सुनकोसी पुल निर्माणकार्य स्थगित

 

उदयपुर : ठेक्का लागेको दश वर्षसम्म पनि निर्माण पूरा हुन नसकेको उदयपुर–ओखलढुंगा जोड्ने सुनकोसी पुल निर्माणमा प्राविधिक समस्या देखिएपछि काम स्थगित भएको छ । दशकपछि पुनर्निर्माण थालिएको पुलको डिजाइनमै समस्या आएपछि निर्माण सम्पन्न हुन नसकेको हो ।
काम सुरु गरी पुल निर्माण अन्तिम चरणमा पुग्ने अवस्थामा डिजाइनमै समस्या देखिएको बताइएको छ । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने भौतिक योजना मन्त्रालयले दाबी गरे पनि निर्माण चरणमै समस्या देखिएपछि पुल निर्माण हुने सपना क्षीण बनेको हो ।
स्थानीयले पुल निर्माणमा ठेकेदार र प्राविधिक दुवै पक्षको
लापरबाहीका कारण ढिला भएको बताउँदै आएका छन् । पुल निर्माण गर्न अझै ढिलाइ गरे उदयपुर, खोटाङ र ओखलढुंगावासीले संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पुलको तीनवटा पिलरमध्ये बीचको पिलरमा भेटिएको चट्टानलाई रक पाइलिङमार्फत फुटाएर समस्या समाधान गरिए पनि हाल तीनवटा पिलरको दूरीबीचसँग नमिलेपछि काम गर्न समस्या भएको जनाइएको छ । ‘यो समस्या समाधान नभई पुल निर्माणकार्य सुरु
गरिँदैन,’ हर्कपुर–ओखलढुंगा सडक आयोजनाका प्राविधिकले भने, ‘यो समस्या केही दिनभित्रै समाधान हुनसक्छ ।’ समस्या आएपछि पहिले डिजाइन गर्ने प्राविधिक कहाँ नै पुर्‍याएर चेक गर्ने कार्य भइरहेको बताइएको छ ।
पुल आयोजनाका प्रमुख देशबाहिर रहेकाले पनि समस्या आएको बताइएको छ । पुल निर्माणमा केही समस्या आएपछि समयमै समाधान हुने भौतिक योजना मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । (सौस)

प्रतिक्रिया