कमन सेन्स चाहिन्छ सौरभ दाइ

Sawgat-Nepal‘कमन सेन्स विद्आउट एजुकेशन इज बेटर द्यान एजुकेशन विद्आउट कमन सेन्स’ प्रख्यात अमेरिकी ओर्‍याटर, राजनीतिज्ञ तथा सर्जक रोबर्ट ग्रीनको भनाइ सम्झिएँ गत शनिबार सौर्य दैनिकको कलम परिशिष्टाङ्कमा ‘साहित्य मेरा लागि रछ्यान’ शीर्षकको सौरभका विचार पढेपछि । तिल्मिलाएँ– सौरभ अशिक्षित होइनन्, कमन सेन्स पनि छ † सदैव सम्मानित सरौभले भनेछन्, ‘मैले एउटा राम्रो साहित्य लेखँ, अन्तर्राष्ट्रिय पुरस्कार पाएँ, त्यसपछि कसैले राम्रो लेखेको छैन ।’ मेरा खुट्टा ताते, रिस उठ्यो । सौरभ अगाडि भन्छन्, ‘साहित्य लेखिनँ, खासगरी फिक्सन पढिनँ, पढ्दिनँ पनि । देश/विदेश नघुम्नेले पनि लेख्छ र कहीँ ?’ आदि । नयाँ पुस्ताको लेखनमा अविश्वास पनि देखँे उनीभित्र । ०३८ सालदेखि नेपाली साहित्य पढेको छैन, पढ्दिनँ पनि भन्छन् । नपढी राम्रो छैन भन्नलाई ०३८ यताको साहित्यिक निरक्षरताले उनलाई अनुमति दिँदैन ।
रवीन्द्रनाथ ठाकुरले साहित्यमा नोबेल पुरस्कार लिँदै गर्दा भनेका थिए, ‘मेरो उद्देश्य मान्छेभित्रको बालापनलाई बाहिर ल्याउने हो ।’
आलो आमार, आलो ओगो, आलो भूवोन भोरा
आलो नोयोन, धोआ आमार, आलो हृदोय हारा
भन्दै ठाकुरले १४ वर्षमा लेखेका कविता सौरभजस्ता नयाँ पुस्तामा विश्वास नगर्ने त्यतिबेलाकाहरूले ‘रवीन्द्रले लेखेको भन्दा नपत्याउलान्’ भनेर भानु सिंह नामबाट प्रकाशित गरेका थिए । उनका रचना ‘जन, गन मन’ र ‘आमार सोनार’ भारत र बंगलादेश गरी दुई देशको राष्ट्रिय गान बने ।
सौरभले नेपाली कविलाई ‘अनपढ’ र साहित्यलाई ‘रछ्यान’ भनेछन् । तर, मेरा लागि त साहित्य मन्दिर हो । उसबेला सम्मानभाव थियो भन्नचाहिँ बिर्सेनछन् । सम्झाउँछु अर्को कुरा–एकेडेमीको सदस्यमा लेखनाथ पौड्याललाई नपढेका भनेर राजा महेन्द्रले लक्ष्मीप्रसाद देवकोटालाई मनोनित गरे । देवकोटाले ‘लेखनाथजस्ता ऋषिकल्प नभएको ठाउँमा म बस्नुहुन्न’ भनिदिए । त्यसैले पौडेललाई पनि नियुक्ति दिइयो । तर, सौरभले त्यो पुस्ताबाट ‘अनपढ’ भन्न सिकेछन् ।
मध्यमा फेल भएर विदेसिएका लेखनाथ नेपाल फर्किएर हुलाक टिकटमा समेत अंकित भए । भोलिका हुलाक टिकटमा अंकित हुनेहरूका रचनामा सौरभका आँखा छैनन् । स्वयम् भने हुलाक टिकट होइन नवौं शताब्दीमा चिनियाँ ट्यांगवंशी सम्राट इ जोङ्गले मनोरञ्जनका लागि नोकरको प्रतिमा तासमा बनाएझँै पछि विकसित बादशाह, जुलियस, अलेक्जेन्डर, ज्याक र मिस्सी महारानी बन्न खोज्दै जोकर बनेर साहित्यकारलाई सराप्दै पत्रिकामा टाँसिएको हामी हेरिरहेका छौँ ।
देशअनुसार तासमा अलेक्जेन्डर महान् ‘बास्सा’ भनिने बादशाह मात्र छापिएनन्, गौप्राणी साहित्यकारको हत्या गर्ने बुचर अफ बग्दाद पनि छापिए । ‘सुसाइड किंग,’ ‘वान आइड किंग’ भनेर पनि कयौँ देशमा तासका बादशाह चिनिन्छन् । सौरभको वान साइडेड हेराइ, उनकै साहित्यिक सुसाइड नोटजस्तो लाग्यो । उनको ‘नपढेका साहित्यकार’ भन्ने टिप्पणीले लाग्यो– उनी सूचनालाई ज्ञान ठान्दा रहेछन् । ज्ञान, सूचना, विवेक र प्रज्ञाका तहलाई छुट्याउन सक्तैनन् उनी । प्रश्न – संसारकै पहिलो एक कक्षा उत्तीर्ण व्यक्तिलाई परीक्षा लिने को थियो ? जवाफ – एकै कक्षा उत्तीर्ण नगरेको व्यक्ति । संसारको पहिलो पिएचडीको थेसिस गाइड को थियो ? जवाफ – थेसिस नै भनेर नलेखेको व्यक्ति । सौरभले मान्ने संसारकै सबैभन्दा बढी इन्फ्लुयेन्सल इलेक्टो्रम्याग्नेटिक वैज्ञानिक माइकल फाराडे विद्यालय जान पाएनन् । पद कति पाए पाए, तर लिएनन् । प्रख्यात गणितज्ञ श्रीनिवास रामानुजन्ले विकसित गरेका कयौँ गणितीय सूत्र अझै पनि प्रयोगमा ल्याउन धेरै विद्वान्ले सकिरहेका छैनन् जसले कुनै विशेष कक्षा र प्रशिक्षण लिन पाएनन् । गरिबीले विद्यालय पनि राम्रोसँग जान पाएनन् । जति गए, सधैँ फेल । हरेक विषयको प्रश्नमा गणितको जवाफ लेख्थे अर्थात् गणितीय जवाफ खोज्थे उनी । प्राथमिक तहमा छँदा माध्यमिक तहका गणितीय समाधान आफ्नो तार्किकताका आधारमा दिन्थे । क्याम्ब्रिज विश्वविद्यालयबाट बोलाइँदा पैसा नभएर गएनन् । उतैबाट खर्चको व्यवस्था भएपछि गए । अनौपचारिक रूपमै उनी विद्यावारिधी भए । विश्वकै अद्भुत गणितज्ञ † अनि कुन विश्वविद्यालयको कुन प्रमाणपत्र खोज्छन् साहित्यकारसँग सौरभ ? यो त ‘नो नलेज विद्आउट कलेज’ भन्ने जमानालाई ठाकुरले फेल ख्वाइदिएभन्दा पनि पुरानो कुरा भयो । फेरि वर्तमानपुस्ता हिजोकोजस्तो छैन पनि ।
समाजशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदि के–के मात्र पढ्छु भन्ने सौरभले बुझ्नुपर्छ– नेपालमा पहिलो नागरिक समाजको जग बसाउने वा अहिलेको भाषामा एनजीओ खोल्ने व्यक्ति मोतीराम भट्ट साहित्यकार थिए । उनले पहिलो नेपाली गैरसरकारी संस्था मोती मण्डली स्थापना गरे । सौरभका विचार छापिने पत्रिकाहरू नै साहित्यका सहउत्पादन हुन् । साहित्यिक पत्रकारिताबाटै मूलधारको भनिएको पत्रकारिता विकसित भएको हो । सुहाउँदैन जुन थालमा खायो त्यसैमा हग्न ।
हेनरी किसिन्जरको कुरा पटक–पटक सौरभले गरेका छन् । तर, किसिन्जरले आफ्नो लेखन ‘लिगल फिक्सन इन डिप्लोमेसी’मा ‘फिक्सनले यर्थाथलाई राजनीतिमा स्थापित गर्छ’ भनेका छन् । साहित्य मन नपराउने सौरभले आफ्ना आदर्श हेनरीको कविताप्रेमलाई भने बुझेनन्–
गुरिल्लाले जित्छन्, हार्दैनन्
परम्परागत सैनिकले मात्र
जितेनन् भने हार्छन् ।
कवितामय भाषणकै कारण उनी किसिन्जर भएका हुन् ।
किसिन्जर भन्छन्, ‘साहित्यकारले पनि आफ्नो यथार्थको पक्षमा फिक्सन लेख्नुपर्छ ।’ सौरभले बुझ्नुपर्ने–मानवशास्त्र, कानुन, न्याय, धर्म, राजा, प्रधानमन्त्री, राष्ट्रपतिदेखि सौरभ हुँदै स्वागत नेपालसम्म सबै आफैँमा एउटा एउटा फिक्सन हुन् । कानुन र मानवशास्त्र फिक्सनका सह–उत्पादन हुन् । तिनै कानुनले फेरि नयाँ फिक्सनहरू जन्माउँदै जान्छन् । त्यही फिक्सनलाई सरापेर सौरभले आफ्नै कराँते गुरुसँग अभ्यासका लागि मात्र किक हान्न भिडेजस्तो देखियो । पहरामा कुहिनोले हानेर कसलाई दुख्छ ? पहरालाई कि कुहिनोलाई ?
किसिन्जर विदेशमन्त्री हुँदा उनीसँग कवि एलेन गिन्सवर्गको विवादास्पद टेलिफोन वार्ता (जुन सुरक्षातन्त्रले ट्याब गरेको थियो र पछि सार्वजनिक गरियो)लाई एकपटक हेरेपछि थाहा हुन्छ, किसिन्जरले पनि कति धेरै सम्मान गर्थे साहित्य र कविलाई । अझ विरोधी कविसँगको कुराकानी थियो त्यो । अनि ‘किसिन्जरलाई पढ्छु’ भन्नेले कविलाई अपमान गर्ने ?
सन् २००९ को मार्च २९ मा क्यानाडाको संसद्ले कवि सांसदहरूका लागि बेग्लै कार्यालय दिने निर्णय गर्दै ‘पार्लियामेन्टरी पोएट लरेट्स् बिल’ नै पास भएको जानकारी भए ‘म कुन युगमा रहेछु’ भन्ने लाग्थ्यो कि सौरभलाई † मिडिया कन्भरजेन्सको वर्तमान डिजिटल इरामा साहित्यमा उभार आएकोले सबल वैयक्तिक अभिव्यक्तिहरू अझ बढी अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि असर गर्न सामथ्र्य राख्छन् । के असर गर्छ साहित्यले रे ?
देश–विदेश भ्रमण नगर्नेले के लेख्न सक्छ भनेर खिसी गर्छन् सौरभजस्ता विद्वान् । के होमर, इलियट, सेक्सपियर, अरस्तु, मेकियाभेली नेपाल आएका थिए ? उनीहरू नेपाल नआई लेख्ने अनि हामीले मात्र उनीहरूको देश धाउनुपर्ने ? तिनले चाहिँ यता आउनुपर्दैनथ्यो ? देश–विदेश धाउन नसक्ने, आँखा नदेख्ने तर अजम्बरी रचना दिने साहित्यकारलाई किन सोचेनन् सौरभले र देश–विदेशमा जाँड खाँदै घुमेर लेख्दा मात्र राम्रो हुन्छ भने ? झमककुमारीले सौरभलेजस्तो संसारका सबै रक्सी चाखेकी छैनन् । घुमेकी पनि छैनन् सौरभजसरी । के उनले राम्रो लेखेकी छैनन् ? जन्मै आँखा नदेखेका, त्रिभुवन विश्वविद्यालयमा साहित्य पढाइरहेका गोविन्द आचार्यले सौरभलेभन्दा बढी सीमाना मिचिएको चिन्तामा ‘सीमाना र चराहरू’ कसरी लेखे ? म्याक्सिम गोर्कीले लेखेको २० मिनेट मात्र बाटोमा चिनापर्ची भएको आफ्नो पाठकसँग हिँडेको कुराकानीका आधारमा लघु उपन्यास भन्न मिल्ने संस्मरणात्मक कथा ‘एक पाठक’ विश्वभरका लागि काम लाग्ने भएन र ? अनि रत्नपार्कदेखि टेकुसम्मको यात्रा संस्मरण लेख्न नहुने नेपालीले ? नसक्नेले विश्व घुमे पनि फिक्सन भेट्टाउँदैन, सक्नेले २ मिनेटकै यात्रामा पनि भेट्छ ।
आँखा नदेख्ने भएर पनि लेखिएका हेलेन केलरका बारेमा के भन्ने सौरभ दाइ ? डुलेर, हेरेर मात्र लेखिन्छ र ? बाल्यकालमै लेखेका कुरामाथि पिएचडी गर्नेका अनुसन्धानात्मक कृति पढ्ने तर मूल रचनाचाहिँ नपढ्ने ? आँखा नदेख्ने लुइस ब्रेलले तयार गरेको ब्रेललिपी आफैँमा फिक्सनको परिणाम हो । हरेक ब्रेलमा कल्पना र कथाहरू छन् । १२ वर्षमा आँखा गुमाए पनि विश्वविख्यात पियानोवादक गीत/संगीतकार आन्द्रे बोसेली भन्थे, ‘यदि फिक्सन नभए म हुन्नथेँ ।’ फिक्सनले बचाउँछ । हरेकको प्रगतिको कारण आफँैभित्रको फिक्सन हो ।
संसार घुम्न नसके पनि त्यस्ता प्रतिभावानलाई निराश तुल्याउँदैन सौरभको ‘फिक्सन रछ्यान हो’ भन्ने अभिव्यक्तिले ? जोन मिल्टन सम्झने सौरभ दाइले अल्पायुमै आँखा गुमाएका मिल्टन पनि स्कुलमा सरसँग झगडा गरेर स्कुल जान छोडी लेख्न थाले भन्ने सम्झनुपथ्र्यो कि, कविहरूलाई अनपढ भन्न खोजिरहँदा ?
र्‍याप संगीतबारे पनि सौरभलाई भन्नुपर्ला– अमेरिकी, अफ्रिकी मुलुकहरूमा सामाजिक विभेदविरुद्ध नारा र गालीसँगै पीडा पोख्दै गाइएका गीत नै र्‍याप हुन् । यसमाथि कयौँ थेसिस भएका छन् । सामाजिक विभेदको अभिव्यक्ति र्‍याप संगीत शीर्षकमा धेरै अनुसन्धान परियोजना संचालित छन् । नेपालमा पनि थियो त्यस्तै प्रकृतिको आवश्यकता तर सही रूपमा हाम्रा युवाहरूले बुझेनन् ।
कविहरूले ब्ल्याक लेबल चाखेकै छैनन् भन्ने सौरभ दाइको सन्दर्भ–‘ब्ल्याक लेबल सोसाइटी’ भन्ने म्युजिकल ब्यान्ड छ अमेरिकामा तर, सबै सदस्य ब्ल्याक नभएर ह्वाइट छन् : जाक भीड, नीक क्याटेन्स, जोन डिसर्भो, चाड सेलिजा । ब्ल्याक लेबल भनेर अमेरिकीलाई त झुक्याउँछन् त्यहीँ । सौरभले ठानेको ‘ब्ल्याक’ पनि ‘झुक्यान’कै लेबल हो भन्नेमा ढुक्कै छु म । एन्टिक्वीटीको कुरा–एन्टिक्वीटीको कस्तो राम्रो इतिहास थियो बेलायतमा † झन्डै १०० वर्ष पुरानो पुरातत्वसम्बन्धी प्राज्ञिक पत्रिकाको नाम हो ‘एन्टिक्वीटी’ । ‘मैले तिनै नामका रक्सी धेरै खाएको छु, लोकल खाएर साहित्य लेखिन्छ र ?’ सौरभका यी कुरा एन्टिक्वीटीकै वर्तमान सम्पादक पुरातत्वका प्रोफेसर मार्टिन कार्भरले सुन्ने हो भने कति चित्त दुखाउँथे होलान् ?
साहित्य नपढ्ने, समाजसास्त्र पढ्ने सौरभ दाइ † आयरल्यान्डका वर्तमान राष्ट्रपति माइकल डानियल हिगिन्स समाजशास्त्रका विख्यात विज्ञ र सुस्थापित साहित्यकार हुन् । आफँैमा सुस्थापित आमसञ्चारकर्मी डानियलका पुस्तक विश्व विद्यालयमा पढाइन्छन् । उनी ‘समाजशास्त्र साहित्य पनि हो’ भन्छन् । अनि तपाईंचाहिँ कस्तो समाजशास्त्र पढ्नुहुन्छ ? राष्ट्रपतिका कविताको त्यहाँ व्यापक आलोचना भइरहेका छन् । उनलाई सत्ताभन्दा कविताको महत्त्व जोगाउन गाह्रो छ ।
चेखबको कुरा † मेडिकल डाक्टर थिए उनी । तर, कोही पनि चेक गराउन आएन, रिस उठ्यो । सोचे–देखाइदिन्छु मसँग कति क्षमता छ । बिरामी चेक गर्नुपर्ने ठाउँको टेबलमै कथा लेखेर बस्न थालेँ । रिस चेखबलाई पनि उठेको थियो तर त्यो सिर्जनशील बन्यो । सौरभलाई पनि रिस उठ्यो तर यिनी सिर्जना मारेर ‘लेख्दिनँ साहित्य’ भन्दै बसे । सौरभ दाइ, यहाँले लेख्नुपर्छ । नलेखे पढिदिनुुपर्छ ।
भू–गर्भमा पनि रुचि राख्ने तपाईलाई अर्को एउटा कुरा भनुँ ? जुलोजीका पिता जेम्स हटनले पनि ‘भूगोललाई फिक्सनले जति बुझाउन सक्छ त्यति विज्ञानले नसक्ने रहेछ’ भनेका छन् । अनि ‘फिक्सन फ्याँकिदिन्छु’ भन्न मिल्दैन कि † पुरातत्वका समेत विज्ञ हटनले नै साहित्यिक विश्व इतिहासको कालक्रमिक विभाजन गरे । उनलेजस्तै केही नयाँ गर्नु नि साहित्यमा सौरभले पनि इतिहास, भूगर्भ, समाजशास्त्र आदि पढेर । अरूले नपढी गरे मात्र किन भन्नु ? सौरभले ‘भानुभक्तले घाँसीबाट ज्ञान पाएको होइन, त्यतिबेला त नेपालमा घाँसै बिक्री हुन्नथ्यो । नेपालमा घाँस बिक्री यति सालदेखि हुन थालेको । त्योबेला घाँस किनबेचभन्दा हलि पाल्नै फाइदा हुन्थ्यो’ भन्ने कुरा भनिदिनु नि † इतिहास, समाजशास्त्र आदि पढेर जसरी हटनले भनिदिए कि, ‘होमरले इलियाडमा लेखेको रिच इन गोल्ड बारेको तथ्य गलत हो’ भनेर ।
धेरै के भनौँ कमन सेन्सको कुरा हो सौरभ दाइ † फेरि सम्झन्छु सुरुकै रोबर्ट ग्रीनको भनाइलाई ।

प्रतिक्रिया