कुलो मर्मत नहुंदा किसानलाई मर्का

कञ्चनपुर : कञ्चनपुरको चुरेको फेदीनजिकै रहेको बेलडाँडी सिँचाइ आयोजनाको कुलो मर्मत नहँुदा यहाँका किसान मर्कामा परेका छन् । गत वर्ष आएको बाढीले कुलोको बाँध र कुलोको विभिन्न क्षेत्रमा भत्काउँदा कुलोमा पानी सञ्चालन हुन नसक्दा यहाँका किसान सिँचाइको सुविधाबाट वञ्चित छन् ।
व्यावसायिक रूपमा तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित बेलडाँडी गाँउमा हाल सिँचाइको सुविधा नहँुदा दर्जन बढी किसानले तरकारी खेती गर्न छाडेको स्थानीय हर्कबहादुर ऐरले बताए । यहाँका ६० भन्दा बढी परिवार तरकारी खेतीमा संलग्न छन् । सिँचाइको अभावमै खेतमा लगाइएको गहुँबालीसमेत पाक्न नपाउँदै सुक्दै जान थालेकोप्रति चिन्ता प्रकट गर्दै कालीप्रसाद चौधरीले भने, ‘परिवार पाल्नकै लागि मजदुरी गर्नुपर्ने अवस्था आएको छ ।’
कुलो मर्मतका लागि बर्सेनि बजेट आएको कुरा सुनिए पनि कुलो मर्मत नभएको गुनासो उनको छ । कुलो मर्मतका लागि विभिन्न निकायमा धाउँदै आए पनि आश्वासनबाहेक सहयोग नभएको स्थानीय बासिन्दाले बताए । अनौखी खोलामा बनाइएको २० मिटर लम्बाइको पक्की बाँध पूरै क्षतिग्रस्त अवस्थामा रहेको छ । स्थानीय बासिन्दाका अनुसार बाँध मर्मत गरी कुलोमा पानी सञ्चालन गर्न करिब १५ लाख रुपियाँ खर्च लाग्नेछ । कुलोको लम्बाइ ४ किलोमिटर छ । बेलडाँंडी गाउँमा दलित र जनजातिका गरी ११५ परिवार बसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया