन्द्रले पहिलो र दोस्रो वर्ष १३ लाख ८० हजार दरले र बाँकीलाई तेस्रो वर्षमा साक्षर बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया