सार्कभित्र ऊर्जा ग्रिड संरचनाको योजना

काठमाडौं, २४ फागुन । सार्क राष्ट्रभित्र विद्युत् व्यापारका लागि अन्तरऊर्जा ग्रिड बनाउनका लागि योजना र कार्यक्रम बनाउन सम्बन्धित राष्ट्रका अधिकारीसहित विज्ञ जुटेका छन् ।

जापान सरकारको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले आयोजना सुरु भएको सार्क क्षेत्रमा ऊर्जा सञ्जालको व्यावसायिक सम्भावना र इनर्जी ग्रिड संरचना जोड विषयक दुईदिने छैटौँ सार्क इनर्जी सम्मेलनमा उनीहरूले त्यस्तो धारणा राखेका हुन् ।
बुधबारदेखि सुरु भएको सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका, भुटान, अफगानिस्तानलगायत राष्ट्रका प्रतिनिधिका साथै जापन र यस क्षेत्रका विज्ञहरू सहभागी छन् । उनीहरूले दुई दिनसम्म सार्कको ऊर्जाको अवस्था, अन्तर ग्रिड सञ्जाल निर्माण, व्यापारिक सम्भावना, प्रविधि र प्राविधिक पक्ष, यसका लागि आइपर्ने समस्या र समाधानलगायत विषयमा छलफल हुने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवका अनुसार सहभागीहरूले सार्क राष्ट्रभित्र ऊर्जा उत्पादन, वितरण तथा ग्रिड सञ्जाल निर्माणलगायतबारे सम्मेलनले नयाँ योजना र कार्यक्रम बनाउनेछ ।
सम्मेलनको उद्घाटन कार्यक्रममा सरकारका मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लीलामणि पौडेलले सार्क राष्ट्रबीच अन्तर ग्रिड सञ्चालनको सम्भावना रहेको बताउँदै यी राष्ट्रहरू सँगसँगै लगानी, उत्पादन वृद्धि र अन्तर ग्रिड निर्माणका लागि जुट्नुपर्ने बताए । ‘दुई दिनसम्मको सम्मेलनले अन्तर ग्रिड संरचना निर्माणका लागि साझा योजना र कार्यक्रम बनाउनेछ ।’
जापानिज राजदूत कुनियो ताकाहासीले भारत र बंगलादेशलाई वर्षामा तथा नेपाल र भुटानलाई हिउँदमा बढी बिजुली चाहिने भएकाले अन्तरग्रिड संरचना निर्माण सार्क राष्ट्रभित्र सबैभन्दा महत्त्वपूर्ण रहेको बताए । ‘सार्क राष्ट्र प्राकृतिक धनी भएकाले सार्क राष्ट्र एकीकृत रूपमा ऊर्जा विकासमा अघि बढ्न सके यी राष्ट्रमा रहेको ऊर्जा संकट समाधानका लागि ठूलो योगदान पुग्न सक्छ ।’
नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेलेभिरन्थाले सार्क सम्मेलनले यस क्षेत्रको ऊर्जा विकासमा जोड दिएकोले सबै एक साथ ऊर्जाको विकासमा अग्रसर हुनुपर्ने बताए । भारतीय राजदूतावासका प्रतिनिधि जैदीप मजुमदारले भारतले पाकिस्तान, नेपाल, श्रीलंका, बंगलादेशलगायत देशसँग अन्तर ग्रिड सञ्जाल निर्माणका लागि प्रसारण लाइनको निर्माणक कार्य अघि बढाइरहेको जानकारी दिए । सार्कका क्षेत्रीय निर्देशक अहमर इस्मालीले १६औँ सार्क सम्मेलनले सार्क राष्ट्रबीच अन्तर सरकारी संरचना बनाउने निर्णय गरेकाले त्यहीअनुसार विद्युत् व्यापार आदानप्रदानका लागि योजना बनाउन लागिएको जानकारी दिए ।
ऊर्जा सचिव हरिराम कोइरालाले १० वर्षभित्र नेपालमा ३ हजार किलोमिटर प्रसारण लाइन निर्माणका लागि नेपाल जुटेको बताउँदै ऊर्जाका विकासको पूर्वाधार बनाउन सबै सार्क राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए । प्राधिकरणका कार्यकारी निर्देशक यादवले कार्यक्रममा नेपालको जलविद्युत्मा निजी क्षेत्रको २९ प्रतिशत र सरकारको ६९ प्रतिशत योगदान रहेको जानकारी दिँदै सार्क राष्ट्रबीच अन्तर ग्रिड संरचना बनाएमा आर्थिक, प्राविधिक, व्यापारिक रूपमा सबै राष्ट्रलाई फाइदा पुग्ने बताए ।

प्रतिक्रिया