भन्सारको भवन गोठमा परिणत

भद्रपुर: काँकडभिट्टास्थित मेची भन्सार कार्यालयअन्तर्गतका टाघनडुब्बास्थित छोटी भन्सार कार्यालयमा वर्षौंदेखि कर्मचारी नबस्दा भवन गोठमा परिणत भएको छ । भवनको हेरचाह गर्न पनि कोही नहुँदा भवनको परिसरका साथै बरन्डामा चौपाया बसेको अवस्था देखिन्छ । भारतीय सिमानासँग जोडिएको जिल्लाको दक्षिणी क्षेत्रका सो भन्सार कार्यालयको दुईतले भवनको अवस्था जीर्ण बन्दै गएको र भन्सारका कर्मचारी नबस्दा राजस्व संकलन शून्यको अवस्थामा पुगेको छ ।
खुल्ला सिमानाको निर्वाध रूपमा तस्करले फाइदा उठाइरहेको भए पनि यसलाई नियन्त्रण गर्न काँकडभिट्टास्थित भन्सार कार्यालयले खासै चासो नलिएको स्थानीयको भनाइ छ ।
यस सम्बन्धमा मेची भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठसँग सम्पर्क गर्दा उनले एक नायबसुब्बा र दुई जना कार्यालय सहयोगीलाई खटाइएको जानकारी दिए । खटिएका कर्मचारी कार्यालयमा नपुगेको बारेमा आफूलाई थाहा नरहेको र यसो हो भने यस विषयमा सोधखोज गरी ती कर्मचारीमाथि आवश्यक कारबाहीसमेत गर्ने उनको दाबी छ । द्वन्द्वको समयमा त्यहाँबाट कर्मचारीलाई फिर्ता बोलाइएको थियो । मुलुकको अवस्था सामान्य भएको वर्षौं बितिसक्दा पनि स्थायीरूपमा कार्यालय पुन:सञ्चालन हुन सकेको छैन ।
जिल्लाको १२ वटा छोटी भन्सारमध्ये ६ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको छ । सोमध्ये बन्दको अवस्थामा रहेका छोटी भन्सार कार्यालय टाघनडुब्बालाई पनि सञ्चालित भन्सार कार्यालयको सूचीमा समावेश गरिएको पाइएको छ ।

प्रतिक्रिया