भारत –पाकिस्तान सम्बन्धसूत्रको प्रभाव

Rohit-Dahalभारतीय राजनीति र प्रशासनिक प्रभावबाट नेपाली राजनीति मुक्त हुन सकेको छैन । नेपालमा संक्रमण बढिरहनुको कारण पनि भारतीय संस्थापनको स्वार्थ नै हो । यस्तै, भारत र पाकिस्तानबीचको सम्बन्ध पनि निकै जटिल अवस्थामा छ । दक्षिण एसियाली स्वतन्त्र पत्रकार समूह (साºमा)को आठौँ सम्मेलनको सन्दर्भमा भारतको पन्जाव राज्यको अमृतसरमा पुग्दा यसको छनक मिलेको थियो । दुई देशबीच उही पुरानै मुद्दाका असामान्य अवस्थासम्म सम्बन्ध तानिएको थियो । साºमाको उक्त सम्मेलनको उद्घाटन भारतमा र समापन पाकिस्तानमा हुने पूर्वनिर्धारित कार्यक्रम थियो । यो कार्यक्रमको लक्ष्य दुवै मुलुकमा बढेको ‘डोमिनेसन’ सम्बन्धलाई खुला बनाउनु नै थियो । कार्यक्रमको उद्घाटनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउने भनिए पनि त्यसो हुन सकेन । साºमाको सम्मेलन उद्घाटन भारतका राष्ट्रपति र समापन पाकिस्तानी राष्ट्रपतिले गर्ने भनी गरिएको प्रचारप्रति त्यति विश्वास लागिरहेको थिएन । र, भयो पनि त्यस्तै । सम्मेलनको उद्घाटन भारतीय विदेशमन्त्री सलमान खुर्सिदले गरे भने समापन पाकिस्तानी प्रधानमन्त्री रजा परवेज असरफले गरे । यसरी हेर्दा साºमा सम्मेलनलाई पाकिस्तानले बढी महत्त्व दिएको देखियो जुन अस्वाभाविक पनि थिएन ।
भारतको उद्घाटनस्थलमा जति पाकिस्तानी पत्रकारहरूको उपस्थिति थियो, त्यति भारतीय पत्रकारको थिएन । करिब एक सय पाकिस्तानी पत्रकार वागा बोर्डर हुँदै अमृतसर पुगेका थिए । यसले पनि भारतीय नागरिकदेखि सरकारसम्मले पाकिस्तानी उपस्थित कार्यक्रमलाई कति कम महत्त्व दिन्छ भन्ने अनुमान गर्न गाह्रो परेन । यद्यपि, कार्यक्रमको नयाँ आयाममा प्रवेश गरिएको थियो । उद्घाटन भारतमा गरी त्यहाँको लन्च लिएर डिनर पाकिस्तानमा गर्ने यो अनौठो अवसर पनि थियो । ‘ओपनिङ माइन्ड, ओपनिङ बोर्डर’ भन्ने सम्मेलनको नाराले पनि यही सन्देश दिइरहेको थियो । यी नारा हाम्रा लागि भन्दा पनि दक्षिण एसियाका शक्तिराष्ट्र भारत र पाकिस्तानतिरै लक्षित थिए । कार्यक्रम कसरी सकिएला भन्ने विचरणमा व्यस्त भइरहेका बेला हाम्रो यात्रा लाहोरका लागि तय भएको थियो । कुरा स्पष्ट थियो, अमृतसरमा लन्च खाएका हामी डिनर लिन लाहोर पुग्नु नै थियो । फेरि विश्वकै करिब–करिब तनावपूर्ण मानिने वागा बोर्डर काटेर लाहोर पुग्नु पनि कम रोमान्चक थिएन । सरासर जाँदा बढीमा ४५ मिनेट लाग्ने लाहोरको पिसी होटल पुग्न चार घन्टा लाग्यो । तैपनि, वागा बोर्डरमा भारतीय सेनाको बिदाइ र पाकिस्तानी सेनाको स्वागत खान पाएका हामीलाई चार घन्टा पनि चाँडैजस्तो लाग्यो । प्रेस स्वतन्त्रतामा अनुदार मानिने पाकिस्तानका लागि भारतसहित दक्षिण एसियाका करिब साढे दुई सय क्रियाशील पत्रकारलाई स्वागत गरेर त्यस्ता भनाइको खण्डन गर्ने अवसर पनि थियो ।
साºमाको अध्यक्ष भारतलाई जिम्मा लगाएर निर्मला शर्माले नेतृत्व गरेको हाम्रो टोली कराँची जाने तयारीमा रहिरहँदा त्यहाँ भएको विशाल विस्फोटका खबरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रंगिए । थोरै डर र धेरै पुग्ने इच्छाले सताइरहेको थियो । १० वर्षसम्म यस्ता विस्फोट र हिंसाको मुलुकमा पत्रकारिता गरेको मानिसका लागि खासै ठूलो विषय थिएन । तर, शान्तिप्रक्रियाताकाको यात्राले पाकिस्तान र भारतको विवाद अथवा पाकिस्तानको आन्तरिक अवस्थाले चाहिँ थोरै कतै घोचेजस्तो महसुस हुन्थ्यो । हुन त दक्षिण एसियामा भारत सर्वशक्तिमान राष्ट्र हो । अनि, उसलाई त्यही हैसियतमा चुनौती र अवसरका रूपमा बारम्बार विवादको चुलीमा उभ्याउने अथवा टकराव गर्ने मुलुक पाकिस्तान नै हो । भ्रमण चलिरहँदा पनि विवादित कास्मिर क्षेत्रमा दुवै सेना लडिरहेका थिए र साºमाको कार्यक्रममा दुवै देशका पत्रकारको सहभागिता थियो । एकातिर गोलीको युद्ध चलिरहेका बखत अर्कातिर कलमको प्रेम साट्ने बेहद खुसीको मौकामा नेपाली टोलीमा थिएँ म पनि । यो एउटा सम्मेलन मात्र थिएन, केही परराष्ट्र सम्बन्धका विविधताबारे अध्ययन गर्ने अवसरका रूपमा खुलेको कार्यक्रममा बस्ने अवसर पनि थियो । यस कार्यक्रमको मूल नाराको लक्ष्य पनि दुवै मुलुकको शान्तिवार्ता र भाइचाराको सम्बन्धका लागि अपिल गरिरहेको थियो ।
दक्षिण एसियाली मुलुकका सम्बन्धका चर्चाका आधार भिन्न हुन सक्छन् । पाकिस्तानबाहेक भारतले दक्षिण एसियाको केन्द्रीय राजनीतिमा सदैव हस्तक्षेपकारी भूमिकालाई प्रभावकारी रूपमा कायम राखेको छ । उसले पाकिस्तानलाई पनि ‘डोमिनेसन’को नजिरमा राख्न कैयौँ प्रयत्न कायम राखेको छ । आजका दिनमा पनि भारतको उक्त नियत विभिन्न कारणबाट प्रस्टिन्छ । यद्यपि, अन्य मुलुकभन्दा भारत–पाकिस्तानको ऐतिहासिक सम्बन्ध र उतार–चढावका कहानी दुई मुलुकको सम्बन्धको एउटा पाटो हुन सक्छ । भारत र पाकिस्तानको सम्बन्ध सधैँ राजनीतिक मुद्दाका कारणले तनावमा देखिन्छ । यो सम्बन्धको मुख्य कारणचाहिँ दुई देश विभाजनदेखि नै कायम छ । कास्मिर विवाद आज–भोलि पनि दुवै मुलुकका लागि खास मुद्दा बनेको देखिन्छ । अहिले पनि यही मुद्दामा दुई मुलुकबीच सैनिक कारबाही भइरहेको छ । यी देशमा तनाव कायम छ जब कि दुवै मुलुकको इतिहास, सभ्यता, भूगोल र अर्थव्यवस्था अहिले पनि जोडिएका छन् । २००९ मा पाकिस्तानी राष्ट्रपति असिफ अली जरदारीको भारत भ्रमणताका भारतका प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले उठाएको एउटा प्रश्नले सबैलाई अचम्मित बनाएको थियो । कहिले कडा भाषामा नबोल्ने सिंहले पाकिस्तानी भूमि आतंकवादीले प्रयोग गरिरहेको आरोप प्रस्टसँग लगाएका थिए । उनले सार्वजनिक रूपमा आतंकवादीका लागि पाकिस्तानको भूमि प्रयोग गर्न नदिन जरदारीलाई सचेत तुल्याएका थिए । सिंहको उक्त टिप्पणीले पाकिस्तानी राष्ट्रपतिको टोलीमा सन्नाटा छाएको थियो ।
यसबीचमा भारत–पाकिस्तान सम्बन्ध सुध्रिने संकेत सबैले गरेका थिए । भारतको पन्जावबाट पाकिस्तानका लागि विद्युत्को माग भएपछि दुवै मुलुकको आर्थिक सम्बन्ध सामान्यीकरण हुँदा सम्बन्धमा सुधार आउने संकेतचाहिँ मिलेको थियो । केही भारतीय राजनीतिक विश्लेषकले पाकिस्तानको उक्त प्रस्तावबारे विभिन्न माध्यमबाट राय पनि दिएका थिए । उनीहरूले प्रश्न पनि गरेका थिए कि पाकिस्तान किन सम्बन्धलाई सामान्य बनाउन चाहन्छ ? किन भारतलाई निकै नजिकको मुलुकका रूपमा पाकिस्तानले मान्न खोजिरहेको छ ? यस्ता प्रश्न पनि उठेका थिए । दक्षिण एसियामा हरप्रकारले भारतसँग टकरावको सम्बन्ध राख्ने पाकिस्तान नरम भएर भारतसँग सम्बन्ध गाँस्न चाहनुको कारणबारे विश्लेषकहरूले यस्ता कैयन प्रश्न उठाएका थिए । पाकिस्तान र अमेरिकाको सम्बन्ध पछिल्ला दिनमा बिग्रँदै गएको हवाला दिँदै भारतसँगको सम्बन्ध विस्तारपछि अमेरिकी दृष्टि पाकिस्तानका लागि सरल बन्ने अनुमान विश्लेषकहरूले गरे । त्यति मात्र होइन, अमेरिका पाकिस्तानका लागि सहयोगी थिएन र अफगानिस्तानसँग जोडिएको सीमा पाकिस्तानका लागि समस्याका रूपमा पनि देखा परेको थियो भन्ने अनुमान गरिएको थियो । यस्ता अनुमानबीच साºमाको सम्मेलन पनि भिन्न तरिकाले गरेका कारण यसले केही सकारात्मक सन्देश दिने आशा गरिएको थियो ।
तेस्रो मुलुकबाट पुगेका पत्रकारका लागि अखबारमा पढेको सम्बन्धको अवस्था र प्रत्यक्ष देखिएको भारत–पाकिस्तानको अवस्था केही उत्साहमय भएको थियो । अनुभव नयाँ बनेको थियो । ‘शान्तियात्राका लागि दुवै मुलुकको आन्तरिक समस्यालाई सुल्झाएर परराष्ट्र सम्बन्धमा नजिकिनु आवश्यक देखिन्छ । त्यसको सहजीकरणको वातावरण पत्रकारहरूको अन्तर्राष्ट्रिय कार्यक्रमजस्ताले पूरा हुन सक्छ । लाहोर घोषणापत्रले दक्षिण एसियाली पत्रकार समूहको भूमिकामा उक्त मुलुकका अमिला सम्बन्धलाई गुलियो बनाउनेतिर कसरी ध्यान खिच्न सक्ला ? अथवा कसरी सहजीकरण हुन सक्ला भन्ने विषयमा सोच्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया