पछिल्लो समय नेपाल र नेपालीजनका लागि राजनीतिक रूपले निराशाजनक रह्यो । परम्परागत स्थायी शक्तिहरू ध्वस्त भएको र नव स्थापित संस्था र व्यक्तिले उक्त अभावको खाडल पुर्न सकेनन् । फलत: अभिभावक ठानिएका राष्ट्रपति किंकर्तव्यविमुढ हुनपुगे भने ठूला ठानिएका राजनीतिक दलका नेता र तिनका अगुवाहरू सस्तो लोकप्रियताको नौटंकी प्रदर्शन गर्न मै व्यस्त रहे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दहालको प्रारम्भमा रहेको पक्कड र उनीबाट आम नागरिकले जुन अपेक्षा गरेका थिए त्यो अवस्था अब कायम रहेन । उनी सगरमाथाको शिखरमा पुगेर ओरालो लाग्ने क्रम जारी छ । कतिपय उनलाई यो क्रमले मृतसागरको किनारामा पुर्याउने बताउँछन् भने केही आलोचकहरू राजनीतिक रूपमा यहाँभन्दा द्रुत गतिले तल झर्ने ठाउँ नभएकाले उनको राजनीतिक आकर्षण समाप्त भएको बताउँछन् । भन्न थालिएको छ, उनले राजनीतिक यात्रालाई विश्राम दिए राम्रो हुने थियो । दाहाल आफ्नो ख्याती निरन्तर गुमाउँदै गएका छन् । उनको विगतको प्रभाव मुलुकमा शून्य अवस्थामा झरेको त छ नै आफ्नो पार्टी र भाइचाराका साथै राजनीतिक दल र समूहमा समेत कमजोर अवस्थामा पुगेका छन् । उनको प्रभाव र पक्कड सर्वत्र कमजोर भएर उक्त स्थान उनका निकटतम प्रतिस्पर्धीले लिनुपर्नेमा प्रतिस्पर्धी उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई संधिग्ध स्थलमा आकर्षक व्यक्तिका रूपमा चर्चित हुनेबाहेक अन्यत्र कुनै क्षेत्रमा उनको साख कायम रहन सकेन । नेपाली सामु उनी नेपाल र नेपालीका हितप्रतिकूल परिचालित भनेर चर्चामा आउने गरेका छन् । पार्टीमा खासै उनको पक्कड रहेन ।
यही अवस्थामा सन्धि, सम्झौता र समझदारीलाई निरन्तरता दिएको, वाहय शक्तिलाई नेपाल र नेपालीको स्वार्थ प्रतिकूल खेल्ने अवसर प्रदान गर्ने खलनायकका रूपमा उनलाई सम्बोधन गर्न थालिएको छ । सत्तामा रहेर आर्थिक लाभबाहेक भट्टराईलाई अरू सौविध्य समाप्त हुने संकेत छ । उनी हिजो मानिएका राजनेता, पार्टी नेता या राष्ट्रिय नेता कुनै पनि हुन सकेनन् । यद्यपि, प्रारम्भमा भट्टराई आकर्षणका केन्द्रविन्दु नै थिए । यसले एमाओवादी किन सत्ता छाड्न चाहन्न भने अबको चुनाव उसका लागि अनुकूल हुने छैन त्यसैले सत्ता छाड्न चाहँदैन भन्ने अर्थ लाग्छ । सत्तामा रहेर चुनाव गराउनसके सत्ताको राप र मधेसीको साथले प्रतिपक्षी दबाउने उसको दाउ छ । र, फेरि डाङडुङे निर्वाचनबाट दुईतिहाइ ल्याएर संविधानको राग अलाप्ने, वर्ग संघर्ष दस्ताबेजमा उल्लेख गर्ने, जातीय संघर्ष र क्षेत्रीय नारा बाहिर चर्काउने षड्यन्त्र स्वरूप सत्ता नछाडिएको हो । यो एमाओवादीको चालालाई प्राय:जसो राजनीतिका बारेमा जानकारी राख्ने सबैले बुझेकै छन् । सर्वप्रथम अब यहाँ निर्वाध रूपमा चुनाव हुने, संविधान निर्माण हुने र राष्ट्रिय संकल्पसहितको सहमति कायम हुने सम्भावना नै क्षिण भएर गएको छ ।
अहिले सहमतिलाई सत्ता प्राप्तिको विषय मात्र बनाइएको छ । राजनीति गर्नेले सिद्धान्तलाई किनारमा राखेर सहमति गर्न सक्दैनन् । तर, विचित्र एमाओवादी जस्तो आफूलाई क्रान्तिकारी ठान्ने पार्टी र प्रजातन्त्रको ठेक्का लिएर हिँडेको डंका पिटाइ गर्ने नेपाली कांग्रेससमेत सहमतिको नाममा सत्ताको र्याल चुहाएको चुहायै छ । सहमति यसकारण सम्भव छैन र यो भाषा आफँैमा गलत छ कि सहमति सत्ता बाँडचुँडका लागि मात्र हो । प्रचण्ड बाबुरामहरू सत्ता छाड्न चाहँदैनन् । कांग्रेस एमालेहरू सत्ता नपाउन्जेल रुवावासी गरिरहने हुन । त्यो बेलासम्म राजनीतिले कुन मोड लेला अहिल्यै घोषणा गर्नु ज्योतिषको शैली हुन जान्छ । राजनीतिक सिद्धान्तसँग सहमति सम्भव नै छैन । जो सहमति भन्छ त्यसको पछाडि राजनीति होइन आर्थिक लाभको स्वार्थ गाँसिएको छ, जुन पार्टी र जनहितमा छैन । यही पक्का हो कि मुलुक र नेपाली जनताले विकल्प खोजेका छन् । पञ्चहरू हिजो असफल भएकै हुन । फलत: बहुदलीय व्यवस्था स्थापित भयो नै । बहुदलीय व्यवस्था पछिल्लो कालमा असफल भएको थिएन, त्यसका नायकहरू असफल थिए । राजसंस्था असफल थिएन, काम गर्ने शैलीमा त्यसका अगुवाहरू असफल थिए । त्यो प्रणाली असफल नहँुदै १२ बुँदे दिल्ली सहमतिसहित यहाँ आइपुग्दा नपुग्दै राजनीतिमा ग्रहण लागेको छ । यसमै राजनीति गरिरहेका छौँ भन्ठान्नेहरूले अब पुनर्विचार गर्ने बेला भएन र ?
अझै पनि चेत नफिर्ने हो भने समय घर्किसकेपछिको चेत फिराइको कुनै अर्थ राजनीतिक रूपमा रहला र ? पछिल्लो विकसित घटनाक्रम हेर्दा प्रतिपक्षी दल दैलेखबाट सत्तापक्षविरुद्ध आगो सल्काउन चाहन्थे । तर, दैलेखमा सलाइको काँटी त्यति बलेको आभाष नेपाली जनताले पाउन सकेनन् । पहिलेपहिले नेता र पार्टीले पत्रकारका लागि समाचार बनाइदिन्थे, गोहो निर्माण गरिदिन्थे । अब पत्रकारले उल्टो नेताका लागि गोहो बनाइदिँदै छन् । अर्काले बनाएको बाटोमा हिँड्दा कुन बेला भड्खालोमा परिन्छ कसैलाई थाहा हँुदैन । यसले नै अर्थ लगाउन सकिन्छ कि सत्तापक्षलाई अक्षम प्रतिपक्षको लाभ कति भइरहेछ भन्ने । प्रतिपक्ष अझै पनि एमाओवादीको हेटौँडा महाधिवेशनपछि राजनीतिमा परिवर्तन आउनेमा गम खाँदै बसेको छ । प्रचण्ड र भट्टराईबीच दूरी बढ्छ, प्रचण्डले माघमा हुने महाधिवेशन पूर्व नै भट्टराईलाई निकासका लागि मार्गप्रसस्त गर्न दबाब दिनेछन् र भट्टराई कमजोर हुन्छन् भन्ने प्रतिपक्षले आश गरेको छ । तर, त्यसका लागि पनि दक्षिणी हावा नै चाहिन्छ । त्यो हावा महाधिवेशनमा कुनै पक्षका लागि चल्ने देखिँदैन ।
तर, के बुझ्नु जरुरी छ भने विचार, युद्धको मैदान र हतियारसहित सम्पूर्ण तह र तरिका त्याग्दै शरणमा परेर सत्ताका लागि लम्पसार परेको दलले अब यही बाँकी रहेको सत्ता पनि छाड्यो भने उसँग बाँकी नै के रहन्छ ? त्यसैले सत्ता छाडेर छाडिँदैन र कसैले छोड्दैन पनि । मौका पर्नासाथ गलहत्याउने हो । गल्हत्याउन तागत चाहिन्छ । हिजो ज्ञानेन्द्रलाई घोक्रयाउन कहाँबाट तागत आएको थियो । त्यो शक्तिले प्रतिपक्षीलाई सघाउला कि सत्ता पक्षलाई ? सेवा कसले बढ्ता गरेको छ उसैलाई सघाउँछ । अब नेपाली जनताले हेर्ने यही मात्र बाँकी छ । किनकि, यहाँको राजनीति भनेकै यही हो ।
प्रतिक्रिया