प्रचण्ड–बाबुरामको खेलवाड

Rajan-p-ojha-kavreनेपाली जनताले पटकपटक जनविद्रोह र युद्धमा भाग लिए । क्रान्ति सम्पन्न भयो । जुन उद्देश्यले क्रान्ति सफल भयो नेतृत्वले त्यसलाई स्थायित्व दिन सकेन । बरु आफूलाई नै बदल्ने चेष्टा गर्‍यो । जब प्रत्यक्ष कुनै फाइदा वा लामो समय सत्तामा रहने अवसर पाउँछ ऊ यथास्थिति र परम्परालाई जोगाउनेतर्फ लाग्यो । वि.सं.२००७ सालपछिका क्रान्तिमा विशेषत: कम्युनिस्ट आन्दोलन र त्यसका नेताहरू चुकेको पाइन्छ । वि.सं. २०५२ सालदेखि सुरु भएको जनयुद्ध र त्यसले निर्माण गरेका जगहरूमा टेकेर गरिएका सघर्ष र उपलब्धि २०६२–०६३ को जनआन्दोलनपछि नेतृत्वमा पुगेको एमाओवादी र त्यसमा पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली जनताका लागि कुनै काम गरेनन् । सहिदका सपना र नेपाली जनताको परिवर्तनको चाहना संसदीय फोहोरी खेलको राजनीतिमा लगेर डुबाइ दिए । अब जनयुद्ध र जनविद्रोह हुन सक्तैन भन्दै नेपाल र नेपालीको भविष्य विस्तारवाद र साम्राज्यवादका चरणमा चढाए । वास्तवमा भन्ने हो भने अब नेपाली जनताले जनयुद्ध र जनविद्रोह सम्झन पनि चाहँदैनन् । किनकि, आजभन्दा अगाडिका युद्ध, जनक्रान्ति त्यसै तुहिएर गए । जनयुद्धबाट प्राप्त उपलब्धि आधार इलाका, जनसत्ता, जनअदालत लडाकु आदि भंग गर्दै नेपालीको महान् जनयुद्धलाई शान्ति प्रक्रियामार्फत विसर्जन गरे । उपलब्धिलाई तार्किक निष्कर्षमा पुर्‍याउने के बाबुराम र प्रचण्डले सोचेका छन् ? हजारौँको बलिदानी र नेपालीको परिवर्तनको चाहनाले देशमा १० वर्षे सशस्त्र युद्ध सञ्चालन भयो । कति भौतिक क्षति भयो, कति सहिद भए, कति बेपत्ता भए, त्यसको हिसाब अब प्रचण्डसँग छैन । विश्वका पेरु, भारत, फिलिपिन्स, टर्की, इन्डोनेसिया, मलाया, श्रीलंका आदि देशहरूमा भएका सशस्त्र विद्रोहमार्फत अपनाइएका जनवादी क्रान्तिहरूले जहिले पनि दुई प्रकारका नियति भोगेका छन् । या त भयंकर दमनको सिकार भएर सिद्धिएका छन्, या विभिन्न सम्झौता, समर्पण र वैधानिक मार्गको स्वीकारोक्तिसहित विभिन्न मोडलमा क्रान्ति र आफूलाई विलीन गराएर जनतालाई झुक्याएका छन् ।
नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन र नेतृत्वले भोगेको वास्तविकता पनि यही हो । यति कुरा थाहा हुँदा हुँदै किन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामले वीर नेपालीको रगतले रंगिएर जनयुद्ध सञ्चालन गरेर संसदीय फोहोरी खेलको आहालमा सहिदका सपनालाई डुबाए ? ०४६ सालको जनआन्दोलन पश्चात् भएको संसदीय चुनावमा अहिलेको माओवादीका नौ जना सांसद्ले संसदमा प्रतिनिधित्व गरेका थिए । यसलाई निरन्तरता दिएको भए हुने थियो । आज बाबुराम र प्रचण्डलाई त्यही सिंहदरबारमा बस्नु थियो त किन १० वर्षको काल्पनिक जनयुद्ध गरियो ? किन अर्बाैंको भौतिक संरचना ध्वस्त पारियो ? अनि किन युवा युवतीमा सपना बाँड्दै कैयौँको जीवनको बिल्लीबाठ पारियो ? यसको जवाफ एक दिन इतिहासको कठघरामा उभिएर प्रत्येक सहिदका पति, आमा बाबु र छोराछोरीको अगाडि साविति बयान दिनुपर्नेछ । हिजो जनयुद्ध रोल्पामा चर्काउँदै गर्दा प्रचण्डको स्वार्थमा धक्का लागेको थिएन । जब सहिदका सपनालाई लत्याएर सिंहदरबार प्रवेश गरे अनि सुरु भयो प्रचण्डमा अविश्वास, ढुलमुले र अवसरवादी चरित्र । र, आज भोग्दै छन् परिवर्तनकामी जनता प्रचण्डले गरेको नियतिको फल । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी एवं वामपन्थी भड्कावका पछाडि ठीक त्यही निम्न पुँजीवादी आर्थिक क्रियाकलापमा संलग्न मानिसहरूको ढुलमुल, अस्थिर, तल–माथि भइरहने जीवन प्रक्रियाको राजनीतिक अभिव्यक्ति हुने गर्छ । प्रचण्डमा यही अभिव्यक्त भएको छ । संसदीय भासमा भासिएर सिंहदरबार प्रवेश गरेपछि प्रचण्ड र बाबुरामको बोलीको टुंगो छैन, स्पष्ट कार्यनीति र रणनीति छैन र पार्टीमा वैचारीक मतभेद तीव्र छ । त्यो महान् जनयुद्ध प्रचण्ड–बाबुरामका लागि खेलबाड थियो । लाग्छ अब प्रचण्ड र बाबुरामलाई त्यसको कुनै परवाह छैन् । किनकि पुँजीवादी ढुलमुले, अस्थिर र अवसरवादीलाई साम्राज्यवाद, दलाल, नोकरशाही, पुँजीवादी र सामन्तहरूले सजिलै कमभन्दा कम मूल्यमा खरिदगरी पथभ्रष्ट पार्छन् । आज प्रचण्ड र बाबुरामलाई खरिद गरे । सायद प्रचण्डले बिर्सिएछन्, जीवन प्रक्रियामा आउने उतारचढाबका कारण निम्न पुँजीपतिवर्गको तल्लो हिस्सा कुण्ठित, आक्रोसित र अधर्मले ग्रसित भएको हुन्छ । जसले क्रान्तिलाई निरन्तर सहयोग साथ र समर्थन गरिरहन्छ । लाग्छ प्रचण्ड, बाबुरामको त्यो अपवाद र ढुलमुले नीति र योजना दलालले किनेर नेपाली जनताको मुक्तिको सपनालाई यतिखेर नवसंसोधनवादमा पुर्‍याइदियो । र, अहिले त्यो विसर्जनवादमा पुगेको छ । नेपालको जनयुद्धविना उपलब्धि विसर्जन गरिनुको प्रमुखकारण साम्राज्यवादी र विस्तारवादी गुरुयोजना र पार्टीभित्र मौलाउँदै गएको सांस्कृतिक विचलन तथा आर्थिक प्रलोभन हो भन्ने छर्लंग भएको छ । कुनै पनि वस्तुको विकास र विनाशमा त्यस भित्रको निहित आन्तरिक कारण नै प्रमुख हुन्छ भन्ने कुरा साम्राज्यवादी र विस्तारवादीहरूलाई राम्ररी थाहा छ । र, प्रचण्डको ढुलमुले कार्यनीति र रणनीति साम्राज्यवादी र विस्तारवादीको हित खातिर तयार गरिएको हो भन्ने स्पष्ट भएको छ ।
धेरै जनतालाई लागेको थियो कि बाबुराम प्रधानमन्त्री बनेपछि देशको मुहार फेरिन्छ । विधिको शासनको सुरुआत हुनेछ । देशले आर्थिक विकासमा फड्को मार्नेछ । तर, आज हेर्दा लाग्छ बाबुराम सबैभन्दा नालायक रहेछन् । देशमा, महिला हिंसाका घटना, भ्रष्टाचारको आतंक अनि आफ्नो पार्टीभित्र मौलाएको गुटबन्दीले नेपाल र नेपालीको भविष्य अस्थिर पारेको छ । सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको राजनीतिक परिवर्तनपछि पठाएका बाबुराम अन्तत: त्यही परम्परावादी संसदीय खेलमा चुर्लुम्म डुबे । त्यति मात्र होइन पहिला एउटा हात जोडे काम हुने थियो भने अहिले लाख चढाएर पनि नभ्याउने भएको छ । बाबुरामले भ्रष्टाचारी व्यवस्था लागू गरे, कुन्डले मन्डलेलाई दलका सदस्य बनाएर नेपालमा अर्को त्रासदी उत्पन्न गराए । बाबुराम नेपालीको रगतले लेखिएको सपनालाई अमिवा जस्तो बनाउँदै छन् । देशका हजारांै युवा पलाएन हुँदै छन् । कमाउन गएका नेपाली युवाको दिनमा सरदर दुई वटा लास आइरहेको छ । लोडसेडिङको समस्याले देशमा सञ्चालित उद्योगहरू धमाधम बन्द हुँदै छन् । जनताले प्रधानमन्त्री बनाएका बाबुराम भारतलाई रिझाउन बिप्पा सम्झौता गर्छन् । प्रचण्ड राष्ट्र नै भारतमा सुम्पन सीमासम्बन्धी विवाद मिलाउन जनमत संग्रह गराउने उत्पट्याङ कुरा गर्छन् । के तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे जनयुद्धको कार्यनीति यही थियो । यसै गर्न बाबुरामलाई प्रधानमन्त्री बनाएको हो ? अनि प्रचण्डलाई के भएको छ ? नेपालीले बुझ्न चाहिरहेका छन् ।
मुस्ताङ गाडी चढेर सस्तो लोकप्रियता देखाउने अनि आफ्नै मन्त्री र आफन्तलाई करोडौँ भ्रष्टाचार गर्न लगाउने बाबुरामको यो शैली हो ? आर्थिक मितव्ययिता अपनाउने भन्दै सी क्लासको जहाज चढ्ने र देशका विभिन्न भागमा जाँदा हेलिकोप्टर चार्टड गरेर जाने काइदा अचम्म लाग्दो छ ।
प्रचण्ड–बाबुरामले नेपाली कम्युनिस्ट आन्दोलनप्रति हदैसम्मको गद्दारी गरे । १० वर्ष लामो जनयुद्धको महान् उद्देश्य निरर्थक बनाइ दिए । तर, यो गद्दारीको बदला नेपाली जनताले लिनेछन् । उनीहरू तयार भएर बसे हुन्छ ।

प्रतिक्रिया