म तब्बुको फ्यान

Bibas-Bastiअहिले तब्बु अधबैँसे भइसकिन् । किन बाँकी रहन्थेँ र, म पनि † म पनि क्रमश: अधबैँसे दिनहरूतिर उन्मुख छु । समयलाई ढाँट्न र छाँट्न नसकिँदो रहेछ । नढाँटी भन्छु, म अहिले पनि तब्बुको फ्यान हुँ । तर अचेल भने फिल्ममा उतिसारो देखा पर्दिनन् उनी । नयाँ हिरोइनहरूले बलिउडलाई घप्लक्कै छोप्न थालेपछि यी नायिकाले आफूलाई कसरी उतार्नु, अहिलेको माहोलमा ?

‘चप्पाचप्पा चरखा चले…।’ गुल्जारको शब्द । हो, यही शक्तिशाली शब्दमा नोटेसन गरिएको गीतमा तब्बु उफ्रिएकी थिइन्, छिपछिपे पानीमाथि । साथमै थिए, सुनिल सेठ्ठी । तब्बुको हातमा हात मिलाउँदै पानीमाथि उफ्रिएका सेठ्ठीलाई मैले अनायासै ‘भिलेन’को पदवी दिएको थिएँ । मैले मन पराउने हिरोइनसित उनी किन त्यसरी मस्किइरहेका छन् ? मलाई यही कुराले तनाव दिन्थ्यो । र, नजिकै पर्दा म उनको अनुहारमा घुरेर हेर्थेँ सायद । तर, सन् नब्बेको दशककै फिल्म ‘हुतुतु’मा तब्बु निकै समृद्धशाली युवतीका रूपमा देखिएकी थिइन् । थोरै फिल्म निर्देशन गरेका र धेरै फिल्मी गीत लेखेका गुल्जार साबले बनाएको यो फिल्म राजनीति केन्द्रित थियो । राजनीतिमा जसरी खुट्टा तान्ने प्रवृत्ति हुन्छ, त्यही कुरालाई देखाउन खोजिएको थियो । कबड्डी खेलमा प्रयोग गरिने शब्द ‘हुतुतु’लाई नै उनले फिल्मको शीर्षक बनाएका थिए ।
तब्बुले ‘हुतुतु’बाट पगाल्न थालेको मेरो मन अहिलेसम्म पनि नौनीकै तहमा अडिएर रहेको छ र उनका कुनै पनि तस्बिर देख्नासाथ म पग्लिन थालिहाल्छु । उनमा सेक्स–अपिल थियो वा थिएन ? त्यो म जान्न सक्दिनँ । तर, म आफ्नो जिन्दगीमा पनि त्यस्तै महिलाको उपस्थिति होस् भन्ने कल्पना गर्थेँ । त्यस्तै हाइट, जिउडाल र निर्दोष चेहरा । ओहो † उनको बोलीको कुरा छुटायो भने त अन्याय नै हुन्छ । उनी बोलेकी हुन् कि आफ्नो हृदयको झन्कार खोलेकी हुन् ? केही भेउ नै पाइँदैनथ्यो ।
माफ गर्नुहोस्, म एउटी भारतीय नायिकाप्रति धेरै बहकिए कि क्या हो † तर ढाँट्नु हुँदैन । किशोरकालीन दिनहरू छिचोलेपछि ममा तब्बुको छाप धेरै नै पर्‍यो । म सोच्दथेँ, तब्बुजस्तै युवतीसित म आफ्नो जिन्दगीको रथ चलाउन सक्षम हुन्छु । तर, तब्बुप्रति आकर्षित भए पनि त्यो केवल ‘आकाशको फल, आँखा तरी मर’भन्दा अर्को हुँदैनथ्यो, मेरा लागि । कहाँकी तब्बु, कहाँको म † कहाँको गनेशमान, कहाँको गने भँडारी †
मेरा अधिकांश साथीहरू करिना कपुरलाई मन पराउँछन् । उनको अहिले त बिहे नै भइसक्यो । तथापि, बिहे भएर पनि मन पराइनु नाजायज कुरा होइन । कतिपयले ऐश्वर्यालाई पनि मन पराउँछन्, उनको पनि बिहे भइसक्यो । मेरा मित्र भीमसेन राजबाहक त प्रीति जिन्टालाई खुबै मन पराउँथे । जिन्टाले हाँस्दा उनको गालामा पर्ने खोबिल्टाले उनलाई निकै नै उत्तेजित तुल्याउँथ्यो रे † मेरा अर्का मित्र राजु उप्रेतीलाई त करिना धेरै नै मन पर्छ अझै पनि । कतिपय व्यक्तिहरूले मन पर्ने भए पनि तत्तत् हिरोइनहरूका नाम किटेरै भन्न सक्दैनन् । किनकि त्यस्तो ‘मनपराइ’ हँसीमजाकको विषय बन्ला कि भन्ने डर सबैलाई हुन्छ । तर, आफूलाई मन परेकी स्त्रीको खाना, लुगा आदिका बारेमा भन्दा के फरक पर्छ र ? आखिर, सबै मान्छे न हुन् र एउटा मान्छेले अर्को मान्छेलाई मन पराउनु कुन अचम्मको विषय भयो र ?
म फेरि तब्बुमै फर्किन चाहन्छु । उनी मभन्दा जेठी छन्, त्यस्तै दुई तीन वर्षजति । उमेरले के फरक पार्छ र ? आफूभन्दा कम उमेरकालाई मात्र मन पराउनुपर्छ भन्ने कतै लेखिएको छ र ? मन पराउनका लागि उमेरको कुनै बन्देज छ र ? इमरानले अमृता प्रितमलाई किन मन पराए भन्ने रहस्य अहिले म बुझ्दै छु, जब म पनि तब्बुलाई मन पराइरहेको छु/हुन्छु । मैले यी कुराहरू बिसाउँदा मेरी श्रीमती मप्रति उग्र रणचण्डीकी रूपमा प्रदर्शित हुन सक्लिन् । उनले भन्न सक्लिन्–‘मसित किन बिहे गरेको त ? त्यहीसित बिहे गरेको भए हुन्थ्यो नि †’ सायद उनी आँसु पुछ्दै सिरकभित्र मुन्टो घुसारेर मलाई घुक्र्याउँछिन् ।
बिहेपूर्व काठमाडौंका सडकहरूमा म तब्बुजस्तै केटी भेटिन्छन् कि भनेर यताउता आँखा तन्काउँथे । देखे पनि प्रस्ताव राख्ने आँट भने ममा नभएको कुरा म सहर्ष स्विकार्छु । तथापि, मैले यसलाई आफ्नो ‘हबि’को रूपमा नभएर एक तब्बुप्रेमीको रूपमा मात्र लिएको थिएँ । डिल्लीबजारस्थित भूतबंगलामा बस्दा भने मैले तब्बुजस्तै अनुहार मिल्ने, हाइट पनि उस्तैउस्तै भएकी एक केटीलाई देखेँ । उनको लचकदार हिँडाइले मेरो मन आगोको समिपमा रहेको घ्यू जस्तै पगाल्थ्यो । म क्षणभरमै तरल–तरल हुन्थेँ । मैले एकदिन आफ्ना साथीहरूलाई भनँे पनि–‘अरे, यार † ती केटी त मलाई तब्बुजस्तै लाग्छ ।’
तर एकदिन एक अपरिचित केटासित एउटा रेस्टुरेन्टभित्र उनी मदमस्त भएको देखेपछि मैले उनलाई वास्ता गर्न छाडिदिएँ । तर, त्यो रेस्टुरेन्टमा बस्ने ती केटा भने सुनिल सेठ्ठी थिएनन् । तर, मचाहिँ म नै थिएँ । अर्थात् तब्बुको फ्यान ।
मैले एकपटक फिल्म बनाउने स्वप्न पनि उमारेको थिएँ । कथावस्तु पनि लगभग तैयार भइसकेको थियो । त्यो न व्यावसायिक, न आर्ट वा न अरू कुनै फिल्म हुन्थ्यो । मेरो आफ्नै मौलिक कथामा आधारित । हुसेनले बनाएको ‘गजगामिनी’जस्तो त के हुन्थ्यो होला र ? त्योभन्दा झूर नभए पनि केही दृश्यहरूले मान्छेहरूका मन अवश्यै पगाल्न पनि सक्थ्यो । मैले त्यस फिल्ममा खेलाउनका लागि कुनै पनि हलिउडका हिरोइनहरू देखिनँ, न त नेपाली फिल्म उद्योगका नर्तकी नै देखेँ । देखेँ त केवल बलिउडका देखेँ, त्यसमा पनि तब्बुलाई देखेँ । मैले मनमनै कल्पना गरेँ र कल्पनाको बिज यसरी उम्रियो–
म–मैले एउटा बेजोड नेपाली फिल्म बनाउन लागिरहेको छु । म त्यसमा तिमीलाई हिरोइन बनाउन चाहन्छु ।
तब्बु–मैले अहिलेसम्म तमिल र हिन्दी बाहेक अरू फिल्म खेलेको छैन । कसरी म नेपाली फिल्म खेल्न सक्छु र ? मलाई त्यसप्रति कुनै इन्ट्रेस्ट छैन ।
म–हैन, मसित राम्रो स्क्रिप्ट छ, म पारिश्रमिक पनि राम्रै दिन्छु । (यतिन्जेलसम्म मैले उनलाई म तिम्रो फ्यान हुँ भन्ने कुरा बताउन सकिरहेको छुइनँ । म विशुद्ध एक निर्देशकका रूपमा उनका सामु उपस्थित छु । म उनका मन पगाल्न चाहिरहेको छु । उनको मन पग्लियो भने मैले उनलाई पाउन सक्नेछु । म यस्तैयस्तै स्वप्न–संसारमा विचरित छु ।)
तब्बु–पहिला स्क्रिप्ट हेरौं, मलाई चित्त बुझ्यो भने म खेल्छु ।
म– पहिला मलाई हेर, अनि स्क्रिप्टलाई । स्क्रिप्ट त मान्छेले लेख्ने हो । स्क्रिप्ट पहिला जन्मिएको हो कि म पहिला जन्मिएको हुँ ? मलाई जवाफ देऊ । म स्क्रिप्टमा विश्वास राख्दिनँ । स्क्रिप्ट त के हो र ? एउटा कागजमा कोरिएका काल्पनिक दस्तावेजमात्र । तर, म जीवित प्राणी हुँ, स्क्रिप्टभन्दा पनि म विश्वासिलो छु । मलाई पढ पहिला । मलाई पढेपछि सबै कुरा, जीवनका सबै पक्ष बुझिन्छन् । तर, स्क्रिप्टमा त एउटा खास समय, विषय वा सन्दर्भका कथामात्रै हुन्छन् । स्क्रिप्टभन्दा म धेरै माथि छु, मान्छे धेरै माथि छ । मान्छेभन्दा कहिल्यै पनि स्क्रिप्ट माथि हुन सक्दैन ।
तब्बु–के तिमी दार्शनिक हौ ?
म–म विशुद्ध निर्देशक हुँ र म तिमीलाई आफ्नो फिल्ममा हिरोइन बनाउन चाहन्छु । तर, म सुनिल सेठ्ठीलाई चाहिँ हिरो बनाउन सक्दिनँ ।
तब्बु– किन ?
म–तिम्ले उनलाई चप्पाचप्पा चर्खा चले…मा हात समातेको मलाई त्यतिविधि मन परेको छैन । गुल्जार साबले कथाले मागेअनुसार त्यो सिन दिए होलान्, तर तिमी त्यति भड्किलो ड्रेसमा आउनु हुँदैनथ्यो र सेठ्ठीले पनि त्यति मोहित र व्यग्र भएर तिमीप्रति झम्टिनु हुँदैनथ्यो ।
तब्बु–त्यो त फिल्मको दृश्यको कुरा हो । वास्तविक जीवनमा कहाँ त्यस्तो हुन्छ र ? उनी हाँसिन् । उनले कसरी हाँसिन् ? मलाई केही थाहा भएन । कोकशास्त्रका विज्ञहरूले त्यस्तो हाँसोलाई कस्तो संज्ञा देलान् ? मलाई त्यो पनि थाहा भएन ।
मेरो सपनाको पनि त्यहीँ नै अन्त्य भयो ।
माफ गर्नोस्, म अरू केही होइन, तब्बुको विशुद्ध फ्यान मात्र हुँ ।

प्रतिक्रिया