दोस्रो अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि

fncci-adकाठमाडौं, २५ फागुन । शुक्रबारदेखि दोस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हँदै छ ।

२५ देखि २९ फागुनसम्म सञ्चालन हुने यो मेलाको प्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, भुटान, अमेरिकालगायतका देशको सहभागिता रहने मेलामा चार सय वटा स्टलमार्फत विभिन्न देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने तथा मेलाको सबै तयारी पूरा भएको महासंघले बताएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एउटा ब्रान्डिङको रूपमा प्रवद्र्धन गर्न महासंघले मेलालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा हुने मेला अवधिभर छिमेकी देश चीन तथा जर्मनका व्यावसायिक प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ ।
मेला आयोजनाका क्रममा विभिन्न देशका उद्यमी व्यवसायीसँग आयोजना हुने व्यावसायिक भेटवार्ताबाट नेपाल र ती देशबीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, व्यापार विस्तार तथा लगानी तथा प्रविधि प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । मेलाको अवसरमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० का अन्तर्गत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुको प्रवद्र्धनमा विशेष जोड दिइने महासंघले जनाएको छ । मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ रहेको छ ।
प्रत्यक्ष रूपमा मेलाको दुई लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिब १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार मुलुक भारत रहेको छ । महासंघले मेलालाई आफ्नो वार्षिक क्यालेन्डरका रूपमा विकास गरी लैजाने तयारी पनि सुरु गरेको छ । महासंघले यसलाई मुलुकको प्रमुख कार्यक्रमका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय जगतमा एउटा ब्राण्डिङका रूपमा लैजान त्यस्तो तयारी गरेको हो । महासंघले प्रत्येक वर्ष यो मेलाको आयोजना गर्ने र आगामी वर्ष मार्च ६ देखि १० तारिखका बीच यो मेला आयोजना गर्ने लक्ष्य राखेको छ ।
मेलाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ । मेलालाई अन्तर्राष्ट्रिय रूपमै मुलुकको प्रवद्र्धनका लागि प्रभावकारी मञ्चका रूपमा विकास गर्ने रणनीति महासंघको छ । वाह्य देशले यस्ता मेलालाई एउटा क्यालेन्डरकै रूपमा आयोजना गरी त्यसबाट राम्रो लाभ लिइरहेको अवस्थामा महासंघले पनि यो मेलालाई सोही अनुरूप विकास गर्ने लक्ष्य लिएको छ ।
मेलाका अवधिभर प्रत्येक दिन देशका ख्याती प्राप्त कलाकारबाट मेलाको अवलोकन हुने र यस वर्षको मेलामा महासंघले पहिलोपटक विशेष प्रकारको एक्सिबिन्ट टेन्टको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया