स्वप्नदोष : कन्फेसनल ट्रेन्ड

Raman-Poudelविपनामा कल्पीकल्पी सपनामा देख्ने,

छातीभित्र जलीजली मुस्कानले छोप्ने,
बाच्ने कला हो या भुल पो हो कि,
सोच्ने बानी यो कतै स्वप्नदोष हो कि
गएको साता अनामनगरस्थित नवगायक हरिराम रिमालले आफ्नो पहिलो गीति एल्बमको टाइटल गीत गाउँदा सार्वजनिक कार्यक्रममा उपस्थित स्रोता/दर्शकहरूको तालीको पर्पराहटले मिडिया इन्टरनेसनल हल गुन्जायमान बन्यो ।
गायन रिमालको पेसाभन्दा बढी रुचि हो । यद्यपि, गायनमा आत्मविश्वास र स्वरमा परिपक्वताका कारण उनको सकारात्मक सम्भावना देखिन्छ । एल्वम सार्वजनिक गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले भने, ‘मैले साहित्यमा सुरु गरेको ट्रेन्डलाई भाइ हरिराम रिमालले संगीतबाट सुरुआत गरेका छन्, यो धारबारे अब बहस सुरु हुनुपर्छ ।’ गीतकार थापालाई ‘खेलौना’ उपन्यासको कारण छाडाको संज्ञा दिइरहँदा गायक रिमालको एल्बम स्वप्नदोष शब्दमाथि पनि केही टिप्पणी भयो ।
०००
नेपाली संगीत जगत्मा हालै प्रवेश गरेको एल्बम स्वप्नदोषले सांगीत क्षेत्रमै नयाँ धारको प्रतिनिधित्व गरेको देखिन्छ, त्यो हो कन्फेसनल ट्रेन्ड ।
स्वतन्त्रता या स्वच्छन्दतावादी धारको रूपमा बुझिने यो धार यसअघि विश्व साहित्यमा प्रयोग गरिए पनि नेपाली संगीतमा गायक रिमालले पहिलोपल्ट प्रयोग गरेको देखिन्छ । एल्बममा समावेश भएका गीतहरूमध्ये अधिकांस गीत स्वच्छन्द तथा स्वतन्त्र धारको वहावमा देखिन्छन् ।
नसोध किन पिएर आएँ, च्यातियो छाती सिएर आएँ,
मन थियो एउटा मसँग बाँकी, त्यो पनि उनलाई दिएर आएँ
सबै हेर्थे दाड पर्थे, ईश्र्या गर्थे सग्लो हुँदा त
गुलाव हुँ म अब को हेर्छ, पत्रपत्र छुट्टिएर आएँ
चर्चित गजलकार जय गौडेलका यी शब्दमाथि रिमालले गायनको झन्कार पोखेका छन् ।
एल्बममा समावेश भएका सबै गीतको आआफ्नै विशेषता छन् । आधुनिक, गजल, लोकआधुनिक, पप तथा हिपहप संगीतसमेत एल्बममा समेटिएका सबै गीत र संगीतमा गायक रिमाल खुलेर गाउन सफल छन् ।
गीतकार उजज्वल अधिकारीका चार रचना र जय गौडेलको एक गजल समेटिएको यस एल्बका पाँच संगीतकारमध्ये संगीतकार दिनेश गौतमको संगीतले नै शीर्ष गीत स्वप्नदोषलाई उचाइमा पुर्‍याएको छ । संगीतकार दिनेश थापा र ओमप्रकास राई, सुरज थापाका अरू संगीत पनि कमजोर छैनन् ।
यद्यपि, केही गीतका भाव र मर्ममाथि संगीत र गायनले न्याय गर्न नसकेको गीतकारहरूको टिप्पणी छ ।
एल्बममा समावेश भएको चौथो गीत–
तिमी मेरी आधा अंग रंग र उमंग
शिरदेखि पाउसम्म संगीतको तरंग
मा संगीतकारले शब्दमाथि न्याय गर्न नसकेको गीतकार र गायक दुवैको टिप्पणी छ ।
०००
सांगीतिक बजारमा आएको यो नयाँ गीति एल्बमले भोलिका दिनमा कस्तो प्रतिक्रिया पाउला अथवा यो ट्रेन्डलाई कतिको निरन्तरता देला त्यो हेर्न बाँकी नै छ तर स्वप्नदोष यतिखेर नयाँ धाराको पहिलो गीति एल्बमका रूपमा देखिएको छ ।
उत्तराधुनिक विश्वसाहित्यको १९६० को दशकसँगै पछिल्लो उपविधाका रूपमा जन्मिएको ट्रेन्डका रूपमा व्याख्या गरिने कन्फेसनल ट्रेन्ड साहित्यमा बढी प्रचलित छ ।
बिट जेनेरेसन हुँदै अलेन गिन्सबर्ग, सिल्भिया प्लाथहरूले यो ट्रेन्ड जन्माउन र विकास गर्न मलजल गरेका थिए । विश्व साहित्य/संगीत वा कलामा यसको प्रयोग धेरैले गरेका भए पनि नेपालमा भने यो धारको प्रयोग बढी पाइएको छैन । यसबाहेक, यस्तो विधालाई धारका रूपमा व्याख्या गर्ने या नगर्ने भन्नेमा समेत बहस हुँदैआएको छ ।
तर, गायिका कोमल ओली, इन्दिरा जोशीको कन्सर्ट प्रस्तुतिलाई यसकै स्वरूपको रूपमा पनि हेर्न सकिन्छ । त्यसमाथि लेखनमा गायक राजेन्द्र थापाको लेखनले यो धारको नेतृत्व गरेको अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया