एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पोखरामा दिएको अभिव्यक्ति उहाँको चरित्रअनुरूपकै छ । यसर्थ उहाँको अभिव्यक्ति टिप्पणी गर्नलायककै छैन भन्दा पनि हुन्छ । प्रचण्डको भनाइ र गराइमा एकरूपता कहिल्यै देखिएन । जहिले पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिने उहाँको पुरानै प्रवृत्ति हो । एउटा कुरा बोल्ने र एकछिनमै अर्को अभिव्यक्ति दिएर त्यसको खण्डन गरिहाल्ने उहाँको पुरानै रोग हो । विगतका सबै सहमति च्यतिन सक्छन् भनेर प्रचण्डले दिएको अभिव्यक्तिलाई मैले उहाँको स्वभाव र चरित्रको निरन्तरताकै रूपमा लिएको छु । यसमा कुनै आश्चर्य मान्नुपर्ने केही छैन । यसलाई गम्भीर रूपमा लिनु उचित ठान्दिनँ । एक ठाउँमा एउटा कुरा बोलिसकेपछि अर्को ठाउँमा गएर मेरो भनाइको आशय त्यस्तो होइन भनेर आºनै अभिव्यक्तिविपरीत हुनेगरी त्यसको खण्डन गरिहाल्ने उहाँको स्वभाव नै हो । मैले अर्कै प्रसंगमा बोलेको कुरालाई सञ्चारमाध्यमले तोडमोड गरेर बंग्याइदिएको भनेर खण्डन गर्ने चरित्र उहाँमा छ । विगतमा उहाँले धेरैपटक यस्ता अभिव्यक्ति दिइसक्नुभएको छ र त्यसलाई क्षणभरमै खण्डन पनि गरिसक्नुभएको छ । मानौँ कि प्रचण्डको चरित्र कहिले पनि स्थिर रहन सकेन । यद्यपि, प्रचण्डले विगतमा दलहरूबीच गरिएका सम्झौता र समझदारी च्यतिने भनेर दिएको अभिव्यक्ति बडो गम्भीर र आपत्तिजनक छ ।
प्रतिक्रिया