समाजमा अस्वभाविक हुलियामा देखा पर्ने युवाहरू प्राय:जसो विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेका पाइन्छन्, यस्ता युवाहरूलाई सही मार्गमा डोर्‍याउँदै राष्ट्र विकासमा कसरी लगाउन सकिएला ?

राष्ट्रिय युवा नीति, २०६६ ले स्पष्ट रूपमा युवाहरूलाई राष्ट्रका लागि जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्र विकासका लागि उनीहरूलाई जिम्मेवार बनाउने उद्देश्य युवा नीतिको रहेको छ । युवा नीतिको पूर्ण र व्यावहारिक रूपमा कार्यान्वयन हुन सक्यो भने त्यसले यस्ता मुन्द्रे, ट्यापे युवाहरूको जमात जन्माउने छैन । र, सबै युवालाई आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो राष्ट्रको विकासका लागि जिम्मेवार र जागरुक बनाउनेछ । तर, यो नीति व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा हाम्रो समाजमा गरिबी र बेरोजगारी बढ्दो छ । यसले गर्दा युवाहरूले आफ्नो दैनिक जीवनयापनका लागि भए पनि केही अन्य विकल्प खोज्नुपर्ने हुन्छ । दैनिक जीवनयापनका कुनै विकल्प नभेटेपछि यसले बिस्तारै युवाहरू बाटो बिराएर नराम्रा क्रियाकलापतिर संलग्न भई विभिन्न अपराधिक कार्यमा संलग्न भएका पाइन्छन् ।
तसर्थ, राष्ट्र विकासका लागि सवल र सक्षम नागरिक जन्माउन राज्यले केही दीर्घकालीन र केही अल्पकालीन नयाँ कार्यक्रम र रणनीतिहरू निर्माण गर्नुपर्छ । सबै युवालाई स्वरोजगार र सिर्जनात्मक काममा लगाउन सक्नुपर्छ । उनीहरूको आवश्यकता र क्षमता अनुसार विभिन्न सामाजिक तथा उपयोगी काममा लगाउन सकियो भने यस्ता क्रियाकलापहरू नियन्त्रण हुन सक्छन् ।

प्रतिक्रिया