पर्वतमा पनि यान्त्रिक पुल

yantrik-pulपर्वत, २४ फागुन । नेपाली इन्जिनियरको प्राविधिक सहयोगमा पहिलोपटक यात्रुबाहक यान्त्रिक पुल सञ्चालनमा आएको छ ।

यान्त्रिक मिनी केबलकारका रूपमा चिनिनेपरीक्षण प्रशारणमा रहेको यान्त्रिक पुल तीन दिनअघि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । रोपवे एन्ड केबलकार प्रालिको प्राविधिक सहयोगमा पर्वत उद्योग वाणिज्य संघद्वारा निर्मित यान्त्रिक पुल सञ्चालनमा आएको संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले जानकारी दिए । संघद्वारा कुस्मा–वलेवा यान्त्रिक पुल कम्पनीमार्फत ४ सय ३९ जना सर्वसाधारणमार्फत २५ हजारदेखि १५ लाख रुपियाँसम्म सेयर संकलन गरेर जग्गा र भौतिक पूर्वाधार गरी ५ करोड रुपियाँमा यान्त्रिक पुल सञ्चालन गरिएको उनले जानकारी दिए । ‘हामीले व्यावसायिक रूपमा सञ्चालनमा ल्यायौ ’ उनले भने, ‘यान्त्रिक पुल खस्कँदो व्यवसाय र व्यापार बढाउन र पर्यटन विकासका लागि ठूलो टेवा पुग्नेछ ।’
नेपाली इन्जियनियरको प्राविधिक सहयोग तथा डिजाइनमा निर्माण भएको पहिलो यान्त्रिक पुल ५ सय ५० मिटर लामो र २ सय ६२ मिटर अग्लो छ । मनकामनाको केबलकार सर्कुलेटिङ प्रविधिमा र यान्त्रिक पुल जिकब्याक प्रविधिमा बनाइएको प्रालिका अध्यक्ष एवं यान्त्रिक पुलका नेतृत्वकर्ता गणेश पाठकले बताए । ‘यो पनि केबलकारकै एउटा प्रविधि हो तर मनकामनाको केबलकार बनाउँदा विदेशी इन्जिनियर प्राविधिक चाहिएकोमा यो नेपाली प्राविधिकले बनाएको आयोजना हो,’ उनले भने, ‘केबलकारभन्दा यो केही फरक छैन ।’
यान्त्रिक पुलबाट एकपटकमा ८ जना यात्रु वा ५ सय केजीसम्मको साना ओहोरदोहोर गर्न सकिन्छ । यान्त्रिक पुलको शुल्क भने ५० रुपियाँ निर्धारण गरिएको छ । यान्त्रिक पुल बनेपछि पर्वतको कुस्माबाट वाग्लुङका वलेवा, नारायणस्थान, अमलचौर, मुलाबारीलगायतका १६ गाविसका बासिन्दालाई ओहोरदोहोर गर्न सजिलो भएको छ । त्यसैगरी, भैरवथान मन्दिर, पर्यटकीय क्षेत्र मुलाबारीलगायतमा पुग्न पनि सजिलो भएको स्थानीयले बताए । यसअघि एक घन्टा हिँडेर कालीगण्डकी पार गर्नुपर्ने भए पनि ६ मिनेटमै ओहोरदोहार गर्न सकिने यान्त्रिक पुलबाट दैनिक ५ सयभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा कम्पनीको छ । ‘मुलाबारी क्षेत्रबाट धौलागिरि, अन्नुपूर्ण, माच्छापुच्छ्रेलगायत १८ हिमाली दृश्य सहजै देख्न सकिन्छ, । यसबाट पर्यटकीय प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ कम्पनीका सचिव केदारनाथ शर्माले भने । १५ वर्षअघि ४४ करोडमा ३.१ मेगावाटको केबलकार बनेकोमा भवन र जग्गाबाहेक साढे ३ करोडमा उक्त यान्त्रिक पुल बनेकोले नेपालको डाँडाकाँडामा नेपाली इन्जिनियरकै सहभागितामा सस्तोमै केबलकार बनाउन सकिने देखिएको उनले बताए ।
कुस्माबाट बलुवालगायत क्षेत्रमा जानका लागि झोलुङे पुल बनाउन उद्योग वाणिज्य संघका प्रस्ताव आएकोमा उक्त कार्य असम्भव भएपछि विभिन्न उपायको खोजीमा लाग्दा ललितपुरका भट्टेडाँडामा सामान ओहोरदोहोर गर्न बनाइएको मिनीकेबलकारको आधारमा यान्त्रिक पुल बनेको हो । केबलकार देखेका धेरै यहाँका बासिन्दा गाउँमै केबलबार सञ्चालनमा आएपछि दंग छन् । ‘पहिला त बन्छ भनेर पत्याएकै थिइन तर बनाएपछि र आफैँ चढेपछि दंग परे, चल्दो रहेछ जस्तो लाग्यो,’ कुस्माकी ५७ वर्षीया उमादेवी गिरीले भनिन् ।

प्रतिक्रिया