व्यापार घाटा ६ महिनामै दुई खर्ब ३२ अर्ब

काठमाडौं, १४ फागुन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा दुई खर्ब ३२ अर्ब रुपियाँ पुगेको छ । नेपालबाट बाहिरिने सामानको वृद्धिदर खासै नभए पनि नेपाल भित्रिने सामान पनि ह्वात्तै बढेपछि नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको हो । चालु आवको पहिलो ६ महिनामा व्यापार घाटा २८ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले मात्र बढेको थियो ।

कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा ३० दशमलव आठ प्रतिशतको उच्च दरले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा नौ दशमलव चार प्रतिशतले मात्र बढेको थियो । अघिल्लो वर्ष ३६ दशमलव सात प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा भने २४ दशमलव एक प्रतिशतले मात्र बढेको छ ।
आर्थिक वर्ष ०६९/७० को ६ महिनासम्ममा कुल वस्तु निर्यात नौ दशमलव तीन प्रतिशतले वृद्धि भई ३९ अर्ब २५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दशमलव दुई प्रतिशतले वृद्धि भई ३५ अर्ब ९२ करोड रुपियाँ रहेको थियो । मासिक रूपमा हेर्दा चालु आर्थिक वर्षको पुस महिनामा कुल वस्तु निर्यातमा मंसिर महिनाको तुलनामा शून्य दशमलव सात प्रतिशतले ह्रास आएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्षको ६ महिनाको १३ दशमलव नौ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा तीन दशमलव आठ प्रतिशतले मात्र बढेको छ भने अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिको ६ दशमलव एक प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा २० दशमलव तीन प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको शून्य दशमलव सात प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा ६ दशमलव नौ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १६ करोड ३२ लाख पुगेको छ । भारततर्फ मुख्यतया: जुटको बोरा, जिआई पाइप, अलैंची, तार र अदुवाको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २५ दशमलव दुई प्रतिशतले बढेर दुई खर्ब ७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब १६ अर्ब ६८ करोड रहेको थियो । भारत तथा अन्य मुलुक दुवै तर्फको आयातको वृद्धिदर उच्च रहेको कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा उच्च रहन गएको हो । मासिक रूपमा हेर्दा पुस महिनामा कुल वस्तु आयात मंसिर महिनाको तुलनामा एक दशमलव तीन प्रतिशतले घटेको छ ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १० दशमलव एक प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २६ दशमलव दुई प्रतिशतको उच्च दरले बढेको छ भने अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको ३१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २३ दशमलव ६ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको २१ दशमलव ६ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १० दशमलव ६ प्रतिशले वृद्धि भई अमेरिकी डलर एक अर्ब १० करोड पुगेको छ । भारतबाट मुख्यतया: पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपुर्जा, सिमेन्ट, चामल र एमएस विलेटलगायतको आयात बढेको कारण त्यस तर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी पाइप तथा पाइप फिटिङ, तयारी पोसाक, सुन, दूरसञ्चारका उपकरण र खाने तेललगायतको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।
आयातको वृद्धिदर उच्च रहेको कारण निर्यात–आयात अनुपात समीक्षा वर्षको पहिलो ६ महिनामा १४ दशमलव पाँच प्रतिशतमा झरेको छ । यसको अर्थ नेपालको निर्यात व्यापारबाट आएको रकमले नेपालको कुल आयातको साढे १४ प्रतिशत मात्र पूर्ति हुन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १६ दशमलव ६ प्रतिशत रहेको थियो । वस्तु आयातमा भएको उल्लेख्य वृद्धि एवं न्यून विप्रेषण आय तथा खुद सेवा आयसमेत घाटा रहेपछि नेपालको समग्र शोधनान्तरस्थिति ६ अर्ब सात करोड रुपियाँले मात्र बचतमा रहन पुगेको छ । अघिल्लो वर्ष शोधनान्तर बचत ६६ अर्ब ७२ करोड रुपियाँ थियो । ०६९ पुस मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति चार खर्ब ५० अर्ब ८० करोड रहेको छ । विद्यमान सञ्चितिले १० दशमलव दुई महिनाको वस्तु आयात र आठ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया