मुलुकभरका पेट्रोलपम्प ठप्प

pump-picकाठमाडौं, २१ फागुन । पेट्रोलियम व्यवसायीले सरकारलाई पटकपटक आफ्ना माग पूरा गर्न आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै आइतबार आकस्मिक रूपमा मुलुकभरका पेट्रोलपम्प बन्द गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको निर्देशनमा मुलुकभरका पम्पले कारोबार बन्द गरेका हुन् ।

नेपाल आयल निगमसँग विभिन्न चरणमा एसोसिएसनले आफ्ना समस्या समाधानका लागि वार्ता गरे पनि सार्थक निष्कर्ष नआएको तथा सरकार व्यवसायीको समस्या समाधानभन्दा पनि संकट निम्त्याउनेतिर लागेको भन्दै आन्दोलन सुरु गरिएको एसोसिएसनले जनाएको छ । पेट्रोलियमको सहज आपूर्ती, बढ्दो असुरक्षा, चन्दा आतंक रोक्न सरकारलाई माग गरिए पनि सुनुवाई नभएकाले कारोबार बन्द गरेर आन्दोलन सुरु गरेको जनाइएको छ ।
एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले आइतबार विज्ञप्तीमार्फत मजदुरको तलबभत्ता वृद्धि, सञ्चालन खर्चमा भएको वृद्धि, बढ्दो बैंक ब्याज, महँगिका कारण बढेको लागत खर्च, लोडसेडिङका कारण बढेको खर्च तथा कमिसन वृद्धिको माग राखेर प्रधानमन्त्री कार्यालय, आपूर्ती मन्त्रालय, नेपाल आयल निगमलाई जानकारी गराइसकेको र ती माग पूरा नभए मुलुकभरका पम्प बन्द गर्न आफूहरू बाध्य हुने जनाएका छन् । सरकारलाई व्यवसायीको हक हित र समस्या समाधानका लागि राखिएका माग तत्काल पूरा नभए पेट्रोलियम पदार्थको खरिद एवं बिक्री गर्न आफूहरु वाध्य नहुने चेतावनीसमेत एसोसिएसनले दिएको छ ।
लामो समयदेखि आफूहरूले उठाउँदै आएको बिक्रेताले पाउनुपर्ने कमिशन वृद्धि र सञ्चालन खर्चको वृद्धिलाई सरकारले बेवास्ता गरेको एसोसिएसनको भनाइ छ । सरकार सुरक्षित र पारदर्शी व्यवसायमा जोड दिनुभन्दा पनि व्यवसायीलाई दबाउन खोज्ने प्रवृत्ति अघि बढेकोले आफूहरू आन्दोलनमा जान बाध्य भएको पेट्रोलियम व्यवसायीको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पटकपटक आफ्ना जाहेज माग सरकारसँग राख्दासमेत वास्ता नगरेकाले व्यवसाय बन्द गरेर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले अझै पनि आफ्ना माग पूरा गर्नेतर्फ सरकारको ध्यानाकर्षण नभए मुलुकभर नै कारोबार बन्द गरेर दबाब दिने जनाए । बढ्दो चन्दा आतंक र असुरक्षाका कारण निर्धक्क रूपमा नै व्यवसाय गर्ने अवस्था नरहेकाले सरकारले सुरक्षा प्रत्याभूति नदिएसम्म ढुक्क भएर व्यवसाय गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
आकस्मिक रूपमा गरिएको पम्प बन्दका कारण सर्वसाधारण समस्या परेका थिए । राजधानीलगायत मुलुकभरका पम्प आकस्मिक रूपमा बन्द गरेपछि सार्वजनिक तथा निजी सवारी साधनको चापसमेत आइतबार कम भएको थियो । पेट्रोलपम्प खुल्ने आशले दिनभर राजधानीका पम्पमा सर्वसाधारणको भिडसमेत लागेको थियो ।

प्रतिक्रिया