तनहुँमा २० करोडको मास उत्पादन

तनहुँ, १० माघ । तनहुँमा यस वर्ष २० करोड ९४ लाख ८५ हजार ६ सय रुपियाँ बराबरको मास उत्पादन भएको छ । १३ हजार ५५ हेक्टर क्षेत्रफलमा मास खेती गरिएकोमा १ हजार ८ सय ३३ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जानकारी दिएको छ ।

बजार पाउन थालेपछि मास खेती गर्ने किसानको संख्या बढ्दै गएको बताइएको छ । गत वर्ष पाथीको ३ सय ५० मा बिक्री भएको मास यस वर्ष ४ सय रुपियाँ पुगेपछि किसान उत्साही भएको कार्यालयका प्राविधिक सहायक टीकाराम खनालले बताए ।
तनहुँको व्यास नगरपालिका, भिरकोट, भानु, केशवटार, जामुने, क्यामिन, घाँसीकुवा, धरमपानीलगायत गाविसलाई मास खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको छ । तनहुँमा स्थानीय कालो फ्रुस्रे र चिल्ले जातको मास बढी लोकप्रिय मानिन्छ ।
कालो फुस्रे मास राम्रोसँग लतक्क पाक्ने र खाँदा पनि स्वादिष्ट हुने कृषि विज्ञहरू बताउँछन् । पानी धेरै नचाहिने, बलौटे, दोमट माटो भएको पहारिलो ठाउँमा मास खेती गर्न सकिने प्राविधिक सहायक खनालले बताए । केही समययता मधेसी व्यापारीले स्थानीय भन्दै कमसल गुणस्तरहीन भारतीय मास सस्तो मूल्यमा बिक्री गर्दै आएको दमौलीबजारवासी बताउँछन् । गुणस्तरहीन भारतीय मास स्थानीय भन्दै पाथीको २ सय ५० रुपियाँमा झुक्याएर बेचिरहेको भनाइ उनीहरूको छ । उक्त मास राम्रोसँग नपाक्ने र ढुंगा र मुगीसमेत मिस्सिएको भेटिएपछि वल्लोबजारवासीले आफूहरू ठगिएको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले अखाद्य र गुणस्तरहीन त्यस्तो वस्तु बिक्रीवितरण भएको पाइए प्रशासनले तुरुन्तै कारबाही गर्ने बताए । उपभोक्ता हितविपरीत काम गर्नेलाई कडा कारबाही हुने उनको भनाइ छ ।
२५ करोडको सुन्तला
यस वर्ष तनहुँमा २५ करोड रुपियाँभन्दा वढिको सुन्तला उत्पादन भएको छ । सुन्तलाको फूल खेल्ने र दाना लाग्ने बेलामा असिनाले केही क्षति पुर्‍याए पनि सुन्तलाको मूल्य दोब्बर बढेकाले किसानको आम्दानी बढेको छ ।
गत वर्ष २५/३० रुपियाँ किलोमा बिक्री भएको सुन्तला यस वर्ष ५५/६० रुपियाँसम्म बिक्री भएको स्थानिय व्यापारीले बताए । जिल्लामा यस वर्ष गत वर्षभन्दा १५ देखि २० प्रतिशत कम सुन्तला उत्पादन भए पनि मूल्य बढेकाले गत वर्षकै हाराहारीमा सुन्तलाको कारोबार भएको वरिष्ठ बागबानी विकास अधिकृत डोलकृष्ण सुवेदीले बताए ।
१ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा लगाइएको अमिलो जातको फलफूलमध्ये ९ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तलाको मात्रै खेती गरिएको जानकारी उनले दिए । ‘वर्षेनी अमिलो जातको निबुवा मात्रै ६३ लाख रुपियाँको बिक्री हुने गरेको छ,’ उनले भने । ग्रिनिङ रोगका कारण सुन्तलाका पुराना बगैँचामा रहेका बोटहरू मर्दै गए पनि नयाँ बगैँचामा रहेका बोटहरूले फल राम्रो दिँदै आएको किसान बताउँछन् ।
तनहुँको वैदी, कोटा, छिपछिपे, काहुशिवपुर, भिर्कोट, घाँसीकुवा, जामुने, क्यामिन, तनहुँसुर, बन्दीपुर, आबुखैरेनी, थप्रेक, छाङ, मनपाङलगायत २ दर्जन गाविसलाई सुन्तला खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।
राजनीति छोडेर कृषि पेसामा लागेका जामुनेका विश्वबहादुर अधिकारीले यस वर्ष १५ लाख रुपियाँको सुन्तला बिक्री गरेको बताए । खेर गइरहेको भीर, पाखा र पखेरामा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने हो भने पैसा कमाउनकै लागि विदेश जानु नपर्ने भनाइ उनको छ ।

प्रतिक्रिया