विद्यार्थी आन्दोलनको पर्यायवाची अनेरास्ववियु यतिबेला आन्तरिक भुमरीमा परेको छ । त्यसैले प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय सम्मेलन गरी निर्धारित समयमै नेतृत्व निर्माण गरेको अनेरास्ववियुका सामु केही प्रश्नहरू खडा भएका छन् । गत असोजमा राष्ट्रिय सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्वका साथ आन्दोलित हुनुपर्ने वर्तमान समयमा अनेरास्ववियु आफँैभित्र गतिरोधमा फस्नु यसका लागि सुहाउँदो विषय होइन । यो गतिरोधका पछि लामो शृंखला छ । यसबीचमा नेकपा (एमाले) ले कार्यदल नै बनाएर अखिल भित्रका समस्याहरूलाई अध्ययन गरेको छ । त्यसको ठोस् निष्कर्षको पर्खाइमा सिंगो विद्यार्थीपंक्ति आतुरता प्रकट गरिरहेको छ ।
हुनत: अखिलको वर्तमान नेतृत्वले आफूलाई कठोर समीक्षा गर्दै समस्याका केही बुदाँहरू र समाधानका विकल्पहरू अगाडि नसारेको होइन । अनुशासन, संगठनात्मकता, आर्थिक र चारित्रिक क्षेत्रमा देखिएका समस्याहरूलाई विधान सम्मेलनमार्फत हल गर्ने अखिल नेतृत्वको जमर्को विविध कारणले सार्थक बन्न सकेन । यद्यपि विधान सम्मेलनको ढोका पूर्ण रूपमा बन्द भएको भने छैन । यस पृष्ठभूमिमा अब अनेरास्ववियुलाई कस्तो बनाउने र कता हिँडाउने भन्ने बाटो तय गर्नुपर्ने छ । बाटो तय गर्दा हिजोका समस्याहरूलाई जिउँकातिउँ राखेर तय गरियो भने त्यसले अरू हानिकारक परिणाम निम्त्याउने छ । किनभने अखिलभित्रका समस्या पहिचान र समाधान दिन पार्टीले गरेको भगिरथ प्रयत्न निरर्थक सावित हुनेछ । ‘जसले जे गरे पनि हुँदो रहेछ, आखिर कसैलाई केही पनि हुँदैन’ भन्ने मनोविज्ञान विकास हुनेछ । त्यो मनोविज्ञानले सप्रिनभन्दा बिग्रनका लागि बाटो खुल्नेछ । त्यसैले अखिलको आकाशमाथि मडारिएको कालो बादललाई हटाएर आफ्नो राजमार्गमा हिँड्न दिनु अहिलेको समयको माग हो ।
अखिललाई सपार्नका लागि केही महत्त्वपूर्ण पक्षहरूमा ध्यान पुर्याउन जरुरी छ । पहिलो, अहिलेको संकट त्यहाँ भित्रको मात्रै उपज होइन । यसका लागि वर्तमान नेतृत्व मात्र जिम्मेवार छैन । यसका बहुआयामिक पाटाहरू छन् । त्यो सच्याइलाई ग्रहण नगरी वर्तमान नेतृत्वको मात्र हुर्मत लिने काम गरियो भने त्यो अवस्तुवाद ठहरिन्छ । पार्टी भित्रको अन्तरविरोधको प्रत्यक्ष असर अनेरास्ववियुमा परेको छ । जनकपुर सम्मेलनमा पार्टीको मूल नेतृत्वदेखि सबैजसो नेतृत्व आफूले नजिक ठानेको समूहलाई जिताउन प्रत्यक्ष संलग्न भएको तथ्य दिउँसोको घामजत्तिकै छर्लङ्ग छ । पार्टीभित्र एकता देखिए पनि अखिलभित्र पुरानो छाँया हट्न सकेन । संगठनमा त्यसको प्रभाव विभिन्न रूपमा रहिरह्यो । अखिललाई साँच्चै सपार्ने हो भने यो प्रक्रियाबाट अलग हुने संकल्प पार्टी नेतृत्वले लिनैपर्छ । आ–आफ्ना समूहका बेग्लाबेग्लै ईन्चार्जहरू खटाएर अखिललाई चलाउने र प्रभावित बनाउने गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । पार्टीले संस्थागत निर्णय गरेर खटाएको ईन्चार्जको आँखाबाट अखिललाई हेर्ने दृष्टिकोण विकसित गर्न सक्नुपर्छ ।
दोस्रो, विधि र प्रक्रियासम्वत तवरले छानिएको नेतृत्वलाई संगठन संचालन गर्न हरतवरले सहयोग गर्नुपर्छ । चाहे त्यो संगठन भित्रबाट होस्, चाहे पार्टी नेतृत्व तहबाट होस् । विगतमा जस्तो सपथ खुवाउने पार्टी नेता नपाएर बैठक स्थगित गर्नुपर्ने दु:खद् अवस्थाबाट संगठनलाई मुक्त गर्नुपर्छ । आफ्ना असहमतिलाई बैठकमा सहभागी भई छलफल गरेर निचोड निकाल्ने उपयुक्त प्रक्रियाभन्दा बाहिर गएर बैठकमा उपस्थित नहुने, कार्यक्रममा सहभागी नहुने, आन्दोलनमा सक्रिय नहुने, नेतृत्वविरुद्ध मिडियाबाजी गर्नेजस्ता गलत कामलाई चटक्कै छोड्नुपर्छ । ती गलत काम गर्ने कार्यकर्तालाई सम्झाइबुझाइ गरी सच्याउनुको साटो गलत कामको संरक्षण गर्ने अविभावक शैली नेतृत्वतहबाट परित्याग गर्नुपर्छ । गलत गर्नेहरू संरक्षण होइन सजायको भागिदार बन्नुपर्छ । गुण र दोषको आधारमा प्रोत्साहन र सजायको नीति अवलम्बन गर्नुपर्छ । आफ्नो र अर्काको भन्ने भेदभाव छाड्नुपर्छ । ‘आफ्ना जति राम्रा होइन कि राम्रा जति आफ्नो’ को नीति पारदर्शी तवरले लागू गर्नुपर्छ । मूल्यांकन र जिम्मेवारीमा उचित मापदण्ड कायम गरी निष्पक्ष तवरले प्रदान गर्नुपर्छ । पार्टीले जनसंगठनरूपी नर्सरीलाई संरक्षण, मलजल, गोडमेल गर्नुपर्छ । राम्रो बनाउने नाममा धेरै विषादी छर्कियो भने दीर्घकालीन रोग लाग्छ भन्ने कुरालाई मनन गर्नुपर्छ ।
तेस्रो, छनौटको मापदण्ड विवेकशील र वैज्ञानिक हुनुपर्छ । उस्तै–उस्तै प्रकृतिका कार्यकर्ता बीचबाट छनौट गर्दा केलाई आधार बनाउने हो बहुतै सचेत हुनुपर्छ । सकेसम्म सर्वस्वीकार्य आधार खोजिगरिनु राम्रो हुन्छ । सर्वस्वीकार्य हुन सकेन भने विवेकशील र वैज्ञानिक आधारको खोजी हुनु जरुरी छ । छनौटमा दोहोरो मापदण्ड सबैभन्दा घातक कुरा हो । दोहोरो मापदण्डले विवाद सिर्जना गर्छ भने विवादले उग्ररूप लिई विकराल अवस्था सृजना हुन्छ । त्यसैले यसमा होसीयारी अपनाउनु आवश्यक छ । व्यक्ति हेरेर मापदण्ड बनाउने होइन कि आवश्यकता हेरेर मापदण्ड बनाउने बाटो अवलम्बन गर्नुपर्छ । कहिले काँही नेतृत्व तह राजनीतिक र अराजनीतिक कार्यकर्ता पहिचान गर्न अल्मलिने गरेको पाइन्छ । क्षणिक प्रभाव, व्यक्तिगत स्वार्थ, बाहिरी चल्तीफुर्ति हेरेर राजनीतिक चरित्र बोकेको सम्भावनायुक्त कार्यकर्तालाई दोस्रो श्रेणीको देख्ने गरेको पाइन्छ । आफ्नो वरिपरि घुम्ने कार्यकर्तालाई भन्दा कार्यक्षेत्रमा केन्द्रित हुने कार्यकर्तालाई प्रोत्साहन गर्ने आँट देखाउनुपर्छ । सत्य–तथ्य नबुझी कसैले चुक्ली लगाएकै भरमा दृष्टिकोण निर्माण गर्ने र त्यसैका आधारमा मूल्यांकन हुने परिपाटीको अन्त्य गर्नुपर्छ । क्षमता, योग्यता, अनुशासन, लगाव, सम्भावना, इमान्दारीता, दृष्ढ इच्छाशक्ति र पहलकदमीलाई नेतृत्व विकासको प्रमुख आधार बनाउनुपर्छ । अब कमिटीको टुंगो लगाउँदा यी समग्र पक्षहरूको संयोजन आवश्यक छ । अखिल नेतृत्व र पार्टीले पहिचान गरेका समस्याका बाहकहरूलाई मसिनो गरी केलाएर अलग गर्नु नयाँ शिराबाट अगाडि बढने मार्ग प्रशस्त हुनु हो । संगठनमा को रहने नरहने त्यो गौण विषय हो । बनेको मापदण्डलाई हुबहु कार्यान्वयन गर्ने कि नगर्ने त्यो नै प्रधान विषय हो । मापदण्ड कार्यान्वयन गर्दा जोसुकै रहन र नरहन तयार नहुने हो भने अखिल सप्रिन सक्दैन । त्यसमा पनि व्यक्तिपिच्छे पार्टी नेतृत्वले चासो लिने हो भने पार्टीसमेत दलदलमा फस्छ । यो सरुवा रोग अन्तत: पार्टी फर्कन सक्छ ।
चौथौं, अखिल नेतृत्वसामु केही गम्भीर चुनौतीहरू देखापरेका छन् तिनीहरूको कुशलतापूर्वक निरूपण जरूरी छ । अखिलको विगतको विरासतलाई कायम राख्न, संगठनप्रति विद्यार्थीको आकर्षकलाई बढाउन, संगठनमा देखिको आर्थिक, नैतिक, चारित्रिक र सांगठानिक अराजकतालाई तत् ठाउँबाट नै हलगर्न अखिल नेतृत्व युद्धस्तरमा खट्नुपर्छ । कमी कमजोरी हटाउन सामूहिक तवरले जुटनु पर्दछ । नेतृत्वले विगतका कमजोरीहरूलाई दोहोरिन नदिने सामूहिक संकल्प गर्नुपर्छ । अखिललाई बिखण्डनको बहुरूपी घेराबाट मुक्त गर्नुपर्छ । संगठनमा चट्टानी एकता कायम गरेर त्यसको जगमा पार्टी एकताका लागि दबाब दिनुपर्छ । यसमा नै संगठन र पार्टीको भविष्य अडिएको छ । तब मात्र संगठनमा नयाँ रक्तसञ्चारको सिर्जना हुनेछ । बितेको चार महिना सांगठानिक जीवनमा कोसे ढुंगासावित हुनेछ ।
(लेखक अनेरास्ववियु संगठन विभाग प्रमुख हुन ।)
प्रतिक्रिया