बोली र व्यवहारमा अपरिपक्व नेता

Mahesh-Thapaनेतृत्वको बोली र व्यवहारमा तादात्म्यता नहुनु नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या रहेको छ । शब्दको खेती गर्दै पूरा गर्न नसकिने अनेकन सपना बाँडेर सोझासीधा गरिब नेपाली जनतालाई बलिको बोको बनाई आफ्नो महत्त्वाकांक्षाको भर्‍याङ उक्लनु र आफ्ना व्यवहारद्वारा सपनाको हावा महलमा उडाइएकाहरूको तन्द्रा भंग गराउँदै समाजलाई निराशाको अर्को चक्रमा धकेल्नु नेपाली राजनीतिको नियति बनेको छ । नेतृत्व बोली व्यवहारमा परीक्षित हुँदा मात्र त्यसले उसको उचाइ तय गर्छ । व्यवहारले आफ्नो बोलीको भार थेग्न नसक्दा व्यक्तित्वमा आएको स्खलनका कारण हाम्रो नेतृत्व आजकाल ‘गाला सुरक्षा रणनीति’ तय गर्न व्यस्त देखिन्छ ।
सार्वजनिक जीवनमा प्रकट एउटा झूठ कसरी नेतृत्वको राजनीतिक जीवन समाप्तिको कारक बन्न सक्छ भन्ने उदाहरण जर्मन रक्षामन्त्री कार्ल–थियोडर जु गुटनवर्ग हुन् । सन्दर्भ ग्रन्थ उल्लेख नगरी आफ्नो विद्यावारिधी शोधपत्रको केही भाग अन्य व्यक्ति तथा संस्थाको शोध/आलेख आदिबाट हुबहु नकल गरी जनतालाई ढाँटेको आरोपमा सन् २०११ मा उनले रक्षामन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । अर्थमन्त्री छँदा जर्मन अर्थतन्त्रलाई मन्दीको चपेटाबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका उनलाई भावी चान्सलरको रूपमा हेरिँदै थियो । तर, हामीकहाँ जनतामाझ बोलिएका बोली, कबोल गरिएका वाचा र उरालिएका नाराहरूको कुनै अर्थ हुँदैन । तत्कालीन समस्याहरूमा मात्र रूमल्लिने आममानिसको कमजोर स्मृतिको फाइदा उठाउँदै जनता भनेका मूर्ख हुन्, तिनलाई जे भने पनि हुन्छ, तिनको काम हामीले भनेको सुन्ने र आदेश पालना गर्दै थपडी बजाउने मात्र हो भन्ने हाम्रो नेतृत्वलाई परेको छ । सार्वजनिक बोली र जनतामाझ गरिएका वाचाहरूप्रति उत्तरदायी रहनु आवश्यक नभएपछि देशको दशा र दिशा निर्धारणमा निर्णायक हैसियत राख्ने नेतृत्वको हावाको बहावअनुरूप परिवर्तन भइरहने राजनीतिक गफ सुन्न नेपाली जनता अभिशप्त छन् ।
हरेक परिवर्तनको प्रक्रियासँगै उचाइमा पुग्ने नेतृत्वको लोकप्रियताको ग्राफ नेप्सेभन्दा तीव्र गतिमा ओरालो लाग्नुको प्रमुख कारण बोली र व्यवहारबीच रहने असङ्गति नै हो । हजारौं मानिसहरूको लाश र देशलाई ठूलो सामाजिक–आर्थिक मूल्य चुक्ता गराएर स्थापित नेतृत्वको पतनको रफ्तार उदेकलाग्दो छ । पुराना भनिएका दलहरूको कमजोरीका कारण नै नयाँ शक्तिले स्थान पाएको हुँदा कांग्रेस/एमाले लगायतका दलहरूको विषयमा कुरा गरिरहनु आवश्यक भएन । समाज र राष्ट्रलाई ठूलो व्ययभार वहन गर्न लगाई आएको नेतृत्वको व्यवहारजन्य विसंगतिका विषयमा प्रश्न उठाउनु सान्दर्भिक हुन जान्छ ।
केहीअघि नेपाल भ्रमणमा आएको मुम्बई प्रेस क्लबका पत्रकारहरूसँग साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री भट्टराईले नेपालमा भारतीय लगानी सुरक्षित गर्न बिप्पा सम्झौता भएको र यसले दुवै देशको हित गर्ने बताउँदै उक्त सम्झौता कार्यान्वयन गर्ने क्रममा आफूमाथि केहीआक्षेप लगाउने प्रयास गरिए पनि आफूमा कुनै भ्रम नरहेको दाबी गर्न पुगे । द्वन्द्वकालमा उनको निचोड थियो, विदेशी एकाधिकार पुँजी र घरेलु दलाल नोकरशाही पुँजी नियन्त्रण नगरिकन स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिँदैन । सशस्त्र संघर्ष थालनीको आधारका रूपमा भट्टराई स्वयंले हस्ताक्षर गरी तत्कालीन देउवा सरकारसमक्ष प्रस्तुत ४० बुँदे मागपत्रको प्रस्तावनामा ‘देशभित्र विदेशी र खासगरी भारतीय विस्तारवादीहरूको आर्थिक र सांस्कृतिक अतिक्रमण दिनहुँ बढ्दै गएको’ उल्लेख गर्दै छैठांै बुँदामा नेपालको उद्योगधन्धा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्ने माग प्रस्तुत गरेका थिए । उनले जुन दृष्टिकोण र मान्यतामा आधारित रहेर ‘जनयुद्ध’ सुरु गरे, देशको कार्यकारी प्रमुखका रूपमा आफ्ना बोलीहरूलाई व्यवहारमा रूपान्तरित गर्ने समय ‘यु टर्न’ लिँदै बिप्पाबारे कुनै भ्रम नरहेको दाबी गर्न थालेका छन् । यदि, बिप्पाबारे उनलाई भ्रम छैन भने नेपाली जनतासामु भन्न सक्नुपर्‍यो, युद्धकालमा उनले बोकेको मान्यता भ्रमपूर्ण थियो । दुईविपरीत ध्रुवमध्ये उनी जता उभिइदियो त्यही ध्रुव सत्य हुन के डाक्टर भट्टराई मध्ययुगीन धर्मगुरु हुन् ? जसले गरेको धर्मशास्त्रको व्याख्या ईश्वरको बोली र अन्तिम सत्य हुन्थ्यो । यदि उनी अहिले भ्रममा छैनन् भने हाम्रा विद्वान् प्रधानमन्त्रीज्यूले बताउन सक्नुपर्‍यो, हिजो उनले अभिव्यक्त गरेको विचारसँग सहमत हुँदै जीवन गुमाउने दशौं हजार मानिस भ्रममा थिए कि उनको भ्रमित विचारसँग असहमत हुँदा हजारौं मानिसहरूको जीवन खोसिएको थियो ?
महान् वैज्ञानिक अल्वर्ट आइन्सटाइनको एउटा प्रसिद्ध भनाइ थियो ‘गड डजन्ट प्ले डाइस’ अर्थात् भगवान्ले जुवा खेल्दैनन् । उनको भनाइ यस ब्रम्हाण्डमा हुने हरेक परिघटना एक निश्चित भौतिक परिवेश अन्तर्गत घटित हुन्छ भन्ने मान्यतामा आधारित थियो । उनले यही मान्यतामा आधारित रहेर आफ्नो जीवनको पछिल्लो ३० वर्ष विज्ञानको अध्ययन/अन्वेषण गरे । तर, उनको जीवनको उत्तराद्र्धमा ‘अनिश्चितताको सिद्धान्त’ (थ्यौरी अफ अन्सर्टेनिटी) प्रतिपादन भएपछि उनले बोकेको मान्यता गलत सावित हुन पुग्यो । आफ्नो मान्यता गलत सावित हुँदा जीवनको महत्त्वपूर्ण ३० वर्ष खेर गएको तनावमा विक्षिप्त हुन पुगे । उनले बोकेको एउटा गलत मान्यताले गर्दा आजको विज्ञान डेढ सय वर्षपछि धकेलिएको विश्वास गरिन्छ । डा. भट्टराई र उनको दलले बोकेको गलत मान्यताका कारण नेपाल कति वर्ष पछाडि धकेलियो ? प्रश्न गरिनु आवश्यक छ । व्यक्तिले बोकेको मान्यता गलत सावित हुनसक्छ । त्यसबापत उसले विक्षिप्त भई मर्नैपर्छ भन्न खोजिएको होइन । तर, आफ्ना मान्यता गलत सावित हुँदा त्यसलाई स्वीकार्ने हिम्मतचाहिँ देखाउन सक्नुपर्ने हुन्छ । आफूले बोकिआएको मान्यताविपरीत व्यवहार प्रदर्शित गर्नुअघि विगतमा आफूले लिएको गलत विचारका कारण राष्ट्रले भोग्नु परेको क्षतिप्रति सार्वजनिक रूपमा आत्मालोचित हुनुपर्छ कि पर्दैन ? हिजो विदेशी एकाधिकार पुँजी अन्त्यका लागि सशस्त्र संघर्ष गर्ने डा. बाबुराम भट्टराई पनि भ्रममुक्त र आज भारतीय लगानी सुरक्षित नभई नेपालको विकास सम्भव छैन भन्दै बिप्पाको बचाउ गर्ने बाबुराम पनि भ्रममुक्त भए, के सबै नेपाली जनता मात्र दिग्भ्रमित छन् त ?
केहीदिनको अल्टिमेटमसहित देउवासामु फालिएका ४० बुँदे मागमध्ये प्रधानमन्त्रीका रूपमा झन्डै डेढ वर्ष बालुवाटार बस्दा उनले कतिवटा पूरा गरे ? प्रधानमन्त्री भट्टराई आजकाल शान्ति र संविधान मुलुकको प्रमुख कार्यभार रहेको बताउँदै आफैँद्वारा प्रस्तुत अन्य मागहरूलाई झिनामसिना र संविधान निर्माणपश्चात् बिस्तारै पूरा हुँदै जाने भन्न थालेका छन् । त्यसो भए उनले ४० बुँदे मागको सट्टा ‘जननिर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण गरी राष्ट्रियता र जनजीविकासँग सम्बन्धित अन्य सामान्य कामहरू क्रमिक रूपमा पूरा गर्दै जाने’ भनी एकबुँदे माग प्रस्तुत गरिदिएको भए तत्कालीन सरकारलाई उनको मागबारे सोच्न सहज हुने थियो कि ? मुलुकले यति ठूलो युद्धको भार बोक्नुपर्ने थिएन कि, सायद । सबै परिवर्तन सकारात्मक नै हुन्छ भन्ने हुँदैन । परिवर्तन पश्चात् मुलुकले के पायो, हामीकहाँ पुग्यौँ वा पुग्दैछौँ भन्ने आधारमा एक निश्चित समय अन्तरालमा मानिसहरूले त्यसको लागत–लाभ विश्लेषण गर्छन् नै । आफूलाई परिवर्तनको वाहक दाबी गर्नेहरूले विगतमा आफूद्वारा भएका कमीकजोरीहरूप्रति जनतामाझ आत्मालोचित हुनुपर्छ । गाउँखाने कथामा गाउँ दिएजस्तो राम्रा कुरा जति सबै मेरा र नराम्रा कुराजति राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश एवं विरोधीहरूको थाप्लोमा हाल्नु अर्थहीन हुन्छ । आफ्नो बोलीअनुरूप व्यवहार गर्नु नपर्ने र जनताप्रति उत्तरदायी भइरहनु नपर्ने यो अवस्था कायम रहुन्जेल नेपाली राजनीतिको अद्योगति जारी रहनेछ ।

प्रतिक्रिया