प्राथमिक सेयर निष्कासनमा रेटिङ अनिवार्य

काठमाडौं, १५ फागुन । लगानीकर्तालाई अब नयाँ कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) को सेयर किन्ने/नकिन्ने निर्णय गर्न सजिलो हुने भएको छ । सेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन ११ पछि प्राथमिक सेयर निष्कासनको आवेदन गर्ने कम्पनीलाई क्रेडिट रेटिङ अनिवार्य गरेपछि लगानीकर्तालाई सेयर किन्ने/नकिन्ने निर्णय गर्न सजिलो हुने भएको हो ।

बोर्ड–निर्देशक नीरज गिरीका अनुसार ३ करोड भन्दा माथिको आइपिओ गर्दा अबउप्रान्त अनिवार्य रूपमा क्रेडिट रेटिङ गराउनुपर्छ । धितोपत्र बोर्डले क्रेडिट रेटिङलाई व्यवस्थित गराउन क्रेडिट रेटिङ नियमावली ०६८ जारी गरिसकेको छ । सोही नियमावलीका आधारमा भारतको क्रेडिट रेटिङ एजेन्सी इक्राले स्थानीय साझेदारसँग मिलेर नेपालमा पनि इक्रा नेपाल स्थापना गरेको छ । इक्रा नेपालले बोर्डबाट कार्यसञ्चालन स्वीकृतिसमेत प्राप्त गरिसकेको छ । इक्रा नेपालमा भारतको इक्रा इन्डियाको ५१ प्रतिशत र बाँकी कर्जा सूचना केन्द्र, हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड र केही बैंकको लगानी रहेको छ । रेटिङ नियमावलीअनुसार नेपाली क्रेडिट रेटिङ एजेन्सीमा न्यूनतम २५ प्रतिशत विदेशी साझेदार अनिवार्य हुनुपर्छ । नेपालमा क्रेडिट रेटिङ गर्ने अनुभव नभएका कारण विदेशी अनुभवबाट सिक्ने हिसाबले यस्तो व्यवस्था गरिएको बोर्डका एक अधिकारीले बताए ।
११ फागुनपछि बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि निवेदन दिने कम्पनीले इक्रा नेपालबाटै रेटिङ गराउनुपर्छ । नेपालको सन्दर्भमा अन्य रेटिङ एजेन्सी नभएका कारण सोही कम्पनीमार्फत अनिवार्य रूपमा क्रेडिट रेटिङ गराउनुपर्ने भएको छ ।
क्रेडिट रेटिङ नियमावलीअनुसार नयाँ साधारण सेयर, डिबेन्चर, ऋणपत्र, हकप्रद सेयर एवं प्रिफरेन्स सेयर जारी गर्ने कम्पनीले अनिवार्य रूपमा रेटिङ गराउनुपर्छ । ३ करोड रुपियाँभन्दा तलको आइपिओ जारी गर्ने कम्पनीले भने रेटिङ गर्नु अनिवार्य नभएको निर्देशक गिरीले बताए । ‘११ फागुनभन्दा अगाडि बोर्डमा सेयर निष्कासनका लागि आवेदन गरेका कम्पनीले रेटिङ अनिवार्य छैन,’ उनले भने ।
नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार चालु आवभित्रै प्राथमिक सेयर निष्कासन गर्नुपर्ने अझै ठूला दुई वाणिज्य बैंक मेगा र सेन्चुरी बैंक बाँकी छन् । त्यस्तै, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि आइपिओ गर्ने तयारी गरिरहेको छ । दुई वाणिज्य बैंकले १ अर्ब २० करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्दै छ भने जलविद्युत् कम्पनीले पनि १ अर्ब ७० करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्दै छ । ती संस्थाले अब क्रेडिट रेटिङ गरेपछि मात्र सर्वसाधारणमा सेयर जारी गर्न पाउनेछन् । बोर्डका प्रवक्तासमेत रहेका गिरीका अनुसार रेटिङ एजेन्सीले सम्पूर्ण सूचना उपलब्ध गराएको खण्डमा एक महिनाभित्र रेटिङ कार्य सम्पन्न गर्ने जनाएको बताए ।
क्रेडिट रेटिङ गर्नुको उद्देश्यले सर्वसाधारण जनतालाई कुनै कम्पनीबारे समग्र रूपमा सेयर किन्न राम्रो/नराम्रो भएको जानकारी दिने हो । रेटिङ एजेन्सीले कम्पनीको समग्र वित्तीय विवरण एवं संस्थाका सञ्चालकको समेत अध्ययन गरेर कम्पनीको तटस्थ जानकारी दिन्छ ।

प्रतिक्रिया