कृषिमा आत्मनिर्भरताको आवश्यकता

Lalkumar-kcनेपालको जलवायुको अवस्था सबै प्रकारका अन्नबाली, फलफूल, तरकारी र पशुपालनका लागि अत्यन्तै उपयुक्त हुदाहुदै पनि कृषिप्रधान मुलुकबासी हामी यी उत्पादनमा आत्मनिर्भर हुन सकेका छैना । यो अवस्था आउनुमा मुख्य दोषी सरकार तथा नीतिनिर्माण तहमा बस्नेहरू नै हुन् । सरकार हाम्रो कृषि प्रणालीलाई उच्च वैज्ञानिक ढाचातिर लैजाने छाँटकाँट देखिदैन । हामी सानातिना कुराहरूमा मात्रै अल्झिएका छौ ।
कृषिमा सरकारले आवश्यक सबसिडी दिन सकेन । कृषि तथा पशुपालन व्यवसाय व्यवसायिकीकरण नहुनु, आधुनिक प्रविधिको पहुच र प्रयोग हुन नसक्नु, अशिक्षित व्यक्तिले गर्ने पेसाको रूपमा हेरिनु, उन्नत किसिमको बीउबिजनको प्रयोग नहुनु जस्ता पक्षहरू प्रमुख रहेका छन् । एकातिर दिन प्रतिदिन अर्गानिक कृषि उत्पादन, दूध तथा दुग्धजन्य पदार्थको माग बढिरहेको छ भने अर्कोतिर कृषकहरू एक दुईटा गाईभौसी पाली घरायसी प्रयोजनका लागि मात्र दूधको प्रयोग गर्दै आइरहेका छन् । कृषि कर्मलाई उच्चस्तरको व्यवसायिक रूप दिनसके मुलुकको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ । यसका लागि एउटा अभियानको खाँचो छ । कुनै एक क्षेत्रको प्रयास मात्र प्रयाप्त हुन सक्दैन । सरकारी तथा नीजि दुवै क्षेत्रको एकीकृत प्रयास भएमा कृषि तथा पशुपालनमा व्यवसायिकीकरण असम्भव छैन । अब परम्परागत लोलीबोली मिलाएर गीत गाउँदैमा केही हँदैन ।
रोल्वालिङ हिमश्रशृंखलाभित्र चाँदीको सफेद टकमा मुस्कुराइरहेको गौरीशंकरको शोभायमानले प्रकृतिका पुजारीहरूका साथै कर्मवीरहरूलाई लोभ्याइरहेको देखिन्छ । नेपाल एकीकरणअघि छुट्टै राज्यको अस्तित्व बोकेर बसेको दोलखा महाभारत कालका पाण्डवहरूले गुप्तवास बसी सिर्जना गरेको दोलखा नेवारी भाषा, तथा नेवारी संस्कृति, कला र साहित्यको संगम हो दोलखा । ऐतिहासिक भीमसेन स्थानको आकर्षणले आज झनै सम्वृद्ध हुँदै गएको छ दोलखा । विश्वका उच्चशिखरहरू चढ्ने साहासिक हिम चितुवाहरूको गौरवपूणर्गाथाले भरिएको जिल्ला हो दोलखा । भेषभूषा र लोक– संस्कृतिले विश्व दुनियाँलाई आकष गरी लोभ्याउने तामाङ, थामी, नेवार, सेर्पा, जिरेल, सुनुवार, मगर, माझी, सुरेलसहितको आफ्नै लोक– संस्कृतिले भरिएको यो दोलखा । मानव समाजको विकासक्रमसँगै आज हामी २१ औं शताब्दीमा आइपुगेका छौँ । सिंगो राज्यलाई नै महत्त्वपूर्ण प्रभाव पार्ने स्रोतसाधनको धनी छ दोलखा । यी तथ्यहरूले देखाइदिएका प्रशस्त आधारशिलाहरूको खोज अनुसन्धान, पहिचान र अध्ययन पनि भैसकेको छ । एसियाकै ठूलो र गुणस्तरयुक्त म्याग्नेसाइड खानी खरीढुंगामा अलपत्र छ । सिंगै नेपालका घरहरू छाएर पनि बाहिरी मुलुक पठाउन पुग्ने अत्यन्त गुणस्तरयुक्त स्लेटढुंगा खानी आलम्पुदेखि खारेगाउँसम्म ६ वटा गाउँमा फैलिएर रहेको छ । नेपाली आफैँले गर्न सक्ने असाध्यै सस्तो लागत खर्चमा उत्पादन हुनसक्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना विश्वकै नमुनाको रूपमा संचालनमा रहेको कुरा सर्वविधितै छ । साथै तामाकोसी १, २, ३, ४, खिम्तीलगायत ४२ वटा सानाठूला खोलाहरूको अध्ययन भई लगानीकर्ताहरू लगानीमैत्री तथा शान्तिपूर्ण वातावरण सँगसँगै कार्य संचालनमा रहेका छन् ।
खासगरी प्रजातन्त्रको पुनस्र्थापना पछिको ०५४ सालको स्थानीय निकायको निर्वाचनमा दोलखाली जनताले विश्वासपूर्वक निर्वाचित गरेका स्थानीय सरकारका प्रतिनिधिहरूले दोलखाली जनताले दिएको गौरवपूर्ण अभिभारा इमान्दारीका साथ पूरा गर्नुपर्छ । यस क्षेत्रमा रहेका विकासका सम्भावना, अवसर र चुनौतीको गहिरो अध्ययन गरी विकासका सबै साझेदारहरूको सहभागितामा ‘जल पर्यटन, कृषि, वन, बाली, शिक्षा, स्वास्थ्य, यातायातले सम्मुन्नत दोलखाली’ भन्ने सोचकासाथ योजनावद्ध विकासमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासहितका खाकाहरू तयार छन् । त्यसकै जगमा उभिएर आज कामहरू भइरहेका छन् । हाम्रो सुन्दर भूमिलाई सिंगारेर सम्पन्न, समृद्ध बनाउने प्रयासकै फलस्वरूप आज पनि विकासका जिम्मेवार निकायहरू त्यही दीर्घकालीन आवाधिक योजनाभन्दा पर जानुपरेको छैन । हामीले प्रारम्भ गरेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काममा व्यस्त छन् । हामीले जिल्लाका विकट गाउँहरूमा बिजुली बत्ती बाल्ने र मोटरबाटो पुर्‍याइदिने काम गरेकाले अत्यन्त उत्साहित बनेका ग्रामीण जनताहरू आज त्यही चक्रपथको कार्य पूरा गर्ने र विद्युतीकरणको अभियानमा संलग्न रहँदै गाउँगाउँमा सडक जोड्ने काममा तल्लीन देखिन्छन् ।
अर्को विश्व प्रसिद्धवस्तु याक चिजको धनी चौरीगाईको व्यवसायिक पालन दोलखामा प्रशस्त रहेको छ । ६८ प्रतिशत वन जंगल चरण क्षेत्रले ढाकेको दोलखामा उन्नतजातको होलिस्टनफ्रिजन गाई फारमिङ, भेडाबाख्रा फार्मिङको सम्भावना पनि प्रचुर मात्रामा छ । करोडौंको आर्जन हुने कस्तूरी मृर्गको पनि फारमिङ गर्न सकिन्छ । पशुपालन तथा दुग्ध व्यवसायका लागि यो जिल्ला असाध्यै उपयुक्त जिल्ला हो । नेपालका हिमाली जिल्लाहरूमध्ये सबैभन्दा बढी चौरीपालन, भेडापालन भइरहेको जिल्ला हो दोलखा । नेपालको पहिलो पशु विकास फार्म दोलखाको जिरीमा २०१४ सालमा नै स्थापना भएको हो । याक चिज उत्पादनमा नाम कमाएको जिल्ला पनि दोलखा नै हो । दुग्ध व्यवसायलाई व्यापकवृद्धि गरी ग्रामीण किसानको आर्थिक जीवन उठाउन दोलखामा नीजि सार्वजनिक क्षेत्रको संयुक्त साझेदारीमा दोलखा दुग्ध उद्योग लिमिटेडको स्थापना भएको छ । यिनै जगमा उभिएर ग्रामीण किसान समुदायहरूलाई संगठित र व्यवस्थित गरी हैसियत बिग्रेर बसेका जग्गाजमिन साथै सामुदायिक वन, राष्ट्रिय वनसमेतको वैज्ञानिक तथा व्यवसायिक योजना बनाई त्यसको उत्पादकत्वमा वृद्धि गरी ग्रामीण अर्थतन्त्रमा व्यापक सुधार ल्याउन यसले सहयोग पुर्‍याएको छ । यिनै उपलब्ध स्रोत, साधनबाट उत्पादन, प्रशोधन तथा बजारीकरणका क्षेत्रमा नया वैज्ञानिक प्रविधि देशव्यापी रूपमा दिन कालिञ्चोक काउ फार्म एन्ड रिसर्च सेन्टरको स्थापना गरिएको हो ।
दोलखा जस्तो हिमाली जिल्लालाई फनक्कै फन्को मार्ने गरी तयार भएको चक्रपथले दोलखाका ५१ वटै गाविसलाई मोटरको सेवा दिनथालेको छ भने विद्युत्तीय क्षेत्रका रूपमा विकास भएको दोलखाले लोडसेडिङको समस्या पनि भोग्नु पर्दैन । साथै दर्जनांै कृषि तथा पशुपालनका फार्महरू सञ्चालनमा आउँदै छन् । निश्चय पनि हाम्रो यो सानो प्रयासले आजको विश्व खाद्य संकट र विश्वव्यापी
ऊष्णीकरणलाई मध्यनजर गर्दै २० वर्षे कृषि नीतिमा आधारित भएर स्वदेशमा उत्पादकत्व वृद्धिका साथै रोजगारी सिर्जना गरी आयआर्जन बढाउनेतर्फ अग्रसर गराउनेछ । त्यस्तै गरिबी घटाउन उन्नत प्रविधि किसानमा पुर्‍याउन व्यापक रूपमा नमुना पशु विकास फर्महरू तथा बागबानी फार्महरूको स्थापना हुनु अनिवार्य छ । यस्ता गाई फर्महरूले झारघाँस, डालेघाँस रोपण, नश्ल सुधार र कृत्रिम गर्भाधान केन्द्रको स्थापना, नमुना गोठको निर्माण, दूध संकलन केन्द्रको सुधार, औषधि तथा दाना केन्द्रको व्यवस्था आधुनिक ढंगले गर्नेछन् ।
परिणामत : दूधको उत्पादनमा वृद्धि हुने प्रविधिको प्रदर्शनी र हस्तान्तरणमा सहयोग पुग्ने र कृषि उत्पादनमा नयाँ प्रतिफल प्राप्त हुनेछ । दोलखाले कृषिलाई औद्योगीकरणमा लैजान अभिप्रेरित गर्दै समूहहरू, सहकारीहरू, निजी तथा सार्वजनिक निजी साझेदारी कम्पनीहरूसाग एकीकृत जैविक खेती प्रणालीको विकासमा नयाँ प्रविधिसहित दोलखा तथा देशका अन्य जिल्लाका किसानहरू बीचको व्यवसायिक जैविक उत्पादनको सञ्जाल निर्माण गर्दै जानेछ । अबका दिनहरू विकासका निम्ति लोभ लाग्दा हुनेछन् हामी दोलखालीहरू जुरमुराउनेछौँ । जलविद्युत्, पर्यटन तथा कृषि विकासमा टेवा पुग्ने कामहरू गर्न तयार निकायहरूसँग सहकार्य भइरहेका छन् ।

प्रतिक्रिया