नेपालको राजनीतिमा नेतृत्वको खडेरी परेको छ । तर, नेतृत्वको अभाव छ भन्ने सुन्दा कतिपयलाई चाहिँ अचम्म लाग्ला । यहाँ वरिष्ठ नेतादेखि कनिष्ट नेतासम्म, गणतन्त्रवादी नेतादेखि राजतन्त्रवादी नेतासम्म, बाहुन नेतादेखि दलित नेतासम्म, पहाडे नेतादेखि मधेसी नेतासम्म, वामपन्थी नेतादेखि दक्षिणपन्थी नेतासम्म, विद्यार्थी नेतादेखि मजदुर नेतासम्म महिला नेत्रीदेखि युवा नेतासम्म कोटिकोटिका नेता छन् ।
पार्टीमा सभापति छन्, अध्यक्ष छन् र एक जना अध्यक्षलाई सघाउन तीन/तीन उपाध्यक्ष छन् । एक महासचिवलाई सघाउने दुई जना सचिव छन् । कतिपय कोही पार्टीमा दुई/दुई जना महामन्त्री पनि छन् । यतिले नपुगेर कोही विभागीय प्रमुख बनेका छन् कोही भ्रातृ संगठनका प्रमुख भएका छन् । कोही अञ्चल कमिटीका प्रमुख बनेका छन् कोही राज्य समितिका इन्चार्ज भएका छन् । पार्टीभित्र एउटा न एउटा पद हत्याउन नेतादेखि कार्यकर्ता सबै आ–आफ्नो ठाउँमा सफल छन् । यस्ता पद हत्याउन सफलहरूलाई धेरैले नेतृत्व भन्ने ठानेका छन् । राजनीतिमा कुनै नेताको झोला बोक्नुलाई आफ्नो प्रगतिको खुड्किलो देख्ने र झोला बोकाउन सक्नेले आफूलाई बढेमानको नेता देख्ने वर्तमान राजनीतिक संस्कृतिमा यस्तो बुझाइलाई अन्यथा मानिहाल्न पनि पर्दैन ।
तर, कुनै पनि दलको प्रमुख हुनु वा कुनै पद हत्याउन सफल हुनुलाई नै नेतृत्व नमान्ने हो भने यतिबेला नेपाली राजनीतिमा नेतृत्वको खँडेरी परेको छ । नेता हुँ भनेर दाबी गर्ने धेरै छन् तर देशको आवश्यकता बमोजिमको सफल नेतृत्व दिनसक्ने कोही पनि छैन । बग्रेल्ती नेताको भीडमा एकजना पनि सफल नेतृत्व दिन सक्ने नेता नभएका कारण देशको वर्तमान राजनीतिक अवरोधले पनि गति लिन सकेको छैन । नेता छन् तर नेतृत्व छैन । नेता छन् तर नीति छैन । दृष्टि छ तर दूरदृष्टि छैन । ऊ हेर्यो ऊ नै नेता जस्तो । अर्को हेर्यो अर्को पनि नेता जस्तो । ऊ हेर्यो उही आफूलाई नेता भन्छ अर्को हेर्यो अर्को नै आफूलाई नेता दाबी गर्छ । आफूलाई नेता भन्ने धेरै छन् तर अरूले (कार्यकर्ताबाहेक) अरूले नेता मानिदिने कोही पनि छैन । त्यसैले त यहाँ नेता छन् तर नेतृत्व छैन ।
जनसाधारणमा एउटा भ्रम छ कि जो व्यक्ति सत्ता र शक्ति आफ्नो हातमा लिन सक्षम छ त्यो नै नेतृत्व हो । तर, नेता हुन सजिलो छ सफल नेतृत्व प्रदान गर्नचाहिँ सजिलो छैन । वर्तमान राजनीतिमा सत्ता र शक्तिमा पुग्नेहरू या त पार्टीमा फटाएको भोटो गनेर सत्तामा पुग्ने गरेका छन् या त गुट उपगुट निर्माण गरी त्यही गुट उपगुटको बैसाखीमाथि टेकेर माथि पुगेका छन् । कतिपय निगाहमा माथि पुगेकाहरू छन् कतिचाहिँ नैतिकहीन लडाइँबाट सत्तापासा पल्टाएकाहरू छन् । यसैकारणले पनि हाम्रो राजनीतिक नेतृत्व कहिल्यै सफल र दीर्घकालीन हुन सकेन । विपक्षीलाई गाली गर्नसक्नु, जनतालाई झुक्याएर आफू सधैँ सत्तामा रहनसक्नु, चुनाव जित्न सक्नुलाई नै सफल नेतृत्व ठानिन्छ भने त्योभन्दा भ्रम राजनीतिक विज्ञानमा अर्को केही छैन । जसले प्राप्त गर्न सक्यो त्यो नै सफल नेतृत्व हो भन्ने नेपाली समाजको मनोविज्ञानको कारणले पनि आज कतिपय नेता विशेषणधारीहरू सत्ताप्राप्तिको लिगलिगे दौडमा उत्रेका छन् । तर, आजको एककाइसौँ शताब्दीमा लिगलिगे दौड जितेर नेता बन्न सकिएला तर सफल नेतृत्व दिन सकिँदैन ।
पद र प्रतिष्ठाको प्राप्ति गर्नु मात्र सफल नेतृत्व होइन । महात्मा गान्धी कहिल्यै पद र प्रतिष्ठाको लडाइँमा सहभागी भएनन् तर उनलाई भारतले मात्र होइन विश्वले नै सफल नेतृत्व मान्दछ, नचाहेरै पनि उनी संसारको लागि नेता भएका छन्, अग्रणी भएका छन् र आदर्श बनेका छन् । पद र प्रतिष्ठाकै लागि लडेको भए नेल्सन मन्डेला आज संसारका लागि उदाहरणीय पुरुष हुने थिएनन् । उनको नाम लिनुमा संसारलाई गर्व हुने थिएन । इतिहासमा अरू पनि धेरै नेताहरू छन् जो सफल नेतृत्वकै कारण जनमानसमा बसिरहेका छन् । कतिपय उदाहरणीय नेताहरू जो पदमा आसीन भए पनि तिनीहरूको संघर्ष पद, प्रतिष्ठा र कुर्सीका लागि थिएन । देश र जनताको मुक्तिका लागि संघर्ष गर्दा गर्दै उनीहरू पदमा आसीन हुन पुगेका थिए र पदमा पुगेपछि पनि सफल नेतृत्व दिई आफ्नो भिन्न पहिचान बनाए । तर, नेपालको विडम्बना नै यही भइदियो कि पद र प्रतिष्ठा प्राप्त नगरेसम्म देश र जनताको पक्षमा बोल्ने नेताहरू कुर्सी प्राप्त गर्ने वित्तिकै जनविरोधी काम गर्न पुगेका छन् । त्यसैले हाम्रो देशमा नेता भएर पनि सफल नेतृत्व दिन सक्ने कोही पनि छैन ।
सफल नेतामा हुनुपर्ने गुण गुमाएर कुहिगन्धे विचार बोक्ने र व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि राजनीति गर्नेहरूलाई पनि नेपालीले नेता मान्नु परेको छ । राष्ट्र र जनताप्रति पटक्कै रुचि नहुनेहरू पनि नेता मानिँदै आएका छन् र नेतामा गनिँदै छन् । जोसँग दीर्घकालसम्मका लागि सोच्ने भिजन नै छैन । जोसँग संकीर्ण मन छ, जो आफ्नो परिवार, आफन्त र चाटुककारहरूको घेरा तोड्न सक्दैन त्यस्तालाई पनि नेपालीले नेता मान्नु पर्ने बाध्यता छ । नेतृत्व भनेको के हो भन्ने थाहा नहुने पनि नेपालका नेता भएका छन् । यहाँ हावादारी भाषण गर्ने, दिनको चारपटक ढाट्ने र जनताको आँखामा छारो हाल्न सक्नेलाई नेता मानिँदै छ । यही कारणले राजनीतिक संकट हुन्छ, न्यायिक र सामाजिक संकट आउँछ । व्यवस्था परिवर्तन भए पनि नेतृत्वको अभावमा नयाँ विचार र पद्धति नेपालमा फस्टाउँदैन । यसैकारण नेपाली समाजले नयाँ नेतृत्व नजन्माएसम्म नेपालमा राजनीतिक समस्या समाधान हुने देखिँदैन ।
तष्पबचबm।उयपजबचभ२िनmबष्।िअयm
प्रतिक्रिया