२०५३ सालमा गोविन्दप्रसाद भट्टराई र द्रोण दाहालद्वारा लिखित कक्षा आठको ‘हाम्रो नेपाली किताब’ २०५३ देखि २०६८ सम्म आठौं पटक पुनर्मुद्रण एवम् २०६१ मा परिमार्जित भएको हो । डेढ दर्जन जति विद्वानहरूको सहभागितामा तयार पारिएको उक्त पाठ्यपुस्तकमा २०६७ सम्मको प्रकाशनमा अनगिन्ती त्रुटि रहेको र हाल २०६८ मा मुद्रण गरिएकोमा पनि निम्न अनुसार त्रुटि देखिएको छ ।
‘हाम्रो नेपाली किताव’ कक्षा आठको पाठ : तीन ‘गोपालप्रसाद रिमाल’ जीवनीको पृष्ठ १० को पहिलो अनुच्छेदको दोस्रो हरफमा ‘हुन्थे’ हुनुपर्नेमा ‘हुन्थ्ये’ प्रयोग गरिएको छ । पाठ : चार ‘खसीको तौल’ कथाको पृष्ठ १५ को अन्तिम अनुच्छेदको आठौँ हरफमा अभिव्यक्ति क्रम मिलेको देखिँदैन । जस्तै– ‘यही सोचेर ऊ ताडको रुख भएको घर खोज्दै पुग्यो । आँगनमा जताततै हिलै–हिलो थियो । युवक जुत्ता र सुरुवाल फुकाली हिलै टेकेर घरको सिकुवासम्म पुग्यो । नभन्दै बूढाको घर त्यही रहेछ ।’ उक्त कथनमा घर खोज्दै हिँडेको युवकले घर नै नचिनी जुत्ता र सुरुवाल फुकाली सिकुवामा पुगेपछि मात्र उसले घर चिनेको कुरा खुल्न आउँछ । बरु, सोही कथनलाई ‘यही सोचेर ऊ ताडको रुख भएको घर खोज्दै हिँड्यो । नभन्दै बूढाको घर भेट्टाएछ । आँगनमा जताततै हिलैहिलो थियो । घरभित्र कसरी जाने भन्ने कुराले उसलाई फसाद पार्यो । युवक जुत्ता र सुरुवाल फुकाली हिलै टेकेर घरको सिकुवासम्म पुग्यो ।’ बनाउन सान्दर्भिक हुन्छ कि ? सोही पाठको पृष्ठ १६ को दोस्रो अनुच्छेदको चौथो हरफदेखि वाक्य नै खजमजिएको छ । ०६६ र ०६८ को मुद्रणमा ‘खोज्दै हिँडेका मानिसहरूबाट उसले बाबु बिरामी भएको र नबाँच्ने अवस्थामा पुगको कुरा सुनायो र तत्काल घर जाने कुरा गर्यो’ छापिएको छ भने ०६४ को मुद्रणमा सोही कथन विस्तार एवं शुद्ध राख्दै – ‘खोज्दै हिँडेका मानिसहरूबाट उसले बाबु बिरामी भएको र नबाँच्ने अवस्थामा पुगेको कुरा थाहा पायो । उसले समाचार लिएर आउने मानिसहरूलाई एकछिन पर्खिन भन्यो र आफूचाहिँ घरभित्र पस्यो । आफ्नी जहान र ससुरालाई उसले घरमा बा बिरामी भएको खबर पाएको कुरा सुनायो र तत्काल घर जाने कुरा गर्यो ।’ जस्ता कथन रहेका छन् । पाठ : पाँच ‘दरबार’ प्रबन्धको अन्तिम अनुच्छेदको पहिलो हरफ पृष्ठ २३ मा ‘नेपालमा विभिन्न समयमा हुनुपर्नेमा ‘नेपालमा विभिन्न समय छापिएको छ । पाठ : छ ‘महाकवि कालिदास’ जीवनीको अभ्यास खण्ड पृष्ठ ३० को प्र.नं. ‘घ’ मा कालिदासलाई किन महाकवि भनिन्थ्यो ? भनी प्रश्न गरिएको छ । के अहिले कालिदास महाकवि मानिंदैनन् ? माथिको प्रश्नले त त्यस्तै सङ्केत गर्छ नि † ‘भनिन्थ्यो’का ठाउँमा भनिन्छ हुनुपर्ने । पाठ : सात ‘छात्रवृत्तिका लागि निवेदन’को समापन वाक्य– ‘मलाई छात्रवृत्ति प्रदान गरी आवश्यक किताबकापी आदि जुटाएर मिहिनेत साथ पढाइमा लाग्ने सुअवसर गर्नुहुन सादर अनुरोध गर्दछु ।’ वाक्य रचनालाई ‘सुअवसर गर्नुहुन’का ठाउँमा ‘सुअवसर दिनुहुन’ हुनुपर्ने होइन र ? पाठ : आठ ‘मनु’ कथाको पृष्ठ ३५ को छैटौँ अनुच्छेदको पहिलो हरफमा ‘मनु जन्मेदेखि पूर्णकलाको सारा ध्यान छोरामा नै केन्द्रित एको थियो ।’ छापिएको छ । ‘एको’ का ठाउँमा भएको हुनुपर्ने । सोही अनुच्छेदको तेस्रो वाक्यको समापन र चौथो वाक्यको आरम्भ मिलेको देखिँदैन किनभने ‘मनु चार वर्ष पुगेर पाँच वर्षमा लाग्नासाथ उसलाई नजिकै शिशुमन्दिरमा भर्ना गरिदिएका थिए गौतमले ।’ हुनुपर्नेमा ‘थिए’ पछि पूर्णविराम लगाई ‘गौतमले’ बाट चौथो वाक्य आरम्भ गरिएको छ जसको कथन मिलेको छैन । चौथो वाक्यको प्रारम्भ ‘स्कूल जान भनी……’ बाट सुरु हुनुपर्ने देखिन्छ । पाठ : नौ ‘किसान’ कविताको आठौँ हरफको अन्त्यमा ‘तुल्याउँछ’ हुनुपर्नेमा ‘तुल्कउँछ’ छापिएको छ त्यस्तै ११औँ हरफमा ‘हलो कुटो र कोदाली कोदालो हातमा लिई’ हुनुपर्नेमा ‘हलो कुटो र कोदाली र कोदालो हातमा लिई’ छापेर ‘र’ अक्षरलाई अनावश्यक रूपमा थपिएको छ तर ०६४ को मुद्रणमा भने दुवै स्थानमा शुद्ध छ । आखिर यस्तो किन ? ‘किसान’ कविताको अभ्यास खण्ड प्रश्न नं. ६ ‘ख’ मा पृथ्वीलाई पहिलो धन किन भनिएको हो ? भनी प्रश्न राखिएको छ । जब कि पाठमा ‘अन्न’लाई सङ्केत गर्दै ‘धर्तीको पहिलो धन’ भनी विशेषण बोधक अभिव्यक्ति प्रस्तुत गरिएको छ तर अभ्यासमा ‘पृथ्वीलाई’ पहिलो धन किन भनिएको हो ? भन्नु विरोधाभास भएन र ? अन्नलाई पहिलो धन किन भनिएको हो ? भनी प्रश्न राख्नुपर्ने देखिन्छ । पाठ : दश ‘अन्तरिक्षयान’ प्रबन्धको पृष्ठ ४५ को अनुच्छेद ३ को अन्तिम हरफमा ‘यानलाई’ हुनुपर्नेमा ‘यानमा’ छापिएको छ । सोही पाठको पृष्ठ ४६ को दोस्रो अनुच्छेदको दोस्रो हरफमा ‘अनुसन्धानले’ हुनुपर्नेमा ‘अनुसन्धान’ छापिएको छ । सोही पृष्ठको तेस्रो अनुच्छेदको दोस्रो हरफमा वाक्य नै बिगारिएको छ । ‘सन् १९५७ अक्टोवर ४ तारिखका दिन उडाइएको सोभियत अन्तरिक्षयान स्पुतनिक–१ ले सर्वप्रथम पृथ्वीको परिक्रमा गरेपछि त्यो कल्पना यथार्थमा परिणत भएको हो’ हुनुपर्नेमा, ‘सन् १९५७ अक्टोबर ४ तारिखका दिन उडाइएको थियो सोभियत अन्तरिक्षयान स्पुतनिक–१ ले सर्वप्रथम पृथ्वीको परिक्रमा गरेपछि त्यो कल्पाना यथार्थमा परिणत भएको हो’ छापिएको छ । उक्त पाठको अभ्यास प्र.नं. ४ मा ‘शुद्ध उच्चारण गर’ हुनुपर्नेमा ‘शद्ध उच्चारण गर’, सोही अभ्यासको प्र.नं. ७ ‘ख’ मा ‘अन्तरिक्षयानका’ हुनुपर्नेमा ‘अन्तरिक्षयानको’, पाठ : एघार ‘उपमन्युको परीक्षा’ कथाको पृष्ठ ५२ को पहिलो हरफमा ‘बाटो देखिन र यो इनारमा खसें’ भनी इनारभित्रबाट नै उपमन्युले भनेका कुरालाई ‘बाटो देखिन र त्यो इनारमा खसें’ छापिएको छ । पाठ : बाह्र ‘हामी एउटै हौँ’ एकाङ्कीको पृष्ठ ५७ मा ‘जनक’ पछि सबैले भनेको वाक्यमा ‘हो हो, सुरु गर्ने हो ।’ हुनुपर्नेमा ‘हो, हो, सुरु गर्ने हो त ?’, सोही पाठको पृष्ठ ५९ मा जनकद्वारा व्यक्त वाक्य ‘हामी जो जो जे जे भएपनि’ हुनुपर्नेमा ‘हामी जो जो जे जे भएपछि’ छापिएको छ । सोही पृष्ठमै लगत्तै तल शान्तिद्वारा व्यक्त गरिएको वाक्यमा ‘नाच्न थाल्छ’ हुनुपर्नेमा ‘नाच्न चाल्छ’, त्यसकै केही तल शान्तिकै अभिव्यक्तिमा ‘जनकको हातमाथि’ हुनुपर्नेमा ‘जनक हातमाथि’ एवम् ‘तर म नेपाल आमाकी सन्तान हुँ ।’ हुनुपर्नेमा ‘तर नेपाल आमाकी सन्तान हुँ ।’ लेखी ‘म’ छुटाइएको छ । त्यस पाठकै अन्त्यतर्फ ‘सँगै खोलौँ’ हुुनुपर्नेमा ‘सँगै खेलौँ’ अनि ‘हाते मालो’ हुनुपर्नेमा ‘हातमालो’ छापिएको छ । पाठ : तेह्र ‘फ्लोरेन्स नाइटिङ्गेल’ जीवनीको पृष्ठ ६३ अन्तिम अनुच्छेदको पहिलो हरफमा ‘आदर्श’ हुनुपर्नेमा ‘आर्दश’ छापिएको छ । पाठ : चौध ‘वन्यजन्तु र तिनको सुरक्षा’ प्रवन्धको पृष्ठ ६८ दोस्रो अनुच्छेदको दोस्रो हरफमा ‘त्यसप्रति’ हुनुपर्नेमा ‘त्यसपछि’, सोही पाठको अभ्यास व्याकरण खण्डमा ‘वाच्य तीन किसिमका’ हुनुपर्नेमा ‘वाच्यमा तीन किसिमका’, ‘भाववाच्य’ हुनुपर्नेमा ‘भाववाच्यमा’
अनि सिर्जनात्मक अभ्यास प्रश्न नं. ‘ग’ मा ‘प्रबन्ध लेख’ हुनुपर्नेमा शिक्षण नै नगराइएको विषय ‘निबन्ध लेख’ दिइएको छ । पाठ : पन्ध्र ‘समाजसेवाको बाटोमा’ चिठीको व्याकरण अभ्यास प्रश्न २ ‘क’ मा ‘कर्मवाच्य’ निर्देशन गर्नुपर्नेमा ‘कर्तृवाच्य’, सोही अभ्यासको ‘ख’ मा ‘कर्तृवाच्य’ हुनुपर्नेमा ‘कर्तवाच्य’, पाठ : सोह्र धनभन्दा विद्या ठूलो वादविवादको अभ्यास खण्ड प्रश्न नं. ७ ‘ख’ मा ‘धनभन्दा विद्या ठूलो’ भन्ने विषयको पक्ष वा विपक्षमा खँदिला तर्कहरू दिई पाँच वाक्य लेख भन्नुपर्नेमा ‘धनभन्दा विद्या ठूलो खँदिला तर्कहरू दिई पाँच वाक्य लेख’ भन्ने वाक्य दिइएको छ । पाठ : सत्र विश्वेश्वरप्रसाद कोइराला जीवनीको पृष्ठ ८२ अनुच्छेद ३ मा राजनीतिशास्त्र, राजनीतिज्ञ हुनुपर्नेमा दीर्घलाई ह्रस्व पारी ‘राजनितिशास्त्र’‘राजनितिज्ञ’ छापिएको छ । पाठ : अठार ‘घर झगडा’ कथाको पृष्ठ ८८ को अन्तिम अनुच्छेदको पहिलो हरफमा ‘पुगेको’ हुनुपर्नेमा ‘पुगको’ छापिएको छ । सोही पाठको पृष्ठ ९० को अभ्यास खण्ड ‘व्याख्या गर’ को ‘ख’ मा ‘शङ्काको डोरीमा पीङ खेल्नु नादानी हो’ हुनुपर्नेमा ‘शङ्काको डोरीमा खेल्नु नादानी हो’ राखिएको छ । सोही पाठको व्याकरणमा ‘आजको खाजा’ हुनुपर्नेमा ‘अजाको खाजा’ राखिएको छ । अजा भनेको बाख्री, ईश्वरीय माया हुन्छ । त्यहाँ त्यसको अर्थ लाग्दैन । पाठ : बीस ‘म्याडम क्युरी’ जीवनीको अभ्यास व्याकरण खण्ड पृष्ठ ९९ मा ‘पुन:’ हुनुपर्नेमा ‘पुन:’, सोही पाठको व्याकरण खण्डमै वर्णविन्यासबारे गराइएको जानकारीमा क्रमसंख्या ३ मा ‘नेपालीमा यसले’ हुनुपर्नेमा ‘नेपालीका यसले’ अनि ‘यसको नाके उच्चारण हुन्छ’ हुनुपर्नेमा ‘पछि यसको नाके उच्चारण हुन्छ’, सोही व्याकरण खण्ड ह्रस्व सम्बन्धी नियमबारे नं. ८ मा ‘प्रत्यय’ हुनुपर्नेमा ‘प्रत्येय’, सोही पाठको व्याकरण अभ्यास पृष्ठ १०२ प्र. नंं. २ र ३ मा एउटै प्रश्न दोहोर्याइएको छ, जस्तै : अन्त्यमा दीर्घ भएका पोथी जातिलाई जनाउने पच्चीसवटा शब्दहरू सङ्कलन गर र शुद्धसँग लेख । उक्त प्रश्नलाई क्रमश: ‘आदिमा ह्रस्व’ भएका भाले जाति र अन्त्यमा दीर्घ भएका पोथी जाति हुनुपर्ने होइन र ? पाठ : बाईस ‘नुनको सोझो’ कथाको अभ्यास खण्ड पृष्ठ ११३ मा प्रश्नहरू राख्ने क्रममा क, ख, ग, ङ, च राखिएको छ, ‘घ’ चाहिँ छैन । २०६४ को मुद्रणमा भने– (घ) भुमिया राजमहलमा किन गएको थियो र त्यहाँ के कस्तो घटना भयो ? छापिएको छ । सोही पाठको अभ्यासमा नै प्र.नं. ४ ‘शब्दको अर्थ लेख’मा ‘अतिति’ शब्द दिइएको छ, यसको अर्थ के लाग्छ ? अतिथि हुनुपर्ने होइन र ? त्यस पाठकै केही तल व्याकरण अभ्यासमा पृष्ठ ११४ मा अन्यत्र सबै स्थानमा निम्न आदर (देऊ, लेख, गर, भन) छ तर यहाँ ‘उत्तर दिनुहोस्’ किन राखिएको हो नि ? पाठ : तेईस ‘जैविक नियन्त्रण विधि’ प्रबन्ध पाठको पृष्ठ ११७ को पहिलो हरफमा ‘उपयोग’ हुनुपर्नेमा ‘उपायोग’ अनि ‘नियन्त्रण’ हुनुपर्नेमा ‘नियनत्रण’ दोस्रो अनुच्छेदको पहिलो हरफमा वाक्य समापन गरिएको छैन, जस्तै : ‘जैविक नियन्त्रण विधिमा तीनओटा शब्दको संयोग भएको जीव, नियन्त्रण र विधि’ छापिएको छ । सोही अनुच्छेदको दोस्रो हरफमा ‘उत्पादनमा हानि’ हुनुपर्नेमा ‘उत्पादन हानि’ छापी ‘छ’ छुटाइएको छ । पाचौँ हरफमा ‘जीव’ शब्द हुनुपर्नेमा ‘जीवन’ शब्द प्रयोग गरिएको छ । पाठ : चौबीस ‘पृथ्वी सन्देश’ कवितामा ‘प्रजा’को ठाउँमा ‘जन’ राखिएको छ तर अभ्यासमा ‘पर्जा’ शब्द दिएर शुद्ध गर्न भनिएको छ । के यो भनाइ पाठसँग सान्दर्भिक छ त ? सोही पाठको व्याकरण खण्डमा ‘य’ ‘ए’ ‘ब’ ‘व’ बाट बनेका शब्द चिनाउने क्रममा य, ए, ब बाट बनेका शब्द दिएपछि ‘व’बाट बन्ने वा बनेका शब्द दिनु पर्दैन र ?
यसरी निम्न माध्यमिक तह कक्षा आठको पाठ्यपुस्तक निर्माण गर्न बनेको जम्बो समितिले तयार पारेको तथा भाषाविद्को पगरी गुथ्न सफल विद्वानहरूबाट सम्पादन गरिएको नेपाली पाठ्यपुस्तक २०६८ मा देखिएका अनगिन्ती त्रुटिहरू सच्याउने काम विद्यार्थीहरूको नै हो कि अभिभावक वा शिक्षकको हो वा नसच्याएपनि हुने हो ? परिमार्जनकर्ता तथा सम्पादनकर्ता भनेको के हो ? महोदयहरूको भूमिका के हुनु पर्ने हो ? छपाइ त्रुटि हो भने हेर्ने कसले ? सम्पादन तथा परिमार्जन कर्ताको संख्या अपुग भएको भए नेपालका सबै निर्वाचन क्षेत्रबाट सबै दलका एक एक जना सदस्यलाई सहभागी गराउन पर्ला कि ? शिक्षक, विद्यार्थी, अभिभावकले सच्याउने हो भने परिमार्जन र सम्पादनमा रहेका नामहरू नै किन चाहियो ? कार्य व्यस्तताका कारण नहेरिएको हो भने आफूले भ्याइने जतिमात्र कामको जिम्मेवारी लिंदा राम्रो हुन्थ्यो कि ?
(लेखक चिराग उच्च मा.वि. तथा गल्याङ बहुमुखी क्याम्पस गल्याङ, स्याङ्जामा अध्यापनरत छन् ।)
प्रतिक्रिया