वल्लभ– हरि, तिमीलाई मैले चिनेको अहिले होइन, दुई–तीन दशक बितिसकेका छन् । पहिलो चिनारी व्यक्तिगत नभए तापनि आसामबाट उडेर आएर दार्जिलिङमा पुगेको थियो र, त्यो चिनारी काव्यात्मक थियो । तिमीलाई याद छ भने यस बेलासम्म हिँडिसकेका दशकबारे आफ्नो मन्तव्य
भनिदेऊ न ।
कटुवाल– साँचो अर्थमा मैले मेरो जिन्दगी यही काव्यताप्रति नै समर्पित गरेँ । तिमीलाई थाहा छ वल्लभ, साहित्य क्षेत्रमा आसाम धेरै पछि परेको छ यद्यपि आसममा हाम्रा मानिसहरूको संख्या ठूलो छ । मलाई एक प्रकारको छटपटी हुन्थ्यो, कसरी आसममा नेपाली भाषा साहित्यको राम्रो जग बसाउँ भनेर । त्यसैले सायद केही सिक्ने, केही बुझ्ने आग्रहले बेलाबेलामा म दार्जिलिङ पुग्थेँ, काठमाडौं आउँथेँ र फर्केर आसाममा गई केही गर्ने जमर्को गर्थें । हो, हाम्रो पहिलो भेट दार्जिलिङमा नै भएको हो । हामीले आफ्ना विचारहरू साटासाट गर्यौँ । हामीभित्रको त्यो काव्यतालाई हामीले मर्न दिएका छैनौँ । यो दुई तीन दशकभित्रमा नेपाली साहित्य जगत्मा निकै आन्दोलनहरू भए । जस्तो भन, तिमीहरूकै आयामेली आन्दोलन, मञ्जुलहरूको राल्फाली आन्दोलन, कवितारामहरूको अस्वीकृत जमात, सुरु भएर नफस्टाई त्यत्तिकै हराएको अमलेख जमात आदिआदि । कसैले भन्ला– यी आन्दोलनको उपलब्धि के त ? म भन्छु, उपलब्धि धेरै छ । यसले हाम्रा जिजीविषाहरू बढ्दै गए । लेखनशैलीमा विषयवस्तुमा नवीनता आयो ।
वल्लभ– म एकजना साह्रै सशक्त कविलाई अझै सम्झन्छु उनी थिए, दार्जिलिङका र सम्पूर्ण प्रवासका कवि अगमसिंह गिरी । अगमसिंह गिरी आफ्नो काव्य चैतन्यमा नेपाली सोच्थे । नेपाली जाति सोच्थे । तर हरि, तिमी पनि त्यत्तिकै सशक्तताको कवि हौ । तर, तिमीले लाक्षणिक रूपमा जहिले पनि जाति सोच्यौ । अगमले प्रष्टतया भाषाको अभिव्यक्तिमा जाति सोचे । तर, मलाई कस्तो लाग्दछ भने त्यो प्रष्टताभन्दा तिम्रो कलात्मक लाक्षणिकता ठूलो लाग्छ । तिमीलाई भन्नु केही छ ?
कटुवाल– वल्लभ, मैले सधैँ अगमलाई आफूभन्दा माथि राखेर आएको छु । जो लेख्छ, तिमीहरू मलाई मन पर्छन् । म श्रद्धा गर्दछु । आमालाई सधँै मैले श्रद्धा गरेँ । नढाँटी भन्ने हो भने वल्लभ– ‘भारती’, ‘गोर्खा’ आदि पत्रपत्रिकामा छापिने गरेका गिरीका कविताले मलाई काव्यक्षेत्रमा ठूलो प्रेरणा दिएको छ । नेपाली साहित्यमा मेरो प्रवेश ढिलो भयो । सुरुसुरुमा मैले असमिया भाषामा कथा, कविता, निबन्ध आदि लेख्ने गरँे । पछि अघिल्लो प्रश्नको उत्तरमा भनेभैँm आसामका नेपाली साहित्यिक दुर्दशा हेरेर बस्न सकिनँ । म ओर्लें । म जब ओर्लन्छु, आफूलाई सम्पूर्ण समर्पित गरेर ओर्लन्छु । अगमले नेपाललाई, नेपालीलाई जति माया गरे, त्यति माया अभैँm मैले गर्न सकेको छैन । उनका पंक्तिपंक्तिमा नेपाली प्रेमको प्रतिच्छवि हुन्थ्यो । उनी मोहब्बत गल्लीको तामाङ कुल्लीलाई देखेर द्रवित हुन्थे । भन्थे– पहाडी फूल सधँै काँडामै हाँसेको हुन्छ । म मेरो कलात्मक लाक्षणिकतालाई कसरी ठूलो भनुँ वल्लभ, मलाई त तिमी मन पर्छौ । तिम्रो कलात्मक लाक्षणिकता मन पर्छ । त्यस्तै अरू धेरै–धेरैको । हामी कसले के लेख्छौँ, हाम्रो सिद्धान्त के हो, त्यो व्यक्ति–व्यक्तिमा भर पर्छ । तर, हामी लेख्छौँ, हाम्रो लेखिरहनु हामीलाई सधैँ सजग राख्ने हाम्रो बानी हो ।
वल्लभ– यार, मलाई अब एउटा कुरा, एउटा कुरा के धेरै कुरा हरिलाई सोध्न मन लाग्छ । यी पन्नाहरूमा अट्दैनन् । तर, एउटा अझै सोध्छु, तिमी आसामको गल्लीगल्लीमा, गाउँगाउँमा जतासुकै जति परिचित छौ त्यसको उपलब्धि अगमले पाएको थिएन । तिमी अगमलाई त्यसरी सम्झन्छौ । मैले कविताको कुरा गरेको, मैले भावुकताको कुरा गरेको होइन । तिमीलाई केही भन्नु छ ?
कटुवाल– वल्लभ, तिमी आसाम गएका छौ । तिमीले त्यहाँ देख्यौ हौला, त्यहाँ म एकैचोटि कवि थिएँ, नाटककार थिएँ, राजनीतिक नेता थिएँ, सामाजिक कार्यकर्ता थिएँ र एउटा किसान पनि । मैले त्यहाँ प्रतिष्ठा खोजिनँ, जे गरेँ, जति गरेँ, त्यसमा मेरो कुनै घमण्ड थिएन । बनिरहेको बाटोमा हिँड्नु एउटा कुरा र बाटो बनाउँदै हिँड्नु अर्कै कुरा । सायद त्यसैले अगमसिंह गिरीले दार्जिलिङमा त्यो स्नेह पाएनन् जुन स्नेह मैले आसाममा गल्लीगल्लीमा पाएँ । म अगमलाई मात्र त्यसरी श्रद्धा गर्दिनँ, भर्खरै नेपाली साहित्यमा देखापरेका किशोर, कणाद, विमल, अशेषहरूलाई पनि उस्तै श्रद्धा गर्दछु । किनभने
उनीहरू लेख्छन् ।
वल्लभ– एउटा कुरा म भनुँ, तिमीलाई मैले एक दिन मञ्चमा कविता पढिरहेको सुनेको थिएँ, तिमीले त्यो कविता पढेको अलिअलि सम्झना छ । सायद तिम्रै किताबको शीर्षक पर्यो होला ‘यो जिन्दगी खै के जिन्दगी’ त्यस कवितामा तिमी अलिकति निराश थियौ । तर, अहिले नेपालमा तिमी छौ । यो निराशा अझै पनि तिमीसँग किन छ ?
कटुवाल– सायद यस प्रश्नमा मैले भद्रपुरको मञ्चमा कविता पढेको कुरा भन्न खोज्यौ होला, होइन ? वल्लभ, मानिसको जिन्दगीमा हाँसो पनि छ र आँसु पनि छ । जिन्दगी जिउने क्रममा जब म निराश भएँ, निराशाकै कविता लेखँे । जब आनन्दले उद्वेलित भएँ, हर्षका गीत गाएँ । म आँसु लुकाएर हाँसोको कथा कसरी लेखूँ ? टन्न गरम कपडा लगाएर, ठूलाठूला होटेलमा कफी र ड्रिंक्स खाएर ‘जाडो लाग्यो पाँच पैसा’ भन्ने बालकोको कविता मलाई लेख्न मन लाग्दैन । काठमाडौंका पेटीमा देखिने ती बालकहरूको भोगाइ, जाडो र भोकलाई उसबारे कविता लेख्नु छ भने मैले आत्मसात गर्नुपर्छ तिनीहरूसँग । निराश को छैन वल्लभ, यो नेपालमा, देखावटी उल्लासले के गर्छ ? हाम्रो देशको स्थिति तिमीलाई थाहा नै छ । छिमेकी राष्ट्रबाट दुई दिन मट्टीतेल आइदिएन भने यहाँ लाखौं अनुहार निराश हुन्छन् । आशावादी म पनि छु वल्लभ । यी असंख्य निराश व्यक्तिहरूको पंक्तिबाट आफूलाई अलग राख्न नसकेरै सायद म निराश छु ।
वल्लभ– तिम्रो कविता मैले पढेको छु । कुनै कवितामा तिमीले भनेका छौ सायद बिर्सिए हुँला अहिले तैपनि मलाई सम्झना छ, मट्टीतेलको टिनभित्र मट्टीतेल भएर नेपालीको लागि तिमीले
पस्न कोसिस गरेका छौ । नेपाली दु:खलाई यसरी आत्मसात गर्ने कोसिस किन गर्यौ ?
कटुवाल– म आसाममा जन्मेँ, आसाममै पढेँ, बढेँ तर कताकता त्यहाँका नेपालीको जनजीवन देख्दा मन पिरोलिन्थ्यो । अगमजस्तै मैले पनि नेपाल र नेपालीलाई धेरै माया गरेको छु । उनीहरूका प्रत्येक समस्याले मलाई नराम्रोसँग घच्घच्याएका छन् । सत्ताईस सालको कुरा हो, काठमाडौंमा मट्टीतेलको हाहाकार थियो । म के देख्छु भने मध्यदिनमै हातमा मट्टीतेलको टिन झुन्ड्याएर निस्केको मेरो घरबेटी साहू बेलुका रित्तो टिन हल्लाउँदै घर फर्किरहेन्थ्यो । त्यस रात उसको घरमा भात पाकेन । त्यसैले मलाई लाग्यो, मेरो कविताले मट्टीतेलका समस्यासम्म समाधान गर्न सकेन । त्यसैले मलाई लाग्यो, म कवि नभएर मट्टीतेल भइदिएको भए त्यस रात त्यो भोकै बस्नुपर्ने परिवारको निकै काम लाग्थ्यो । त्यसैले मलाई हरेक नेपालीको पीडालाई आत्मसात गर्न मन लाग्छ ।
वल्लभ– मैले कताकता पढेको छु, मैले कता सुनेको छु, मेरा नेपालीहरूले भिक्टोरिया क्रस पाए रे, कसको लागि ? मेरो नेपालको लागि ? मैले सुनेको छु, मेरा नेपालीहरूले कहाँ–कहाँ बहादुरी गरे रे ? यो कसको लागि ? नेपालको लागि ? आसामको लागि ? दार्जिलिङको लागि ? तिमीलाई कस्तो लाग्छ, हामी सबै यस्तैको लागि ?
कटुवाल– नेपालीहरूले भिक्टोरिया क्रस पाए, अझ भनौँ अशोध चक्र, परमवीर चक्र पाए । न ती नेपालका लागि थिए, न दार्जिलिङ र आसामका लागि थिए । थिए भने नेपालीको गरिबी र बाध्यताका लागि । नेपालीहरू गरिब छन्, त्यसैले उनीहरू विदेशी फौजमा भर्ती भई विदेशीकै लागि लडे, तक्मा पाए, बहादुरी देखाए । नभए के गरून् त ? घरमा स्वास्नीलाई आङ ढाक्ने एकजोर लुगा हालिदिने हुती थिएन । त्यसैले उनीहरू मर्न डराएनन्, विदेशी फौजमा गएर केही कमाएर ल्याउँ र आफ्नो गरिबीबाट मुक्ति पाउँm भनेर त्यता गए । स्वभावले नै नेपाली जाति आत्माभिमानी हो । तर, बाध्यताहरूको अघिल्तिर आत्माभिमान कतिन्जेल टिक्छ र ?
वल्लभ– मेरो देशका कसैसित सन्धिहरू पनि छन् रे । मेरो देशको सन्धिहरूभित्र हामी सबै कमजोर छौँ रे, किन हामी अपमानित भएर पनि यो कुरा मान्छौँ । हरि, त्यस सन्धिमा न ईश्वरवल्लभ सामेल छ न कवि हरिभक्त कटुवाल सामेल छ । यसलाई परिवर्तित गर्न हामी सक्छौँ कि सक्दैनौँ ? हाम्रो गरिबी छ, हाम्रोजस्तो गरिब देश अरू पनि छन्, यहाँ नाम लिँदा लामो सूची बन्छ । सबैलाई थाहा छ, के तिनीहरू पनि हामीजस्तै बाध्य छन् ?
कटुवाल– हेर वल्लभ, हाम्रो देशले जोसँग सीमा सन्धि गर्यो, तिमीहरू त्यहाँ अहिले छैनन् । अहिले त्यहाँ जुन व्यवस्था छ, त्यससँग हामीले त्यस्तो कुनै सन्धि गरेको कुरा हामीलाई थाहा छैन । मैले माथि नै भनेँ, गरिबी नेपालीको बाध्यता हो । हो, गरिब राष्ट्र धेरै छन् तर ती राष्ट्रहरूको विकासका लागि मरिमेट्ने सरकार छ, नेता छन् । ती राष्ट्रका जनता आफैँलाई उत्सर्ग गर्न तयार छन् । तर, हाम्रो राष्ट्रमा त्यस्ता के–कति छन् वल्लभ ? मलाई यहाँनिर कवि शिरोमणिका दुई पंक्ति कविता सम्झना हुन्छ :
‘मै खाउँm, मै लाऊँ, सुख सयल वा मोज म गरूँ
म हाँसू, मै बाँचू अरू सबै मरून् दुर्बलहरू.’
वल्लभ, के यी दुई पंक्तिमा हाम्रो राष्ट्रको चरित्र झल्किँदैन र ?
वल्लभ– मलाई कहिले लाग्छ, तिमीले भनेका कुरा सबै सत्य मानूँ तर एकिछन् । मेरो सोध्नुको तात्पर्य थियो मेरो देश पनि
छ । म कुनै देशमा छु । के म भएको देश त्यति कमजोर छ ? हेर हरि, म बुझ्छु तिम्रो भाषा । हामी नेपालीहरू कताकता बाँडिएका छौँ तैपनि जतासुकै हामी भए तापनि हामीले नेपाल बँचाएका छौँ । आज मलाई एउटा देशको याद आउँछ त्यो अफगानिस्तान, त्यहाँ रुसले हमला गर्यो भनेर भन्छन्, हरि, यसरी नेपाललाई कसैले हमला गरेको मन पर्छ ?
कटुवाल– निश्चय नै मन पर्दैन वल्लभ । तर, कसैले गरिहालेछ भने हामी जोगिन पनि कसरी सक्छौँ ? हाम्रो कमजोर मुलुकमा भनेजस्तो एउटै एन्डी यरक्र्याफ्ट गन छैन, राडर छैन । आक्रमणकारीका चारवटा विमानले हामीलाई तहसनहस गरेर जान सक्छन्, हामी सबै आपसमा बाझ्न व्यस्त छौँ । हामी कसैको नेतृत्व स्वीकार गर्न पनि सक्दैनौँ । हामीमा नेतृत्व दिने हती पनि छैन । अफगानिस्तानको कुरा भन्यौ, त्यहाँका वर्तमान सरकारका राष्ट्रपति बार्बाक कर्मालको एउटा वक्तव्य आजै मैले अखबारमा पढेको थिएँ । उनी भन्छन्, ‘सोभियत सैन्यलाई हामी अफगानीले नै निम्याएका हौँ, त्यो हाम्रो त्यस बेलाको आवश्यकता थियो । उनीहरूको यहाँ काम सकिनासाथ उनीहरूलाई फिर्ता पठाइनेछ । वल्लभ, दक्षिणपूर्व एसियाको यो तनाब चर्काउनुमा जति अमेरिकीहरूको हात छ, त्यति रुसीहरूको छ जस्तो मलाई लाग्दैन ।
वल्लभ– छोड्देउ हरि, राजनीतिका कुरा । मलाई कहिले सम्झना आउँछ– त्यो रुसमा पनि साहित्यिकहरू थिए । एउटा ठूलो नाम म लिन्छु, दोस्तोएभ्स्की, त्यसलाई जारशाहीले दु:ख दियो । र, पछिका क्रान्तिका नेताहरूले पनि उसलाई स्वीकार गरेनन् । त्यसै प्रकार अहिले वर्तमानमा एब्तुसेफो सोल्झेनित्सोन, बोरिस पास्तरनाक र अहिले हालमा सखारोवलाई रुसले दु:ख दिँदैछ । ती चेतनाहरूप्रति तिम्रो कुनै सहानुभूति छैन ?
कटुवाल– एब्तुसेफो र सखारोवलाई मैले अझै पढ्ने मौका पाएको छैन । बाँकी तीनै जनाका कृतिहरू थोरबहुत पढेको छु । वल्लभ, केटीएस, इलियटले, एज्रा पाउन्डले अथवा भनौँ छिमेमी राष्ट्र भारतका निरालाले र हाम्रा महाकवि देवकोटाले आ–आफ्नो राष्ट्रबाट स्वीकृति प्राप्त गर्न सके र ? रुसको मात्रै यहाँ किन कुरा गर्ने ? उसको आफ्नो राजनीतिक सिद्धान्त छ । त्यसबाट बिचलित भएर लेख्नेहरूलाई निश्चय नै उसले स्वीकार गरेको छैन । तर, जहाँसम्म मलाई लाग्छ दोस्तोएभ्स्कीलाई अब उनीहरूले फेरि खोज्न लागेका छन् । हालै मैले उनको ‘इडिअट’ भन्ने उपन्यासका दुई भोलम मस्को सरकारले नै छापेको देखँे । अब यी कुरा छाडौँ वल्लभ । जतिजति हामी कुरा कोट्याउँदै जान्छौँ, हाम्रा कुराको अन्त्य हुँदैन । तिमीले आज मेरो जुन अन्तर्वार्ता लियौ– त्यसका लागि तिमीलाई म धन्यवाद दिन्नँ, मात्र यति भन्छु, हामीले आज फेरि एकचोटी धेरै राम्रो कुरा गर्यौँ ।
वल्लभ– धन्यवाद हरि । मलाई धेरै सोध्न बाँकी थियो किनभने तिमी प्रबुद्ध लेखक हौ † तैपनि अब म तिमीबाट बिदा लिन्छु, तिम्रो इच्छाअनुसार । कुनै बेला पाए फेरि सोधौंला भन्ने पनि मेरो अकांक्षा छ, तिमीलाई अवगत गराउँदछु, धन्यवाद ।
‘आकुञ्चन’ पत्रिकाका लागि लिइएको यो अन्तवार्ता कवि हरिभक्त कटुवालको निधनपछि १९८१ को जुलाईमा ‘कटुवाल स्मृति–ग्रन्थ’ र दुई वर्षअघि ‘पुस्तक संसार’मा पनि छापिसकिएको छ । आज अन्तर्वार्ताकार कवि ईश्वरवल्लभ पनि हामीमाझ नरहनुभएको अवस्थामा ऐतिहासिक दस्तावेजका रूपमा यो कुराकानी यहाँ साभार गरिएको हो ।) – सं.
प्रतिक्रिया