माथिल्लो तामाकोसीको सुरुङ निर्माण तीव्र

uppre_tamakosi_copyदोलखा, २१ फागुन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ५० प्रतिशतभन्दा बढी भएको छ । आयोजनाको सिभिल निर्माण अन्तर्गतको सुरुङको कार्य आठ हजार दुई मिटर पूरा भइसकको छ । काम पूरा गर्न १६ हजार चार मिटर सुरुङ निर्माण गर्नुपर्छ ।

आयोजनाका साइड कार्यालय प्रमुख तथा सहायक प्रबन्धक विमल गुरुङका अनुसार आयोजनाका लागि विभिन्न आठ ठाउँबाट सुरुङ निर्माण भइरहेको छ । सबैभन्दा महत्त्वपूर्ण पावरहाउस भित्रको दुई हजार सात सय ६३ मिटर सुरुङमध्ये ९३ प्रतिशत पूरा भइसकेको गुरुङले बताए । डेढ महिनाभित्र पावरहाउस भित्रको सुरुङ निर्माण पूरा गर्ने उनको दाबी छ ।
सुरुङअन्तर्गत हेडरेस, पेनस्टक, टेलरेसको काम एकैसाथ भइरहेको छ । हेडरेस सुरुङको दुई हजार पाँच सय ६९ मिटर र टेलरेसको एक हजार तीन सय ४८ मिटर सुरुङ पूरा भएको छ । यसअघि हेडरेस, पेनस्टक र टेलरेसका लागि एक हजार पाँच सय ३० मिटर लामो अडिट सुरुङ पूरा भइसकेको छ । आयोजनाको औसत दैनिक २२ मिटरका दरले सुरुङ निर्माणको काम भइरहेको छ । आयोजना निर्माणको सुरुमा पूर्वाधार तयारीलगायत व्यवस्थापकीय तयारीले केही ढिला भए तापनि गत वैशाखदेखि सिभिल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाले चालु आर्थिक वर्षको अन्तसम्म १० किलोमिटर सुरुङ निर्माण पूरा गर्ने लक्ष्य राखेको छ ।
सिभिल निर्माण अन्तर्गतकै बाँध निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको छ । लामाबगरमा ६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँधमध्ये नदी फर्काएर थप कार्य भइरहेको छ । त्यसै गरी दुई वटा पानी थिग्राउने पोखरीको काम पनि तीव्र गतिमा भइरहेको छ । पोखरीको लम्बाइ दुई सय २५ मिटरको हुने आयोजनाले बताएका छ । सिभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ ।
‘विगतमा केही व्यवस्थापकीय कारणले आठ महिनासम्म कार्यतालिकामा ढिला भएको थियो’ सहायक प्रबन्धक गुरुङले भने, ‘अहिले यो तीन महिनामा झरेको छ, हामीले कार्ययोजना बनाएर काम गरेका छौँ ।’ यही गतिमा काम गर्दा तोकिएकै लागत र समयमा पूरा हुने उनले दाबी गरे । ‘केही ढिला भएको समयलाई पूरा गर्नका लागि कामको गति बढाएका छौँ’ उनले भने, ‘गन्तव्यमा पुग्न कुन गतिमा जाने हो त्यसमा भर पर्छ ।’ पाँच वर्षमा पूरा गर्ने गरी सुरु गरिएको आयोजनाले अबको दुई वर्षमा पूरा गर्ने लक्ष्य राखेको छ ।
आयोजनाको लट दुई र तीनको सामान आयोजनास्थल आउन सुरु भइसकेको छ । केही सामान आयोजनास्थलमा ल्याएर जडानको कामसमेत सुरु भएको आयोजनाका निमित्त निर्देशक विज्ञानप्रसाद श्रेष्ठले बताए । सिभिल निर्माणको कामसँगै हाइड्रो मेकानिकलको सामानसमेत सुरुआत भएको उनको भनाइ छ । आयोजनाको लट चारअन्तर्गत प्रसारण लाइन तथा सब स्टेसन निर्माणको सर्भेको काम सुरु भएको छ । गोगरदेखि खिम्तीसम्म दुई सय २० केभी प्रसारण लाइन ४७ किलोमिटर रहेको छ ।
माथिल्लो तामाकोसी सस्तो र आकर्षक आयोजनाका रूपमा लिइएको छ । नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरेको छ । स्वदेशी लगानीमा निर्माणाधिन चार सय ५६ मेगावाटको देशकै अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ३५ अर्ब २९ करोड अनुमानित लागत रहेको आयोजनाको हालसम्म साढे ११ अर्ब खर्च भइसकेको छ ।

प्रतिक्रिया