प्रचण्डबाट देशलाई खतरा

anil-yogi-1जनयुद्ध नामको हिंसाताका पुष्पकमल दाहाल प्रचण्ड दिल्ली बसेका रहेछन्, उनलाई हाउगुजीका रूपमा बुझिन्थ्यो । त्यसै आधारमा उनका कार्यकर्तारूपी भक्तजनहरूले पुज्ने पनि गरेका थिए । युद्धकालमा उनका कुरालाई पार्टी कार्यकर्ता माझमा पुर्‍याउँदा उनी पछिका नेताले देववाणीका रूपमा पुर्‍याउने गर्थे । उनको असली रूप फरक राजनीतिक धारका मानिसले चिन्न पाएका थिएनन् । पहिलो पटक शान्तिवार्ता पछि बालुवाटारबाट सार्वजनिक हुँदा उनको प्रशंसा निकै गरियो, कुनै समय बाबुरामकै जस्तो । उनको रहनसहन, खानपिन र उठबसका विषयमा निकै चर्चा पनि भयो, त्यो चर्चा धेरै दिन टिक्न सकेन । उनको वास्तविक असली चरित्र सामान्य जनताले चिन्न नसक्नु एउटा कुरा हो तर आफूलाई अब्बल दर्जाको विद्वान् भन्नेहरूले समेत चिन्न नसक्नु भनेको उनीहरूको अयोग्यता नै हो । प्रचण्डका विषयमा मात्र होइन प्राय: सबै नेताहरूका विषयमा आजका बेरोजगार युवाहरू अझै अन्यौलमा छन् ।

पहिलेका छविलाल अर्थात् युद्धकालका प्रचण्डले शान्तिवार्तामा आएको केही दिनमा नै माक्र्सवाद र अध्यात्मवादको फ्युजन हुनुपर्ने कुरा बताएका थिए । दशवर्षे हिंसाका नायक प्रचण्डले माक्र्सवादभन्दा उन्नत नयाँ सिद्धान्त ल्याउन खोजे भनेर उनका भक्तजनहरू फेरि अर्को पटक भ्रममा परे । त्यसको केही दिनपछि उनी बिराटनगर पुगेर आफ्नो ग्रह शान्ति गर्न भैँसी पूजा गरेको समाचार मिडियामा आयो । भक्तजनहरू फेरि छक्क परे । त्यसले प्रचण्डसँग सबैलाई आश्चर्य चकित बनाउने अद्भूत कला छ । प्रचण्डले त्यसको केही समयपछि युद्धमा आफू ‘जंगबहादुर बने, अब बुद्ध बन्छु’ भने बुद्ध र जंगबहादुर भिन्न कुरा थिए । बुद्ध अनिश्वरवादी थिए भन्ने कुरा प्रचण्डलाई पत्तो रहेनछ । प्रचण्डले भने जस्तो र देशका बिरुद्ध कुकर्म गरे जस्तो बुद्धले कहिल्यै गरेनन् । गाई–भँैसीको पूजा त बुद्धले गरेको झनै कतै सुनिदैन ।
युद्धको दौरानमा हजारौं मान्छेलाई क्रान्तिको बाटोमा सहिद बनाइयो– प्रचण्डको नेतृत्वले । बेपत्ता परिवारका इच्छा चाहनाविपरीत गद्दारी गर्‍यो, प्रचण्डको नेतृत्वले र आत्मसमपर्णको बाटो रोज्दै सिद्धार्थ गौतम बुद्ध बन्ने र आफूमात्र शान्तिले बाँच्ने इच्छा गर्‍यो । बुद्धको नाममा प्रोजेक्ट खोलेर रकम कुम्याउने पासा थाप्यो प्रचण्डको नेतृत्वले । अर्कोतर्फ प्रचण्डको नेतृत्व हेटांैडाको एकता महाधिवेशन भनिएको कुम्भ मेलामा सीमासम्बन्धि विवादका विषयमा जनमत संग्रह गर्ने प्रस्ताव लिएर गयो । महाधिवेशनमा जानुभन्दा पहिले उनले पार्टीको केन्द्रीय समितिको बैठकमा त्यो प्रस्तावलाई पारित गराएका थिए । आखिर महाधिवेशन आयोजक समितिका २ सय ५१ जनामध्ये एक जनाले पनि त्यसको विरोध गर्न सकेनन् । बरु त्यसमा ल्याप्चे लगाउँदै त्यो राष्ट्रघाती निर्णय गराएर महाधिवेशनमा लैजाने प्रचण्ड नेतृत्वले प्रस्ताव पारित गर्‍यो । त्यो प्रस्ताव हेटांैडा महाधिवेशनमा लग्न त लगियो । पार्टीभित्र रहेका देशक्त, इमान्दार राष्ट्रवादी कार्यकर्ताले त्यसको विरोध गरेकाले पारित हुन सकेन । महाधिवेशनमा ल्याएको सीमासम्बन्धि विवाद जनमत संग्रहबाट हल गर्ने कुरा सिक्किमीकरणका लागि खतरनाख प्रस्ताव थियो, नेपाली जनताको भाग्य बलियो भएको हुनाले देश बाँच्यो भन्नुपर्छ । सिक्किमका लेन्डुप दोर्जेले पनि नेपालमा जस्तै संक्रमणकाल सिर्जना गराएर जनमत संग्रहमार्फत सिक्किमलाई भारतको हातमा बुझाएका थिए । त्यसै आधारमा सीमासम्बन्धि विवादमा जनमत संग्रहको प्रस्ताव ल्याएर प्रचण्डले पनि लेन्डुपकै नक्कल गर्न खोजेका थिए ।
सन् १९७५ अगाडि नेपालमा जस्तै सिक्किममा राजतन्त्रात्मक व्यवस्था थियो । सन् १९५० मा भारतले नेपालसँग गरेको सुगौली सन्धि जस्तै उसले सिक्किमसँग पनि एउटा सन्धि गरेको थियो । सिक्किमका राजा चोग्याल त्यो सन्धिलाई जसरी पनि नमान्ने पक्षमा थिए । दिल्ली त्यो सन्धि लागू गर्न दबाब दिइरहन्थ्यो । तर, राजा चोग्यालले त्यो नमान्ने अवस्था आएपछि सिक्किममा आन्दोलनका केही बाछिटा देखिन थालेका थिए । त्यसलाई कसरी भारतले आफ्नो पक्षमा पार्ने भनी सोचिरहेको थियो । त्यसैबेला सबै अधिकार सुम्पेर आफू संवैधानिक राजाका रूपमा बस्न चोग्याल राजी भए । विधान सभाको निर्वाचन गराउन तयार भए । भारत ५० प्रतिशत प्रतिनिधि आफ्नो पक्षकालाई कसरी जिताउने भन्नेतिर लाग्यो, यो चुनावले ३२ सिटका लागि भएको निर्वाचनमा राष्ट्रवादी पार्टीले १ स्थानमा विजय पायो भने ३१ स्थानमा लेण्डुप दोर्जेको पार्टीले विजय प्राप्त गर्‍यो ।
सन् १९७५ मा सिक्किमलाई स्वतन्त्र राज्यकै रूपमा राख्ने कि भारतमा विलय गराउने भन्ने विषयमा जनमत संग्रह गराइएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सिक्किमलाई भारत संरक्षित राष्ट्रको मान्यता दिएका थिए । नेहरूको मृत्युपछि भारतको प्रधानमन्त्रीमा इन्दिरा गान्धी आइन र उनले आफ्नो बुबाको नीतिको आलोचना गर्दै सिक्किमलाई भारत संरक्षित राष्ट्र नभई भारतमै गाभ्नुपर्ने बताइन् । त्यहीबेला प्रजातन्त्रको पक्षधरको रूपमा अगाडि बढेका लेन्डुप दोर्जेले सिक्किम नेसनल कांग्रेस नामक पार्टी गठन गरी चुनावको माग गर्दै आन्दोलनको सुरुआत गरे । उक्त आन्दोलनमा भारतले अप्रत्यक्ष रूपमा सहयोग गर्‍यो । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रत्यक्ष रूपमै उक्त आन्दोलनलाई सफल पार्न लाग्यो । आन्दोलन बढ्दै गएपछि भारतले सहयोगीको रूपमा मध्यस्तकर्ता बनेर दोर्जे र तत्कालीन राजाका बीचमा सम्झौता गरायो र ताजा निर्वाचन भयो । नेपालमा सात दल र बाह्रबुँदे समझदारी गराउन भारतको भूमिका महत्त्वपूर्ण थियो । नेपालमा जस्तै संविधानसभाको निर्वाचन त्यहाँ पनि गराइयो । संविधानसभाको पहिलो बैठकले राजा हटाउने निर्णय गर्‍यो । त्यसैअनुरूप सन् १९७४ मा सिक्किममा विधानसभाको निर्वाचन भयो । त्यसै विधानसभाको बैठकले १० अप्रिल १९७५ मा चोग्याललाई निष्कासन गर्‍यो र सिक्किमलाई भारतमा गाभ्ने निर्णय भयो ।
लेन्डुप दोर्जे प्रधानमन्त्री बने । तर, उनी र राजाबीच विवाद कायमै थियो । जसका कारण सिक्किम दिनप्रतिदिन अस्थिर बन्दै गयो । त्यसैको फाइदा उठाएर तत्कालीन दोर्जेले १९७५ मा भारत सरकारलाई गोप्य पत्र लेखेर सिक्किमलाई भारत सरकारको राज्यको रूपमा स्वीकार गर्न आग्रह गरे । उनको पत्र पाए लगत्तै भारतीय सेना सिक्किम प्रवेश गर्‍यो र राजदरबार कब्जा गरेर सिक्किमका सेनालाई नियन्त्रणमा लियो । दुई दिनमै भारतीय सेनाले पूरै सिक्किमलाई आफ्नो नियन्त्रणमा लियो । सिक्किमका राजा थोन्डुप नाम्ग्याललाई भारतीय सेनाले बन्दी बनायो । तर, अन्तर्राष्ट्रिय क्षेत्रबाट विरोध हुने डरले सिक्किमको भूमि के गर्ने भन्ने बारेमा जनमत संग्रह गर्ने भनियो । सोही अनुरूप जनमत संग्रह भयो । तर, जनमत संग्रहमा खसेको मत गायब पार्दै फर्जी परिणाम सार्वजनिक गरियो । जनमत संग्रहमा ७५ प्रतिशत मत सिक्किमलाई भारतीय राज्य बनाउने पक्षमा परेको घोषणा गरियो ।
नेपाल भारतबीच वर्षौदेखि रहेको सीमा विवादलाई थाती राखी अनावश्यक र अर्थहीन रुपमा नागरिकताका विषयमा अनावश्यक विवाद झिकेर देशलाई कमजोर बनाउने तत्व र व्यक्तिहरू विदेशीका घोडा मात्र हुन । यिनीहरूबाट यो राष्ट्रको विकाश र राजनीतिक निकास निस्किन सक्दैन भन्ने कुरा नेपाली जनताले जान्न आवश्यक छ । नेपाल राष्ट्रलाई पनि क्रान्तिकारीको खोल ओडेर प्रचण्ड र त्यो प्रवृत्तिका मानिस कुनै पनि अवस्थामा यो राष्ट्रको अस्तित्व समाप्त गर्न उद्धत छन् भन्ने कुरा तिनका हरेक हर्कतले देखाएको छ । त्यो अपराध प्रचण्डबाट मात्र होइन कसैबाट नहोस् भनेर रोक्ने काम पनि प्रचण्ड र अन्य नेताका पछाडि दौडिने कार्यकर्ताको नै हो ।

प्रतिक्रिया