काठमाडौं उपत्यका नेपालको सभ्यता र सस्ंकृतिको केन्द्र हो । अर्को शब्दमा भन्नुपर्दा उर्बरभूमि र खेतीयोग्य जमिन रहेको क्षेत्र पनि हो । कला संस्कृति र सभ्यताको इतिहास बोकेको यस क्षेत्रभित्र विभिन्न प्रकारका मठ मन्दिर र पुरातात्विक संरचनाहरू विद्यमान छन् ।
प्रखर विद्वान् सिइएम जोडको व्याख्याअनुसार मानवसभ्यता भनेको कृतिमता मात्र हो । मानव जातिले समय–समयमा आफ्नो सुविधाको निमित्त युगान्तकारी विविध खाले भौतिक र मानसिक जगत्लाई संवोधन गर्ने विषयवस्तुहरू निर्माण गर्दै आएको छ । युगबोध दिने चिन्हहरू एक पछि अर्को गर्दै इतिहासको पानामा थपिँदै आएका छन् । कतिपय भग्नावशेषको रूपमा आकारमा अहिले पनि प्राप्त भइरहेका छन् । यसरी नै संस्कृतिका कुराहरू पनि प्रशस्त मात्रामा छरिएर रहेका देख्न पाइरहेका छौँ ।
आज यहाँ काडमाडांैं उपत्यकाको ललितपुर नगरपालिकादेखि पाँच कि.मी. दक्षिणतिर रहेको श्री कार्यविनायक (गणेश) बारे चर्चा गरिन्छ । कार्यविनायकका सम्बन्धमा विषेश जानिफकार विद्वान् प्रोफेसर डा. मिलनरत्नको भनाइ के छ भने, ‘एक पहाडिया अर्थात् पहाडमा जन्मिहुर्केकी युवतीबाट पैदा भएको बालक गणेश हो ।’ पिताजी शिव नै हो भन्न सकिन्न । जेहोस् आजकाल गणेशलाई कार्यसिद्धि गर्नको निमित्त मानसिक बल प्राप्त गर्नका लागि पूजा गरिन्छ । त्यस्तै धर्मालम्वीहरूले कुनै पनि शुभकार्य गर्नुअगाडि गणेशको पूजा गर्ने चलन छ । गणेशलाई पूजा–अर्चना गरे पश्चात् मात्र अन्य विषयमाथि प्रवेश गर्ने आम प्रचलन रहेको पाइन्छ ।
माथि उल्लेख गरिएअनुसार ललितपुरको कार्यविनायक गणेशको प्रचलित पूज्यकथन पनि कम रोचक छैन । भनिन्छ– उपत्यकामा अनावृष्टि भयो । पानी वर्षा गर्न क्षमतावान एक विज्ञ जानिफकार गुरु कामरुकामोक्ष असाममा रहेको मल्लराजालाई जानकारी भएछ । सो जानिफकारलाई लिन मल्ल राजाले दलबललाई आसामसम्म पठाए । उक्त विज्ञ जानिफकारलाई लिएर त्यो दलबल आइपुग्यो । तर, थानकोट आसपासमा सो व्यक्तिलाई ल्याइपुर्याउन मात्र के बाँकी थियो त्यो व्यक्तिलाई बुङमतीकी एक महिलाले अपहरणको शैलीमा कब्जामा लिई आफ्नो घरमा लुकाइछन् । विविध उपायबाट पनि उक्त महिलाको साथबाट सो व्यक्तिलाई छुटकारा दिलाउन नसक्दा गणेशको प्रतिमूर्ति स्थापना गरी कार्यसिद्धिको माग पूरा गराउने अठोटसाथ सो बुङमती कार्यविनायक गणेशको मन्दिर स्थापना भई आजसम्म पनि एलिनेटेड (विश्वासी) धार्मिक जनताहरूद्वारा पूजा– अर्चना भइरहेको छ ।
अहिले विग्रँदो नेपाली जनसंस्किृतलाई आजको विकसित मानव सोचअनुसार सम्बोधन गर्न आवश्यक भइसकेको छ । यसको अर्थ हो त्यसबेला महिला शक्तिशाली थिए । पुरुषलाई नियन्त्रणमा लिन सक्थे । सो शक्तिलाई जनहितकारी उपयोगी शक्तिमा परिवर्तित गरी पूज्यशक्ति तय गर्न गणेशलाई हारगुहार गरी सो स्थानमा अर्थात् कार्यसिद्धिको लागि कार्यविनायक गणेशको मूर्ति प्रतिस्थापन गरी मल्ल शासन कालदेखि पूजा–अर्चना हँुदै आएको छ । दोस्रो विषय हो आजकल युवतीहरू तथा महिलाहरूमाथि विविध खाले हिंसा र हत्या भइरहेका छन् । यो अवस्थामा महिलाको वास्तविक लुकेको क्षमता र शक्तिलाई उजागर गर्नु परेको छ । मनुस्मिृतिका विषयलाई यो समाजबाट हटाउनुपरेको छ । भन्नुको अर्थ महिलालाई पिताले, पतिले र छोराले मात्र रक्षा गर्न सक्छ भन्ने भनाईलाई पूर्ण रूपमा नेपाली समाजको मानसपटलबाट हटाउन जरुरी छ । यही बुङमतीका महिलाजस्तै शक्तिशाली पुरुष मच्छिन्द्रनाथलाईसमेत आफ्नो बनाई घरको बुइँगलमा आरामसाथ राख्नसक्ने क्षमता, बुद्धि र विवेक महिलामा अन्र्तनिहित रहेछ भन्ने कुरालाई सबैले बुझ्नुपर्छ । ती महिलाले राज्यलाई नै चुनौती दिएको कुरा त झनै रोचक छ । तत्कालीन राज्यले ती महिलाको प्रस्तावलाई स्वीकार गरेको देखिन्छ । तदनरूप नै ६ महिना बुङमतीमा मच्छिन्द्रनाथको बास, ६ महिना तत्कालीन सरकारको घरमा बास राख्ने चलन छ । बुङमतीर पाटन त:बहालमा मच्छिन्द्रलाई राख्ने प्रथा अहिले पनि जीवितै देखिन्छ ।
तर, हाल महिलाहरूको अवस्था दयनीय बन्दै गएको छ । हत्या, हिंसा, बलात्कार, शरीर बन्धक, यौन दुराचारको सिकार र यौन व्यापार गरेर महिलाले तुच्छ जीवन यापन गर्नु परेको छ । यो सब हुनुमा सामन्तवाद र दलाल पुँजीवादको करामत हो । यस विषयलाई दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ । राज्यसत्तालाई सोही अनुरूप निर्देश गर्नुपर्छ । तब मात्र महिलाहरूको स्थितिमा सुधार आई शरीर, श्रम र सम्पत्तिमाथिको उचित लोकतान्त्रिक अधिकार यो समाजमा स्थापित हुनसक्छ । यसरी नै हामीले हाम्रा धार्मिक सांस्कृतिक महत्त्वबाट ज्ञानगुनका कुरा प्राप्त गर्न सक्छौँ । सबै अगुवाहरूमा यस विषयमाथि चासो र भरोसा भने जाग्नैपर्छ ।
आज आएर पूर्वेली सभ्यताको धरोहरलाई नयाँ तरिकाले अध्ययन र लेखन कार्य गर्न पनि आवश्यक छ । किनभने उत्ताउलो जीवनविरोधी संस्कृतिले हाम्रो समाज अत्ति नै आक्रान्त बन्दै गइरहेको छ । यो अवस्थामा अब बचाउको निम्ति मठ, मन्दिर, गुम्बा, मस्जिद र पुराना ऐतिहासिक हाम्रा धार्मिक, सांस्कृतिक सम्पदाहरूलाई बचाउन आवश्यक भइसकेको छ । जुन गुरु योजनाका साथ अगाडि बढ्न आवश्यक छ । हाम्रा तत्कालीन पूर्वजहरूका दर्शन, विचार, आदर्श साथै व्यवहारिक आधारमा ती विषयवस्तुलाई सरंक्षण गर्नका लागि ठोस व्याख्याका साथ लेखनकार्य गर्न गराउन आवश्यक छ । कारण हाम्रो दर्शन शास्त्रले भौतिक र मानसिक जगत्लाई एकसाथ व्याख्या गरी तदनुरूप मानव समाजलाई उज्यालोतर्फ मार्ग दर्शनसमेत गरेको छ । पश्चिमा दर्शन शास्त्रले भौतिक जगत्को मात्र अथवा मानसिक क्षेत्रको मात्र व्याख्या र विश्लेषण गरी मानव समाजलाई एकलकाँटे ढंगले मार्गनिर्देश गर्न खोजिरहेको छ । त्यसैकारण पूर्वेली सभ्यताले मानव समाजमा उच्च कोटिको स्थान ओगटेको पाइन्छ । उता पाश्चात्य समाज आज आएर भौतिक रूपमा शिखरमा पुगे पनि मानवीय, आत्मीय र नैतिक धरातल अत्ति नै कमजोर भएको देखिन्छ । दर्शन चिन्तन परम्पराको सारगर्भिक तात्विक अन्तरको कारणले यसो हुन गएको हो । त्यसैले अबको दुनियाँमा पूर्वेली चिन्तन परम्परा र दर्शनलाई बचाउ कार्य मात्र गर्ने होइन कि अब यसलाई थप व्याख्या र विश्लेषणका साथ प्रचार प्रसारमा जोडबल पुर्याउनुपर्छ । यसका निम्ति यससम्बन्धी विद्वान् समूहले कम्मर कसेर लाग्नुपर्छ । यस अतिरिक्त राज्यले पनि यो कार्यको जिम्मेवारी बहन गर्नुपर्छ । यस विषयमाथि समयले चुनौती दिइसकेको देखिन्छ ।
बुङमतीको कार्यविनायक मन्दिर सरंक्षणका लागि स्थानीय जनता र जागरुक युवाहरू आज लागिपरेका छन् । जुन कार्य प्रशंसा योग्य छ । किनभने आजका मानवजाति तुच्छ उपभोगतावादी सस्ंकृतिबाट स्खलित भएजस्तै पहिरोले उक्त मन्दिर पनि पूर्ण रूपमा जोखिममा परिरहेको अवस्थामा छ । उक्त मन्दिरलाई पहिरो स्खलनबाट बचाउका लागि हाल तदारुकताकासाथ कार्य भइरहेको छ । वास्तुप्रेमी, कलाप्रेमी, संस्कृतीप्रेमी तथा धार्मिक व्यक्तिहरूको अरू थप सहयोगको खाँचो छ ।
प्रतिक्रिया