ट्याङकरका सह–चालकको भारतमा हत्या

hatyaवीरगञ्ज, १९ फागुन । भारतको बरौनीमा इन्धन लिन गएको नेपाली ट्याङकरका सह–चालकको हत्या भएको छ ।
ना ४ ख १५९९ नम्बरको ट्याङकरका सह–चालक बारा प्रष्टोका घर भएका अजमत देवानको अज्ञात समूहले मजफरपुरमा हत्या गरेको हो । फागुन–१५ गते बरौनीबाट डिजेल लिएर फर्किदै गरेको ना ४ ख ४६२० नम्बरको ट्याङकरमा सवार देवानसहितका तीन जनालाई मुजप्फरपुरमा अपरिचित समूहले लठाउने औषधि खुवाएको थियो ।
गम्भीर बिरामी परेका देवानको पटना मेडिकल हस्पिटलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । १०–१२ जनाको लुटेरा समूहले ट्याङकरमा सवार देवानसहितका तीन जनालाई बेहोश पार्ने नशालु पदार्थ खुवाएको हो ।
लुटेरा ट्याङकरमा रहेको २० हजार लिटर डिजेल समेत लुटेर लगेको बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।
भारतीय प्रहरीले देवानको शवसहित उनीसँगै रहेका दुई जनालाई एम्बुलेन्स मार्फत नेपाल पठाए पछि हत्याको घटना सार्वजनिक भएको हो ।
घटनाका बारेमा अनुसन्धानका लागि प्रहरीले देवानसंगै रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच हत्याको विरोधमा मृतक देवानका आफन्तले वीरगञ्जको बाइपासमा आज बिहानै प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया