आर्थिक कूटनीति विग्रंदो

काठमाडौं, १८ माघ । देशको आर्थिक कूटनीति अत्यन्त कमजोर रहेको कूटनीतिक क्षेत्रमा आबद्ध व्यक्तिले बताएका छन् । मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि राज्यको कूटनीति’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले आर्थिक क्षेत्रको कूटनीति कमजोर रहेको बताएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक कूटनीतिका क्षेत्रमा नेपाल पछि रहेको बताए । उत्पादन र बिक्री वितरण नभई आर्थिक कूटनीतिका कुरा नआउने भन्दै पाण्डेले बिक्री वितरणमा जोड दिनुपर्ने बताए । ‘हामीसँग बिक्री गर्ने वस्तु हुनुपर्‍यो । बिक्री गर्ने वस्तु भएपछि मात्र कसरी लेनदेन गर्ने भन्ने कुरा कूटनीतिक पहलमा आउँछ,’ उनले भने । कुन–कुन क्षेत्रमा लगानी गर्ने भनेर १० वटा क्षेत्र छुट्याउने र सोही क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सके देशले आर्थिक विकासमा फड्को मार्न सक्ने पाण्डेको भनाइ छ ।
अर्थविद् डा. चिरञ्जीवी नेपालले विश्वमा नेपाल मात्र यति धेरै आर्थिक कूटनीतिमा असफल राष्ट्र भएको बताए । आर्थिक कूटनीतिका सवालमा देशभित्र सबैभन्दा असफल मन्त्रालय भनेको परराष्ट्र रहेको उनको दाबी छ । ‘८५ प्रतिशत आयात र १५ प्रतिशत निर्यात गर्ने देशले कसरी र के भनेर आर्थिक विषयबारे कूटनीतिका कुरा गर्ने ?’ उनले प्रश्न गरे । देशले सुरुआतदेखि नै आर्थिक कूटनीतिका विषयमा चासो नदेखाएको नेपालले बताए । पहिलोपटक आर्थिक कूटनीतिक पहलका लागि आफूले कमिटी बनाएको उनले दाबी गरे । विदेशीले आफ्नो देशको सामान कसरी महँगोमा बेच्ने र आयात गर्ने सामान कसरी सस्तोमा किन्न सकिन्छ भन्नेबारे दिनहुँ कूटनीतिक पहल गरे पनि नेपालमा त्यस्तो हुन नसकेकोमा उनले दुखेसो गरे ।
कूटनीतिकै कमजोरीले गर्दा नेपालको पानी खेर गइरहेको र बिजुली माग्न भारत जानुपरेको उनले बताए । आर्थिक विकासका लागि भनेर वर्तमान सरकारले गरेको बिप्पा सम्झौतासमेत गलत भएको नेपालको दाबी छ । दुई देशबीचको सम्बन्ध राख्दा राजनीतिकभन्दा आर्थिक कुरालाई महत्त्व दिनुपर्नेमा उनले जोड दिए । सही नीतिगत कुरालाई अघि बढाउने हो भने २० वर्षमा गर्ने ५ वर्षमा नै गर्न सकिने नेपालको भनाइ छ ।
नेपाली कांग्रेसका उद्योग विभाग प्रमुख दीपकुमार उपाध्यायले आर्थिक एजेन्डालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । जतिसक्दो चाँडो पैसा कमाउनुपर्ने हाम्रो नीति नै गलत भएका कारण आर्थिक कूटनीतिमा नेपाल असफल भएको र कच्चापदार्थलाई तयारी वस्तु बनाएर बेच्नभन्दा कच्चा पदार्थ नै बेच्न आतुर हुँदा राज्य आर्थिक रूपमा कमजोर भएको उनको भनाइ छ । आर्थिक नीतिमा ध्यान दिन नसके जति नै बिजुली उत्पादन गरे पनि त्यसको उपभोग अरूले नै गर्ने उनले बताए । उपाध्याायले अरू मुद्दाले आर्थिक मुद्दा ओझेलमा परेको भन्दै राजनीतिक पार्टी त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
३ खर्ब ८४ अर्बको कुल बजेटमा ३ खर्ब ८७ अर्बको आयात हुनुले देशको कूटनीतिक अवस्था कस्तो छ भन्ने देखाएको विज्ञको भनाइ छ । अहिले वैदेशिक ऋण बढेर ३ सय ८ अर्ब पुगेको छ । प्रत्येक नेपालीको टाउकोमा झन्डै १९ हजार ऋणभार छ । कार्यक्रममा सहभागीले चीनसँगको व्यापार घाटा भारतसँगको भन्दा डरलाग्दो तरिकाले बढ्दै गएको बताए । नेपालले चीनसँग ५४ अर्बको आयात र ३ अर्बको मात्र निर्यात गरेको छ जसले ५१ अर्बको व्यापार घाटा देखाएको छ ।

प्रतिक्रिया