सुधारोन्मुख अवस्थामा सेयर बजार

काठमाडौं, २० फागुन । राजनीतिक सहमतिको सुरुवातसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ । योसँगै सूचीकृत कम्पनीको अवस्था पनि सकारात्मक रहेको कारण विगत केही दिनदेखि सेयर बजारमा सुधारको संकेत देखिएको हो ।

विगत लामो समयदेखि ओरालो लागिरहेको सेयर बजारको अवस्थामा घरजग्गा कारोवारमा अपेक्षाकृत विकास हुन नसक्नु तथा सुनको मूल्यमा पनि गिरावट आउनेक्रम देखिएको कारण सेयर बजारमा लगानी आकर्षित भएर सुधारको संकेत देखिन थालेको हो । यो क्रम जारी रहने सेयरविज्ञहरूले विश्लेषण गरेका छन् ।
गतसाता नेपाल स्टक एक्सचेन्जमा १ सय १९ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार ६ सय ४७ कारोबारबाट ५८ करोड १९ लाख ६७ हजार रुपियाँ बराबरका १७ लाख ६४ हजार ३ सय ७ कित्ता सेयर खरिद–बिक्री भएका छन् । गतसाता १ सय १३ कम्पनीको कारोबार भएको छ । जसअनुसार ५ हजार २ सय ३० कारोबारबाट ६२ करोड २२ लाख ४ हजार रुपियाँ बराबरका १६ लाख ३६ हजार ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गतसाताको तुलनामा ६ दशमलव ४७ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २८ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४९ दशमलव ३३ प्रतिशत हो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव शून्य १ अंकले वृद्धि भई अन्तिम दिन ५ सय ४२ दशमलव ३४ अंकमा पुगेको छ । समग्रमा साताको परिसूचक हेर्दा वाणिज्य बैंक समूहको ५ दशमलव २१, जलविद्युत्को २७ दशमलप ३८, बिमाको ८ दशमलब ४६ र विकास बैंक समूहको परिसूचकमा २ दशमलव ८१ अंकले वृद्धि भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव ९२ अंकले वृद्धि भई १ सय ३७ दशमलव ७० अंकमा पुगेको छ ।
गतसाता कारोबार रकम १२ करोड ३९ लाख रुपियाँको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर ३ लाख ८२ हजार ९ सय ३८ कित्ताको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा ८ सय ११ वटाको आधारमा पुन: बंगलादेश बैंक नै अग्रस्थानमा छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा बंगलादेश बैक, ग्लोबल आइएमई, बैक अफ काठमाण्डु, एभरेस्ट बैक र चिलिमे हाइड्रोपावर कम्पनी रहेका छन् । यस साता पनि नेप्सेमा सूचीकृत भएका कम्पनीहरूमा ब्राइट विकास बैंक, सिभिक बिकास बैंक, प्रभु फाइनान्स र सेवा विकास बंैक रहेका छन् । ती बंैक तथा बित्त कम्पनीको सूचीकृत धितोपत्र संख्या क्रमश: १४ लाख, ४ लाख, ७ लाख ९७ हजार र २ लाख ३० हजार कित्ता सेयर रहेका छन ।

प्रतिक्रिया