मापदण्ड विपरीतका ग्यास सिलिन्डर खुलेआम आयात

gasवीरगन्ज, २५ फागुन । मापदण्ड विपरीत खाना पकाउने एलपी ग्यासका साना सिलिन्डरको अवैध आयत हुन थालेको छ । छिमेकी मुलुक भारतबाट त्यस्ता मापदण्ड विपरीतका सिलिन्डर आउन थालेको हो । अवैधरूपमा आयात हुने त्यस्ता गुणस्तरहीन र मापदण्डविपरीतका सिलिन्डरका कारण आम उपभोक्ता ठगीमा परिरहेका छन् । भारतबाट अवैधरूपमा ल्याइएका यस्ता सिलिन्डर सबैभन्दा बढी तराईका बारा, पर्सा र रौतहटमा बिक्री हुने गरेको छ । स्थानीय प्रशासनले अनुगमनमा सक्रियता नदेखाएपछि सीमापारीको बजारबाट साना सिलिन्डर ल्याउन व्यापारीको मनोबल उच्च भएको हो । यहाँका अधिकांश पसलमा भारतीय साना ग्यास सिलिन्डर बिक्री हुँदै आएको छ, त्यस्ता ग्यास सिलिन्डर बिक्री गर्ने एक व्यवसायीले भने,‘ सानो परिवार तथा विशेषगरी विद्यार्थीको खाना पकाउनका लागि उपयुक्त हुने यस्ता साना ग्यास सिलिन्डरको माग स्थानीय बजारमा उच्च रहेको छ ।’ राजस्व छलेर भित्र्याइएका र सुरक्षा मापदण्ड नअपनाएका साना सिलिन्डरको कारोबार गर्न सरकारले अनुमति दिएको छैन् । स्थानीय प्रशासनले त्यस्ता साना सिलिन्डरको बिक्रीमा रोक लगाइएको भनिए पनि कारोबार रोकिएको छैन् । ‘प्रशासनले बिक्रीमा रोक लगाएको छैन ’वीरगन्जका एक व्यावसायीले भने, ‘स्थानीय उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर भारतीय सिलिन्डर बिक्री गरेका हौँ ।’

व्यवसायीले उपभोक्ताले देख्ने गरी पसल बाहिर साना सिलिन्डर राखेर त्यसको बिक्री गर्ने गरेका छन् । सुरक्षा मापदण्ड पूरा नगरी बनाइएका यस्ता सिलिन्डर खतरापूर्ण रहे पनि निर्वाध रूपमा बिक्री भइरहेको छ । स्थानीय बजारमा यस्ता साना सिलिन्डरको माग बढेकाले व्यापारी अवैध तरिकाबाट भए पनि यस्ता सिलिन्डर भित्र्याउने गर्छन् । कम लगानीमा बढी फाइदा हुने भएकाले यस्ता वस्तुको चोरी पैठारीले प्राथमिकता पाएको दाबी व्यवसायीको छ ।
बजारमा प्रतिकेजी ग्यासको मूल्य ९३ रुपैयाँ रहे पनि व्यवसायीले साना सिलिन्डरमा ग्यास भर्दा प्रतिकेजी एक सयदेखि एक सय ५० रुपियाँ लिने गरेका छन् । भन्सार छलेर अवैधरूपमा भित्रिने यस्ता भारतीय साना सिलिन्डरका कारण गुणस्तरयुक्त ठूला ग्यास सिलिन्डरको मागमा केही कमी आएको मनोज ग्यासको स्थानीय विक्रेता राधेश्याम चौधरीले बताए ।
सुरक्षा मापदण्ड नअपनाएका र सरकारले अनुमतिसमेत नदिएका साना सिलिन्डरको व्यापक चोरी तस्करी र बिक्री भए पनि सम्बन्धित निकायले उपभोक्ताको हकहितलाई ध्यानमा राखेर बजार अनुगमन गर्ननसकेको भनाइ स्थानीय उपभोक्ता रविरञ्जन मिश्रको छ ।
ग्यास जस्तो संवेदनशील वस्तुको प्रयोगबारे सम्बन्धित निकायले उपभोक्ता सचेतना कार्यक्रमलाई व्यापक रूपमा लागू गनुपर्नेमा उनले जोड दिए । सीमावर्ती क्षेत्रका कतिपय ग्राहकहरूले नेपाली बजारभन्दा भारतीय बजारमा त्यस्ता साना सिलिन्डर खरिद गरेर चोरीका माध्यमबाट नेपाल भित्र्याउने गर्छन् । ‘हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध व्यापार गर्नै पर्छ ’ एक व्यवसायीले भने, ‘खुल्ला सिमाना भएका कारण अवैध आयात गर्न त्यती अप्ठ्यारो परेको छैन् ।’
साना सिलिन्डरलाई १० प्रतिशत क्यारिङ खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पुर्‍याइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले बेहोर्नुपर्ने हुन्छ । यसका साथै यस कारोवारमा संलग्न हुनेले पसल र बजारमा पुगेर माग अर्डर लिने गर्छन ।

प्रतिक्रिया