सिद्धान्तहीनता र राजनीतिक निराशा

Shyam-Adhikariसंविधानसभाबाट संविधान निर्माण हुन नसकेपछि, अझ २०६९ जेठ १४ मा संविधान नबनाई संविधानसभा विघटन भए पछि देशमा राजनीतिक निराशा चरमचुलीमा पुगेको छ । ०६३ मा भएको शान्ति सम्झौताले जनतामा एक खालको आशा पलाएको थियो । तर, त्यो पूरा भएन । राजनीतिक परिवर्तनका लागि कम्मर कसेर लागेका राजनीतिक पार्टी र तिनका नेताहरूबाट यसरी जनता निराश हुन थालेपछि स्वाभाविक रूपमा यसभन्दा अघिको व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक शक्तिले टाउको उठाउन खोज्नु स्वाभाविक हो । अहिले राजनीतिक निराशा यति व्याप्त छ कि यसबाट स्वयं परिवर्तनकारी शक्ति पनि अछुतो रहन सकेको छैन । यो निराशा विभिन्न शक्तिमा विभिन्न रूपमा प्रकट भइरहेको छ । परिवर्तनको अगुवाइ गरिरहेको माओवादीका अध्यक्ष प्रचण्डले क्रान्तिको काम आधामात्र सकिएको भनेर स्वीकार गर्नुले परिवर्तनप्रति आशामुखी रहेका जनतालाई निराशा बनाएको छ । अधुरो परिवर्तनबाट आम मुलुकबासी र मुलुक जति निराश छ त्योभन्दा बढी यसको असर परिवर्तनका लागि लडेको शक्ति माओवादीमाथि परेको छ । परिवर्तन अधुरो हुँदा बढेको निराशाले आज माओवादी विखण्डित बनेको छ । बलिदान र क्रान्तिमा अदम्य साहस प्रदर्शन गरेको पार्टी छिन्नभिन्न भयो । समाज बदल्न भनेर बन्दुक बोकेर लडेका तिनका लडाकुहरू पनि निराश बने ।
माओवादीमा आएको यो विचलन र विखण्डन स्वयं माओवादीका लागि मात्र नभई सिंगो समाज र राष्ट्रका लागि पनि घातक सिद्ध भइरहेको छ । किनभने देशको वर्तमान राजनीतिक संरचनाको नेतृत्व माओवादीकै अगुवाइमा भइरहेको छ । अगुवा नै कमजोर भएपछि देश र जनता कमजोर हुनु स्वाभाविक हो । यस अर्थमा माओवादीले यो निराशा र विखण्डन आफ्नो मात्र ठानेर पन्छिन पाउँदैन । बरु देशको भविष्यसँग गाँसिएको सवाल ठानेर दण्ड र पुरस्कारको दायित्वबोधका साथ समस्या समाधान गर्नुपर्छ । हिजो जनताबीच एउटा वाचा गरेर १५ हजार मानिसको बलिदान भई चलिरहेको शासन व्यवस्थालाई कमजोर पारिसकेपछि त्यसमा सहभागी नेता र कार्यकर्ताहरू विभिन्न बहानामा पानीमाथिको ओभानो बन्दै दायित्वबाट पन्छेर भाग्ने प्रवृत्ति र लहर अहिले चलिरहेको छ । संस्थापन र विद्रोही पक्ष भन्दै एउटाले अर्कोलाई कमजोरीको जिम्मेवार ठहर्‍याएर जिम्मेवारीबाट भाग्न माओवादी नेताहरू नयाँनयाँ पार्टी पनि खोल्दै गइरहेका छन् । तर, यसको कुपरिणाम जनता र राष्ट्रले भोग्ने र त्यो कुपरिणामको अंश आफूहरूको भागमा पनि पर्ने कुरातिर विपक्षीहरूको ध्यान गएको देखिँदैन । देशलाई अहिलेको स्थितिमा अर्थात् आधा बाटोमा ल्याइपुर्‍याउनमा माओवादीका नेताहरूदी को–को जिम्मेवार हुन् भनेर हिसाब खोज्दै जाँदा प्रचण्ड र बाबुरामको मात्र नाम आउँदैन कामरेड किरण, कामरेड बादल , कामरेड मातृका, कामरेड मणि, एमालेमा पसेका कामरेड मल्लको पनि नाम त आउँछ नै । मन्त्री हुनमा उहाँहरू अघिपछि जे भए पनि भोलि यो संरचना असफल भएर प्रतिक्रान्ति हुने अवस्थामा वा पुनरुत्थानवादीहरू अगाडि आएमा यो संरचना ल्याउन जिम्मेवार कुनै कामरेड छुट्ने प्रश्नै आउँदैन । कांग्रेस र एमालेलगायतको पालो पनि यथास्थान आउने नै छ ।
जुनसुकै कारणले होस्, परिवर्तन अधुरो रहेको सत्य हो । यसमा सत्ताभित्रका कमजोरी र देशबाहिर र देशभित्रकै परिवर्तनविरोधी शक्तिहरूको चलखेल दुवै थरीको भूमिका कम देखिँदैन । यसले गर्दा परिवर्तनकामी शक्तिहरू निराश र शिथिल भए । स्वाभाविक रूपमा यस्तो अवस्थामा प्रतिगामी, पुनरुत्थानवादीहरू अगाडि आउन थाले, जनतालाई सत्ताधारीहरूका कमजोरी देखाएर आफू बलियो हँुदै गए । अहिले मुखर पनि हुन थालेका छन् । केही पार्टीका केही नेता अहिले लोकतन्त्र शिशु अवस्थामै रहेका बेला पनि सत्ताका लागि गैरलोकतन्त्रवादीहरूको उपयोग गरेर राजनीतिक खेल खेल्ने सोख प्रदर्शन गरिरहेका छन् । नेपालको राजनीतिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेलिरहेको माओवादीले परिवर्तनले जटिल रूप लिन थालेपछि कार्यनीतिलाई नागबेली गतिमा अगाडि बढाउन त सिक्यो । तर, नागबेली गतिमा हिँड्दा आइपर्न सक्ने परिस्थितिको राम्रोसँग आँकलन गरेको भने पाइएन । पहिले नै आँकलन गर्नुपर्ने कतिपय विषयमा ध्यान पुगेन नै । अहिले तिनै कारणले पार्टीमा विखण्डन आउँदा पनि नेताहरूले असलमा गल्ती कहाँ भएको थियो भनेर व्याख्या, विश्लेषण र पुनरावलोकन गर्न सकेका छैनन् । यतिबेला पार्टीहरू विगतको समीक्षा त गरिरहेका छन् तर अहिले देशमा देखापरिरहेको निराशा र सिद्धान्तहीनताको जड र त्यसको निराकरणका उपायबारे कत्तिको वैज्ञानिक र गम्भीर ढंगले प्रस्तुत भएका छन् भन्ने कुरा स्पष्ट छैन । किनभने सबै क्रान्तिकारीदेखि लोकतन्त्रवादीसम्म यतिबेला निराशावाद र सिद्धान्तहीनताको चपेटामा परेका छन् । यसको चपेटामा परेपछि नेताहरू पथभ्रष्ट पनि हुन्छन् । पथभ्रष्ट भइसकेको व्यक्ति बिरलै आत्मालोचित बनेर सुमार्गमा फर्कने गर्छ ।
माओवादीका सन्र्दभमा निराशा र सिद्धान्तहीनता विभिन्न रूपमा प्रकट भइरहेका छन् । नेता र कार्यकर्तामा बलिदानी भावना हराउँदै जानु, सहरमुखी सुविधाभोगी प्रवृत्ति देखापर्नु, भ्रष्टाचार र अपराध मार्गमा कार्यकर्ताको संलग्नता देखिनु, एकापसमा भाइचाराको भावना हराएर जानु, नेता र कमान्डरहरूलाई कार्यकर्ताले अविश्वास र आलोचनात्मक अभिव्यक्ति प्रकट गर्नु, नेतृत्व वर्गबाट तल्लो तहका पार्टी कार्यकर्तासँग सम्पर्क र सहयोग लिन कम गर्दै लानु, पार्टीभन्दा बाहिरबाटै समस्या समाधानका उपाय अपनाउन बल गर्ने, जनबलभन्दा षड्यन्त्रलाई महत्त्व दिने, पार्टी कार्यकर्ताको भावनाविपरीत नेताहरूले काम गर्ने प्रवृत्ति बढ्नु, पार्टीका पदीय मर्यादा उल्लंघन गर्दा त्यस्ता अनुशासनहीन कार्यकर्ताले आफूलाई पार्टीकै नेता सरह ठान्ने र पार्टी फुटाउँदा ठूलै काम गरेको छु भनेर खुलेआम ढिडोरा पिट्नु, नेताहरूले विद्रोही भावनाका कार्यकर्ताको भवनाको कदर गर्नुको साटो उनीहरूभन्दा आफूलाई श्रेष्ठ ठानेर छलफल गर्दा पनि इज्जत गएको ठान्नु, आफ्ना हितका कार्यनीतिहरूलाई विपक्षी गैरक्रान्तिकारीहरूको स्याबासी पाइन्छ पाइँदैन भनेर सही—गलत मूल्यांकनको आधार बनाउनु दु:ख गर्न नरुचाउनु र विलासी जीवनलाई यथार्थवादको संज्ञा दिनु, जस्ता कार्य माओवादीमा भइरहेका छन् । त्यति मात्र होइन भूमिगत र अवैध राजनीतिक जीवनबाट एका एक खुला राजनीतिमा आए पछि आत्मप्रचार ठूलठूला सिद्धान्तका गफ छााटेर प्रचार मोह प्रदर्शन गर्नु, बिना कार्ययोजना नै सरकारमा जान बेहिचकिचाहट हतारिनु र आत्तिएर सरकारको लत्तो छाडिदिनु, विपक्षीसँगको इगोका कारण सरकारमा बस्ने या छाड्ने निर्णय गर्नु, टेलिभिजन र पत्रपत्रिकामा आफ्नो अनुहार देखाएर प्रचार पाउन हुरुक्क हुनु र तिनले प्रचार गरिदिएपछि आफूलाई ठूलै राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व ठानेर अरूलाई सानो देख्दै मिनिमाइज गर्नु पनि वास्तवमा सिद्धान्तहीन र निराश राजनीतिका लक्षण हुन् ।
सिद्धान्तहीनता र निराश राजनीतिकै परिणामस्वरूप माओवादीमा जनयुद्धताका देखा पर्ने गरेको आपसी भाइचारा, बलिदानी भावना, सबैको समान उच्च लक्ष, सेवाभाव र राष्ट्रिय एकता र समानताका जुन उच्च आदर्श थिए । ती आज शिला खोज्नुपर्ने अवस्थामा पुगिसकेका छन् । जो धनी धूर्त र स्वार्थी छ त्यो माओवादी हुन्छ भन्ने पहिचान बन्न थालिसकेको छ । निश्चय नै जनयुद्ध कालमा माओवादीहरूले क्रूरता, अल्पज्ञान र शंकालुप्रवृत्तिका कारण केही बढी नै बदनामी कमाए । अमानवीय काम पनि गरे र ती अवगुणहरू खुलापनमा हराउँदै गएका पनि छन् । चिनियाँ क्रान्तिको तुलनामा माओवादीहरूले त्यति दु:ख खेपेको पनि होइन । तर, नेपालमा सामाजिक उथलपुथलबाट हजारौं वर्षदेखि जमेको काइलाई पुछ्नुको बदला आफूलाई क्रान्तिकारी भन्ने एमालेले समेत काइ लाउने काम गरिरहेका बेला धेरै कमी कमजोरीका बाबजुद नेपाली जनताले माओवादीबाट धेरै आशा गरेका थिए । जुन अहिले तिनको विचलनको राजनीतिबाट निराश नै हुनु परेको छ ।

प्रतिक्रिया