साहित्य मेरा लागि रछ्यान

sauravमेरो पढाइ र लेखाइसम्बन्धमा चल्ने अनेक हल्ला र अफवाह मैले सुनेको छु । तर, यसमा कुनै सत्यता छैन । पढाइ र लेखाइमा मैले आफ्ना लागि कडा अनुशासन तय गरेको छैन । बिहानदेखि बेलुकासम्म निरन्तर पढ्ने, दिनको यति घन्टा पढ्ने, सुतेर पढ्ने, कुर्सीमा ढल्किएर पढ्ने, सिँढीमा बसेर पढ्नेजस्तो खास बानी मेरो छैन । तर, यो सत्य हो कि पढ्दा म एकाग्र हुन्छु । काग कराएको, छेउमा चिया आएको, सामान खसेको, टिभी खुलेकोजस्ता कुराले मेरो एकाग्रता भंग गर्न सक्दैन ।
मेरो निजी लाइब्रेरी खासै ठूलो छैन । १२ हजारजति किताब होलान् । यी किताब मैले विगत ६ वर्षमा संग्रह गरेको हुँ । यतिनै संख्याका किताब दुईपटक गुमाइसकेको छु, कोठा सर्दा र घुम्न जाँदा हराएर ।
ज्ञान हासिल गर्न किताब पढ्ने र भ्रमण गर्ने मेरो बानी छ । मिहेनत गरेर लेखिएका किताबले ज्ञान बढाउँछ । गाउँघरमा हजारौँ वर्षदेखी खारिएर आएको ज्ञान हुने भएकाले ज्ञान बढाउन पढ्नु र घुम्नु दुवै आवश्यक छन् । गाउँबाट मैले निर्दोषिता सिकेको छु भने कोठा बसी पढेर मैले प्रज्ञा तथा चैतन्यको आनन्द हासिल गरेको छु ।
सानैदेखि पढ्नु मेरो सौख थियो । १२–१३ वर्षको हुँदा मैले मार्टिन लुथर किंग जुनियरसम्बन्धी अंग्रेजीमा लेखिएको किताब डल्लै सिध्याएको थिएँ । किशोर छँदा डेसमन्ड गोइगको सम्पादनमा निस्कने ‘जुनियर स्टेट्सम्यान’ म्यागजिन पढ्ने गर्थँे । किशोर तथा युवकलाई लक्षित गरी निकालिएको ‘जुनियर स्टेट्सम्यान’ पढ्नुअगावै ४० वर्ष नाघेका पाठकलाई लक्षित गरी निकालिएको ‘इलस्ट्रेटेड विक्ली अफ इन्डिया’ पढ्ने बानी बसिसकेकाले हलुका विषयप्रतिको मेरो आकर्षण कम भइसकेको थियो । सानो छँदा ‘चाइना पिक्टोरियल’ र ‘पेकिङ रिभ्यु’ नबुझे पनि खुब पढिन्थ्यो । ‘पेकिङ रिभ्यु’को कागज असाध्यै आकर्षक, हेरिरहुँजस्तो † ‘न्युजविक,’ ‘टाइम,’ ‘हेराल्ड ट्रिब्युन’ जस्ता पत्रिका मेरो रोजाइमा कहिल्यै परेनन् । होन्डुरस र ग्वाटेमालाको कुरा जानेर मलाई के फाइदा ? बरु मैले ‘टाइम्स अफ इन्डिया’ जस्ता यस क्षेत्रका पत्रिकालाई आफ्नो रोजाइ बनाएँ ।
नाम चलेका लेखकका अथवा ‘बेस्ट सेलर’ किताब छानेर पढ्ने मेरो स्वभाव छैन । म जस्तापनि किताब पढ्छु, तर, ती अनिवार्य रूपले गैरआख्यान (नन–फिक्सन) हुनुपर्छ । २०३८ सालअघि साहित्य पनि पढ्ने गर्थेँ । पद्यमा महाकवि देवकोटा र गद्यमा गुरुप्रसाद मैनालीजस्तो सशक्त हस्ती नेपाली साहित्यमा छन्जस्तो मलाई लाग्दैन । रमेश विकलले ‘लाहुरी भैँसी’ जस्ता पाँच–छ वटा माथिल्लो स्तरका कथा लेखे । तर, पछि साहित्य चोर्नेलगायत कारणले उनले पनि आफ्नो स्तर खस्काए ।
पहिले–पहिले काठमाडौंको झोँछेमा ‘सेकेन्ड ह्यान्ड’ किताब पाइन्थ्यो । किनेर पढ्ने गर्थेँ । झाँेछेको किताब पसल ठमेलमा सरेपछि पछ्याइनँ । सन् १९९७, १९९८ र १९९९ ताका त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय धाएर पढँे । पहिले पढेका कुरा ‘अप्डेट’ गरँे । ती वर्ष मैले दिनमा १६ घन्टा पढँे, वर्षको डेढदेखि दुई लाख रुपियाँसम्म किताब खरिदमा खर्च गरेँ । तर, अब उप्रान्त अघि पढेका कुरा ‘अप्डेट’ गर्छु जस्तो लाग्दैन ।
सन् १९९७ पछि नेपाल र नेपालीबारे स्वदेशी तथा विदेशीले लेखेका किताब मात्रै पढ्छु भन्ने निश्चय गरेँ । अन्तर्राष्ट्रिय विषय पढ्ने संसारमा कति होलान् कति † नेपाल र नेपालीबारे लेखिएका सामग्री पढ्ने पनि त चाहियो भनेर मैले आफूलाई त्यतातिर केन्द्रित गरेँ । इन्जिनियरिङ्, इतिहास, भूगर्भविज्ञान, जीवविज्ञान, वनस्पतिविज्ञान, समाजशास्त्र, मानवशास्त्र, कूटनीति, राजनीति, मौसमविज्ञानलगायत भेटिएजति नेपालसम्बन्धी लेखिएका सबैखाले किताब मैले पढेँ ।
साहित्यप्रति ममा वैराज्ञ जाग्नुका केही कारण छन् । देवकोटा जीवित भइञ्जेल नेपाली साहित्यमा एउटा संस्कार थियो । देवकोटाले मृत्युशैयामा अन्तिम श्वास लिँदै गर्दा भारतीय दूतावासका तत्कालीन ‘कल्चरल एट्याची’ शिवमंगलसिंह सुमनले उनको खुट्टा ढोगे । शिवमंगलसिंहको सिको गरेर उपस्थित सबैले महाकविलाई ढोगे । तर, आदर गर्नुपर्ने पात्रलाई ढोग्ने संस्कार देवकोटा स्वंले बसाएका थिए । लेखनाथ पौडेलको रथयात्रामा लम्पसार परेर देवकोटाले पौडेललाई ढोगेका थिए । त्यतिबेला एकेडेमी खुलेको थिएन, साहित्यिक पुरस्कार स्थापना भएका थिएनन् । साहित्यकारहरू आत्मसन्तुष्टिका लागि लेख्थे र आफ्ना समकालीन साहित्यकारका अब्बल सिर्जनाको मुक्तकण्ठले तारिफ गर्दै त्योभन्दा अब्बल साहित्य सिर्जना गर्ने प्रयत्न गर्थे । यसले साहित्यलाई तिखार्ने काम गथ्र्यो ।
तर, देवकोटाको मृत्युपछि नेपाली साहित्यमा भाँडभैलो मच्चियो । युरोपमा विभिन्न वाद र विचारधाराको ‘नचुरल’ र क्रमबद्ध विकास भयो । तर, देवकोटापछि साहित्य, चित्रकला र संगीतमा अन्धाधुन्ध पाराले पश्चिमी वाद भित्र्याउने काम भयो । हामीकहाँ र्‍याप संगीत आयो । के हाम्रो परिवेश र अवस्थाले र्‍याप संगीत खोजेको थियो ? साहित्य सिक्न गुरु नचाहिएला । तर, संगीत र चित्रकला सिक्न गुरु अपरिहार्य हुन्छ । तर, ‘डिस्टेन्स लर्निङ’ गरी ठूला भइटोपलेका चित्रकार तथा संगीतकारको हामीकहाँ बोलवाला हुनु कत्रो दुर्भाग्य † देवकोटापछि नेपाली साहित्य असहिष्णु बन्दै गयो । अध्ययन, अनुसन्धान, अनुभव, निष्ठा एवं इमान्दारिताको अभावमा तथा पद, प्रतिष्ठाको खोजीमा नेपाली साहित्य जमातले संस्कार गुमायो ।
मधुपर्कमा मेरा ७–८ कथा र यतिकै संख्यामा निबन्ध प्रकाशित भए । सन् १९८७ मा जर्मनीको ड्वेचेवेला रेडियो स्टेशनले गरेको दक्षिण एसिया स्तरीय प्रतिस्पर्धामा म र श्रीलंकाका अर्का साहित्यकार विजयी भयौँ । म पुरस्कार थाप्न जर्मन गएँ र साहित्यमा अन्तर्राष्ट्रिय पुरस्कार पाउने पहिलो नेपाली बनेँ । मैले पुरस्कार थापेपछि यहाँ धुँवादार विरोध भयो । कुरो काट्ने, बद्ख्वाइँ गर्ने बढे । साहित्यमा अडिइरहे यस्तै असहिष्णु र भँुइफुट्टा जमातको संगत गर्नुपर्ने भएकाले मैले मधुपर्कलाई दिएको अन्तवार्तामा साहित्यसँग सम्बन्धविच्छेद गरेको घोषणा गरेँ । नगन्नुपर्ने कुरालाई नगन्ने मेरो स्वभावका कारण मेरा समकालीन मसँग रुष्ट थिए । बिपी कोइराला भन्ने गर्थे, ‘राजनीति शौचालय हो, साहित्य भान्साघर ।’ बिपीको भनाइ चोरेर केदारमान व्यथितले पनि त्यसै भने । तर, मलाई भने साहित्य रछ्यानजस्तो लाग्छ ।
२०३८ मा साहित्यसँग सम्बन्ध तोडेयता मैले एक अक्षर पनि साहित्य पढेको छैन । यसप्रति मलाई कुनै पछुतो छैन । बरु अनावश्यक काममा समय खर्च गरिएनछ भन्ने लागेको छ । आख्यान लेख्न गैरआख्यानको विशद अध्ययन गर्ने परिपाटी छ, पश्चिममा । इतिहास, समाजशास्त्र, मानवशास्त्र, पुरातत्व, विज्ञान, खगोलशास्त्र आदिको अध्ययन गर्नुपर्ने हुन्छ । भ्रमण गरेर व्यवहारिक ज्ञान तथा अनुभूति संगाल्नुपर्ने हुन्छ । तर, नेपालका साहित्यकारहरू रत्नपार्कदेखि टेकुसम्मको यात्रासंस्मरण लेख्छन् । उनीहरूमा ज्ञान र अनुभवको कमी छ । नेपालमा दुई सय प्रजातिका धान फल्छन् । तर, नेपाली साहित्यकारले मुश्किलले २५ खाले धान चाखेका होलान् । यहाँ चार सयखाले रक्सी बन्छन् । तर, बसन्तपुरमा पाइने एकाध ठर्रा उनीहरूले बुत्याएका होलान्, अरूले दिएको बेला ‘रेड लेबल’ चाखेका होलान्, ‘ब्ल्याक लेबल’ बारे सुनेका होलान् । अहिले ‘रोयल स्ट्याग’, ‘सिग्नेचर’ आदि खान थालेका होलान् । त्यति हो । यस्तो छिपछिपे अध्ययन र अनुभव सँगालेकाहरूको बेकम्मा रचना पढेर समय किन खेर फाल्ने ?
साहित्य छाडेर गैरआख्यान पढ्न थालेको यतिका वर्षमा मलाई छोएका किताब दुई सयजति होलान् । तर, सबै किताब अहिले मेरो सम्झनामा छैनन् । मलाई ज्यादै राम्रो लागेको किताबमध्ये एक हो, डेभिड बेर्गामिनीको ‘जापान्स इम्पेरियल कन्सपिरेसी ।’ यसमा १३ हजार पृष्ठको सामाग्रीलाई घटाएर १३ सय पृष्ठमा समेटिएको छ । यो हदैसम्मको अद्भुत मिहेनत हो । नेपाली लेखकले पनि यस्तो गरिदिए ? नेपालबाट निस्किएको ‘अ क्लासिकल डिक्सनरी अफ नेवारी ल्याङ्वेज’ मा पनि यस्तै अथक मिहेनत गरिएको छ । यसमा २० जनाले १६ वर्षसम्म काम गरेका छन् । नेपाली भाषामाथि पनि यसरी व्यापक अनुसन्धान गरी किताब लेखिएको भए अद्भुत हुने थियो । २०३८ सालअघि मैले अर्नेस्ट हेमिङ्वेको ‘अ फेयरवेल टु आम्र्स’, एमिली जोलाको ‘नाना’ जस्ता हलुका आख्यान पढँे । तर, पिटर मेथिसेनको नियात्रा ‘द स्नो लियोपार्ड’, स्कट बेरीको ‘अ स्ट्रेन्जर इन टिबेट’, इर्भिङ वालेसका गैरआख्यान रचना, स्वामी प्रपन्नाचार्यसँगको अन्तवार्तामा आधारित गोविन्द टन्डनको किताब ‘राई बाबासँग साक्षात्कार’, घटराज भट्टराइको ‘देवकोटाको आनिबानी’, बालकृष्ण पोख्रेलको ‘खस जातिको इतिहास’जस्ता उत्कृष्ट किताब मलाई अरू लागेनन् । टण्डन र भट्टराईको किताबमा मलाई सबैभन्दा बढी मन परेको विषयचाँहि प्रपन्नाचार्य र देवकोटामा रहेको अद्भुत आत्मविश्वास हो ।
उमेर बढ्दै जाँदा नयाँ र पुराना पुस्ताबीच पढ्ने स्वभावमा परिवर्तन आएको मैले देखेको छु । पुरानो पुस्ताले थाहा नपाइकनै आधारभूत किताब पढेको हुन्थ्यो । कूटनीतिसम्बन्धी अध्ययन गर्नेले मेकियाभेली र चाणक्य पढेकै हुनुपर्छ, कविता पढ्नेले व्यासको ‘महाभारत,’ महाकवि देवकोटाको ‘शाकुन्तल’ पढेकै हुनुपर्छ । होमर, गेटे, दाँते, जोन मिल्टन, आदि पढेकै हुनुपर्छ । उपन्यास पढ्नेले लियो टाल्सटाय, चाल्र्स डिकेन्स पढेकै हुनुपर्छ । कथा पढ्नेले मोपासाँ, एन्टोन चेखोव, समरसेट मम, गुरुप्रसाद मैनाली, इभान तुर्गनेभ आदि पढेकै हुनुपर्छ । जग बुझेपछि सम्पूर्ण साहित्य बुझ्न सजिलो हुन्छ, यो सुविधा पुरानो पुस्तालाई थियो । तर, अहिलेको पुस्ता ‘बेस्ट सेलर’ किताब छानेर पढ््छ । कूटनीतिसम्बन्धी अध्ययन गर्नुपर्‍यो भने ऊ मेकियाभेली र चाणक्य पढ्दैन, हेनरी किसिन्जर पढ्छ । आधार नबुझी टुप्पोमात्रै बुझेको ज्ञान कहीँ पूर्ण हुन्छ ?
लेखनसम्बन्धी पनि मेरो कुनै विशेष सूत्र छैन । बुद्धले भनेका थिए, ‘निर्वाण प्राप्त गर्न अरूले पनि मेरो मार्ग नै पछ्यानुपर्छ भन्ने छैन ।’ त्यसैले मेरो लेख्ने कला अरूका लागि सिकाइ र प्रेरणा नबन्न सक्छ । किताब र अनुभवबाट म ‘रिफरेन्स’ लिन्छु । साता–दश दिन मुलुक घुम्दा ५–६ वटा विषयले दिमागलाई तरंगीत पारेका हुन्छन् । कुनै विषयमा लेख्नुपूर्व म लेखको विषयमाथि अध्ययन र अनुभवबाट हासिल गरेका ‘रिफरेन्स’लाई सम्बन्धित गराउँछु । खाँदा, बस्दा, सुत्दा, हिँड्दा यसैमा चिन्तन गर्छु । निचोडमा पुगिसकेपछि मात्रै म लेख्न बस्छु र एकै दिनमा लेख तयार पार्छु । ‘रिफरेन्स’मा मात्रै भर परेर विश्वविद्यालयको ढाँचामा लेख्यो भने ज्ञान ‘रिप्रड्युस’ हुन्छ, नयाँ कुरा आउँदैन । ‘रिफरेन्स’ पनि आखिर कसै न कसैले त लेख्नैपर्ने हुन्छ † त्यसैले मार्टिन चौतारीबाट निस्कने किताब उपयोगी भएपनि यसप्रति म कहिल्यै आकर्षित हुन सकिनँ ।
भारतले नेपालमाथि २०४५ साततिर नाकाबन्दी लगाएपछि मैले राजनीतिमाथि कलम चलाउन थालँे । त्यसयता यसै विषयमा घुमिरहेको छु  । यस क्रममा मैले प्रशंसक र विरोधी थुप्रै कमाएँ । घमन्ड गरेको होइन, यसलाई म गौरव भन्न रुचाउँछु कि मैले जति पाठक नेपालमा कसैले पाएका छैनन् । ‘तपाईँका लेख कटिङ गरेर कलेक्सन गरेको छु’ भन्ने धेरै भेटेको छु । पाठक पाउन ज्यादै गाह्रो हुन्छ । त्यसैले म निम्न गुणस्तरीय लेख लेखेर पाठकको अपेक्षामाथि ठेस पुर्‍याउन चाहन्नँ । धेरै लेख्दा गुणस्तर खस्किने भएकाले बरु थोरै लेख्छु, पाठकलाई निराश नबनाउने गरी लेख्छु ।
मेरो लेखाइ क्लिस्ट भएकाले म आम–पाठकको विशाल समूहमा अझै प्रवेश गर्न सकेको छैन भनेर अरूले भन्ने गरेको सुनेको छु । तर, मैले पाठकको त्यो विशाल समूहमा प्रवेश गर्न नसकेको होइन, नचाहेको हो ।
हावाको बहावपट्टि बहने बानी हुन्छ, धेरै लेखकमा । लेखकले त ब्रह्मले देखेको कुरा मात्रै लेख्नुपर्ने पो हो † मलाई संघीयता अथवा जातीय संघीयता मनपर्दैन । यसबारे मैले आफ्ना लेखमा निक्कै अघिदेखि स्पष्ट रूपमा भन्दै आएको छु । जातको आधारमा मुलुक विखण्डन नभए धर्मका आधारमा हुन्छ भनेर मैले धर्मसापेक्षताको समर्थन गर्दै आएको छु । इस्ट टिमोर, क्रोएसिया, कोसोभो, दक्षिण सुडान र इस्लाम धर्मबहुल भारतीय प्रान्तको अध्ययनबाट यसबारे बुझ्न सकिन्छ । तर, म हिन्दूवादी होइन । जनै त्याग्ने मलाई नास्तिक भने हुन्छ । पृथ्वीनारायण शाहाले युरोपेली जासुस भनेर क्रिस्यिनलाई नेपालबाट निकाला गरे । उनी पनि हिन्दूवादी थिएनन् । यदि हिन्दूइतरका धर्मविरोधी उनी थिए भने मुसलमानलाई पनि उनले देशनिकाला गर्ने थिए । मलाई कसैलाई रिझाएर केही हात पार्नु छैन भने आफ्नो ब्रह्मले देखेको लेख्न म किन डराउँ ? मैले आफ्ना लेखमा अघि सारेका तर्कविरुद्ध तर्क लिएर कोही आउँछ भने या त म आफू ‘कन्भिन्स’ हुन्छु, या उसलाई ‘कन्भिन्स’ गराउँछु । तर, लहडको भरमा ताइ न तुइका तर्क लिएर विवाद गर्नखोज्नेलाई म वास्तै गर्दिनँ ।
प्रस्तुति : सुजित/रामशरण/दीपक

प्रतिक्रिया