नवीकरणीय ऊर्जामा जोड

काभ्रे, १२ माघ । दैनिक १४ घन्टा लोडसेडिङ हुन थालेपछि ऊर्जाविद्ले लोडसेडिङ कम गर्न नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने बताएका छन् । नवीकरकणीय ऊर्जामा स्थानीय निकायले ध्यान दिने हो भने लोडसेडिङ मात्रै कम नभई वातारणमा समेत सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन तथा विकासका लागि माघ ७ गते देखि सुरु भएको राष्ट्रव्यापी ऊर्जा सप्ताह कार्यक्रमअन्तर्गत बिहीबार बनेपामा जिल्ला विकास समिति, रिमरेक काभ्रे लगायतका ऊर्जासँग सम्बन्धित कार्यालयले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । जिल्लामा रहेका ८० हजार ६ सय ५१ घरमध्ये ३६ प्रतिशत घरमा नवीकरणीय ऊर्जा प्रयोग गर्न सकिने रिमरेक काभ्रेका विशाल बाँनियाले जानकारी दिए । जिल्लाका ८७ गाविसमध्ये ५६ गाविसमा मात्र घरेलु सौर्य ऊर्जा प्रणाली २ प्रतिशत जडान भएको उनले बताए ।
काभ्रेका विभिन्न गाविसमा नवीकरणीय ऊर्जाअन्तर्गत सोलार, ब्रिकेट, सुधारिएको पानी घट्ट, लघुजलविद्युत्, सुधारिएको चुल्हो, फलामे सुधारिएको चुल्हो र गोबरग्याँस प्रयोग भइरहेको छ । नवीकरणीय ऊर्जाका माध्यमबाट ९६ हजार पाँच सय २४ टन कार्बन उत्सर्जन गरी पछिल्लो मूल्यअनुसार आठ करोड ३९ लाख ७६ हजार पाउने तथ्यांङ पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । रिमरेक एक्लैले काभ्रे लगायत नौ जिल्लामा ७६ हजार ७७ वटा सुधारिएको चुल्हो निर्माण गरी ऊर्जामा सहयोग गरेको जिविस काभ्रेले जानकारी दिएको छ ।
विश्वमा धुँवाकै कारण बर्सेनि १६ लाख सर्वसाधारणले ज्यान गुमाउनु परेको तथ्यांक प्रस्तुत गर्दै नवीकरणीय ऊर्जाका सञ्जीवकुमार लालले बताए । नेपालमा पनि धुँवाकै कारण सात हजार पाँच सयले ज्यान गुमाइरहेका छन् । जिल्लामा ५३ प्रतिशत राष्ट्रिय प्रसारण लाइनको विद्युत् प्रयोग भइरहेको छ भने ११ प्रतिशत नवीकरणीय ऊर्जा प्रयोग भइरहेको छ । नेपालमा ६ हजार खोलानालाबाट दैनिक ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने भए पनि ६ सय ३ मेगावट मात्रै उत्पादन भइरहेको उनले जानकारी दिए । नवीकरणीय ऊर्जासम्बन्धी जानकारी सातवटा स्टलबाट गराइको थियो । प्रदर्शनी अवलोकन गर्न विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण सहभागी थिए ।

प्रतिक्रिया