चन्दाले खनेको बाटोमा नेतालाई बहिष्कार

Gulmiगुल्मी, २५ माघ । विकास निमार्णका काम सम्पन्न भएपछि सकेसम्म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू नभएमा दलका ठूला नेतालाई बोलाएर उद्घाटन गराउने परम्परा नेपाली समाजमा जारी नै छ । गाउँका सोझा नागरिकले आफूले कष्ट गरेर केही नयाँ काम गर्छन् अनि नेतालाई उद्घाटन गरेर मात्र उपयोग गर्छन् ।

गुल्मीमा पनि अधिकांश नयाँ बाटोमा नेताले उद्घाटन गर्छन् र सर्वसाधारण गाडीमा हुइँकिन्छन् । तर, गुल्मीको मभुङका युवाले भने राजनीतिक दलका नेतालाई बहिष्कार गर्दै आफैँले चन्दा उठाएर खनेको बाटो आफँै उद्घाटन गरेका छन् ।
मभुङ–५ हुलका युवाहरूले दलका नेताले आºनो गाउँमा बाटो पुर्‍याउने २१ वर्षदेखिको चाहना अलपत्र पारिदिएको भन्दै नेतालाई बहिष्कार गरेर स्थानीय बयोवृद्ध भोटबहादुर पौडेलबाट मोटरबाटो उद्घाटन गराए । जिविस गुल्मीले जिल्लाका सम्पूर्ण गाविसमा बाटो पुगेको दाबी गरे पनि मर्भुङ हुलमा पहिलोपटक बाटो पुगेको छ । गुल्मी क्षेत्र नं. ३ को मुख्य बजार सिमलटारीबाट ५ किलोमिटर मात्र टाढाको हुल गाउँमा पहिलोपटक मोटरबाटो पुर्‍याएका त्यहाँका जनताले दलका नेताले सहयोग नगरेको भन्दै बहिष्कार गरेका हुन् ।
उक्त मोटरबाटो निर्माणका लागि मर्भुङ गाउँ परिषद्ले छुट्याएको ३ लाख ४० हजार रुपियाँ दलका नेताहरूले खातामा राख्न भन्दै मागेपछि स्थानीय युवाले आºनो गाउँको विकास आफैँ गर्ने भन्दै रकम फिर्ता नगरेर गाउँमा बाटो पुर्‍याएका थिए । स्रोतका अनुसार मालिका उच्च माविमा शिक्षा संकाय क्याम्पस खोल्ने भन्दै ६ वर्षअघि १० लाख र त्यसपछि विभिन्न शीर्षकबाट १९ देखि २५ लाख रकम खातामा राखिएको छ । नपुग १ लाख ६० हजरा रुपियाँ चन्दा उठाएर खनिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पौडेलले बताए ।
एउटा शीर्षकमा रकम विनियोजन गर्ने र क्याम्पस सञ्चालन गर्न भन्दै व्यक्तिको खातामा राखेर मनोमानी गर्ने गरेकाले यसपालि आफूहरूले हस्तक्षेपकारी भूमिका खेलेर अनियमितता हुनबाट रोकेको मर्भुङ– ५ का वडा नागरिक मञ्चका संयोजक पीताम्बर पौडेलले बताए । ‘स्थानीय राजनीतिक दलका नेताहरूले यसपालि पनि त्यस मोटरबाटोलाई परेको पैसा अन्यत्रै हाल्न मागेका थिए,’ स्थानीय युवा एवं वडा नागरिक मञ्चका संयोजक पौडेलले भने, ‘त्यसैले जिल्लामै पहिलोपटक कुनै पनि दलका नेता नबोलाई मोटरबाटो उद्घाटन गरायौँ ।’
गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय बासिन्दाले बाजागाजासहित खुसीयाली प्रकट गरेका थिए । ‘अत्यन्तै विकट भनेर यो ठाउँमा केटी दिन गाह्रो मान्थे, यहाँका भैँसी पनि बेच्न गाह्रो थियो,’ बाटो उद्घाटनमा खुसीले आँसु झार्दै पौडेलले भने । सिमलटारीबाट अर्खबाङ जोड्ने उक्त बाटो अब करिब चार किमी मात्रै बाँकी छ । अब चुनावमा भोट माग्न आउने कुनै पनि दलका नेतालाई अबिरको सट्टा मोसोले स्वागत गरिनेसमेत स्थानीय युवाले चेतावनी दिएका छन् ।
सिमलाटारी बजारदेखि उत्तरतर्फ पर्ने विकट गाउँ हुलको ५ किलोमिटर दूरीमा पर्ने जनसेवा प्राथमिक विद्यालयको प्रांगणसम्म गाडी पुगेको हो । अध्यक्ष र वडा नागरिक मञ्चका संयोजकलाई हस्तक्षेपकारी भूमिका खेलेर दलका नेताहरूसँग लडेर गाउँमा मोटरबाटो ल्याएरै छाडेको भन्दै स्थानीयवासीले अबिर र फूलमाला लगाई सम्मान गरेका थिए ।

प्रतिक्रिया