प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भएको भेटघाटलाई कसरी लिनुभएको छ ?

राज्यको कार्यकारी प्रमुख र न्यायपालिका प्रमुखबीच भेटघाट हुनुलाई अस्वाभाविक र अनौठो मान्नु हुँदैन । संवैधानिक संकटका कारण सर्वोच्च अदालत न्यायधीशविहीन हँुदै गइरहेको र प्रधानन्यायाधीश न्यायपरिषद्को अध्यक्ष भएका नाताले सोबारे छलफल गर्न भेटघाट गर्नु स्वाभाविक हो । तर, पत्रकार डेकेद्र थापा हत्या प्रकरणमा संलग्न अभियुक्तमाथि छानबिन भइरहेको र सो छानबिन रोकिनुपर्छ भनेर आपैँmले निर्देशन दिएका बेला भएको यो भेटघाटले प्रशस्त आशंका उब्जाएको छ । यसले कानुनी राज्यमा विश्वास गर्ने सबैलाई सशंकित बनाएको छ । पत्रकार हत्या प्रकरणमाथि छानबिन भइरहेकाले यससँग सम्बन्धित छानबिन प्रक्रियालाई प्रभाव पार्ने गरी कार्यपालिका प्रमुखका रूपमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र न्यायपालिका प्रमुख खिलराज रेग्मीबीच भेटघाट भएको हो भने यो अनुचित हो । यदि, प्रधानमन्त्रीले पत्रकार हत्यामा संलग्न अभियुक्तको छानबिन प्रकरणबारे छलफल गर्न प्रधानन्यायाधीशलाई भेटेका हुन् भने त्यो अशोभनीय कार्य हो । यस्ता किसिमका कार्यले न्यायपालिका र कार्यपालिकामाथि समेत जनताको विश्वास, आस्थामा नकारात्मक प्रभाव पर्न सक्छ । तर, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति हुन नसकिरहेको अवस्थामा सोहीबारे छलफल गर्न भेट भएको हो भने त्यसमा आश्चर्य मान्नुपर्ने अवस्था रहँदैन ।

प्रतिक्रिया