चार वित्तीय संस्था मर्ज भएर एपेक्स बन्ने

काठमाडौं : दुई विकास बैंक र दुई फाइनान्स गरी चार वित्तीय संस्था मर्ज हुने भएका छन् । चार वित्तीय संस्था मनकामना डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्ज गर्न बुधबार चार संस्थाका व्यवस्थापन अध्यक्षले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
चार संस्थाको मर्जसम्बन्धी जानकारी बिहीबार नेपाल राष्ट्र बैंकलाई पठाइने भएको छ भने बिहीबार नै कारोबार रोक्न स्टकलाई पनि सूचना दिइने र चार वित्तीय संस्था मर्ज भएपछि पुँजी आधार वाणिज्य बैंक बराबर बन्नेछ । एक बराबर एकमा मर्ज गर्दा चुक्ता पुँजी दुई अर्ब १८ करोड पुग्नेछ । मर्जपछि बैंकको नाम भने एपेक्स बैंक रहनेछ, मर्ज प्रक्रिया पूरा भएपछि बैंकले वाणिज्य बैंकमा स्तरोन्नतिका लागि राष्ट्र बैंकमा आवेदन दिने मर्जर संलग्न संस्था एक जिम्मेवार अधिकारीले बताए । चार संस्था गाभिएपछि निक्षेप रकम आठ अर्ब नाघ्नेछ भने कर्जा रकम सात अर्बभन्दा बढी हुने बुधबार साँझ जारी प्रेस विज्ञप्तिमा छ । गाभिएपछि बन्ने नयाँ बैंकको कुल ग्राहक संख्या एक लाखभन्दा बढी हुनेछ । गाभिएपछि बैंकको शाखा संख्या ३८ पुग्नेछ भने एटिएम सञ्जाल २० पुग्नेछ ।
मर्ज प्रक्रियामा रहेको इन्फ्रास्ट्रक्चर विकास बैंक यसअघि नै मर्ज प्रक्रियाबाट राष्ट्रियस्तरको विकास बैंक बनेको हो । क्षेत्रीयस्तरको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक फाइनान्सबीच मर्ज भएको थियो । मर्जपछि चार संस्थामा गरी ३ सय १५ जना कर्मचारी हुनेछन् । मर्जपछि दश जनाको सञ्चालक समिति रहनेछ । चारमध्ये यती फाइनान्सले मात्र अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिएको छ । फाइनान्सले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । नेपाल स्टकमा यती फाइनान्सबाहेक सबै कम्पनीको सेयर मूल्य सय रुपियाँभन्दा कम छ ।
मनकामनाको बुधबार प्रतिसेयर मूल्य सात रुपियाँ बढेर ७७ रुपियाँ पुगेको छ, इन्फ्रास्ट्रक्चरको ६ रुपियाँ बढेर ७८ रुपियाँमा कारोबार भएको छ । स्टकमा भ्याली फाइनान्सको अन्तिम कारोबार प्रतिकित्ता ९३ रुपियाँमा भएको छ भने यती फाइनान्सको अन्तिम कारोबार प्रतिकित्ता १४२ रुपियाँमा भएको थियो । मनकामनाको चुक्ता पुँजी एक अर्ब, भ्यालीको १२ करोड ८० लाख, यती फाइनान्सको १८ करोड र इन्फास्ट्रक्चरको ८३ करोड रुपियाँ चुक्ता पुँजी छ ।

प्रतिक्रिया