दश उखु संकलन केन्द्र सञ्चालन

सिरहा : सिरहामा उत्पादित उखु किसानबाट खरिद गर्न महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर मिलले १० वटा उखु संकलन केन्द्र स्थापना गरी उखु खरिद सुरु गरेको छ । दुईदेखि तीन ट्रकसम्म दैनिक रूपमा सिरहाका किसानबाट उखु खरिद गर्दै आएको मिलका सिरहा प्रबन्धक क्रिश्चनलाल कर्णले बताए । किसानले एउटै ट्रकमा १५ देखि २२ टनसम्म उखु ढुवानी गर्छन् ।

संकलन केन्द्रले उखुको मूल्य निर्धारण अझै गर्न सकेको छैन । मूल्य निर्धारण नभएपछि किसान मारमा परेका छन् । केन्द्रले उखु कुपन प्रणाली अपनाएर किसानबाट किन्ने गरेकाले आफू मारमा परेको फुलबरियाका किसान रामश्वरूप महतोको गुनासो छ । ‘मिलले किसानबाट उखु पहिले लान्छ, रकम भने पछि मात्रै दिने गर्छ,’ उखु बिक्री गर्न चौहर्वास्थित केन्द्रमा पुगेका किसान महतोले भने, ‘मिल सञ्चालकले उखु लगेलगत्तै खरिद दर निर्धारण गरी भुक्तानीको व्यवस्था गरे राहत पुग्ने थियो ।’ गत वर्ष उखु संकलन गरिसकेपछि मात्र मिलले कृषकलाई ४ सय ११ रुपियाँ ५० पैसाप्रति क्विन्टलका दरले उखुको मूल्य निर्धारण गरी भुक्तानी गरेको थियो । यस वर्ष कति रुपियाँ मूल्य निर्धाण हुन्छ भन्नेमा सिरहाका किसान अनभिज्ञ छन् ।
कृषि विकास कार्यालय सिरहाका बाली संरक्षण अधिकृत रामप्रकाश सिंहका अनुसार जिल्लामा एक हजार ८ सय हेक्टर खेतमा उखु खेती हुने गर्छ । किसानले प्रतिकठ्ठामा ५० क्विन्टलसम्म उखु उत्पादन गर्ने गरेको अधिकृत सिंहको भनाइ छ । यो वर्षदेखि सिरहामा उखु खेती बढ्ने बाली अधिकृत सिंहले बताए । उनले भने, ‘यसपटक धान राम्रो उत्पादन नभएकाले धान रोपाइँ गर्ने कृषकले समेत धमाधम उखु रोप्न थालेका छन् ।’

प्रतिक्रिया