बढ्दो ऊर्जा संकट समाधान गर्न वैकल्पिक उपायहरू के हुन सक्छन् ?

अहिले मुलुकमा ऊर्जा संकटको अवस्था भयाबह छ । हामीले अहिले भोग्दै आइरहेको ऊर्जा संकटको अवस्थाबाट मुक्ति पाउनका लागि तत्काल कम्तीमा पनि सय मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजनाको आवश्यक छ । सरकारको २५ मेगावाट क्षमताभन्दा माथिका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को विद्युत् खरिद सम्झौतामा स्पष्टता नभएकाले समस्या सिर्जना गरेको छ । विद्युत् खरिदका लागि अधिकारप्राप्त नेपाल विद्युत् प्राधिकरणको एकाधिकार रहेको अवस्था छ । सरकारको विद्युत् खरिद सम्झौताको निश्चितता छैन । जलविद्युत् आयोजना निर्माणका लागि सरकारका योजना ठुल्ठूला छन् तर तिनको कार्यान्वयनका लागि कुनै पहलकदमी लिन नसकेको अवस्था छ । विद्युत् आयोजना निर्माण कम्पनीलाई लाइसेन्स दिँदा कम्तीमा पनि एक वर्षभित्र यतिसम्मको काम सम्पन्न गरिसक्ने, दोस्रो वर्षसम्म यतिसम्म आयोजना निर्माणको कार्य सम्पन्न गरिसक्ने भन्ने प्रतिबद्धतासहित सम्झौता गरिनुपर्छ । सम्झौताअनुरूप निर्माण कार्य सम्पन्न नगर्ने कम्पनीलाई दिइएको लाइसेन्स सरकारले खारेज गर्न सक्नुपर्छ । त्यस्तै राम्रो बिक्री दर पाए निजी क्षेत्रले पनि जलाशययुक्त आयोजना निर्माण गर्न सक्छन् ।

प्रतिक्रिया