राजस्व असुली लक्ष्यभन्दा बढी हुने

काठमाडौ, ३ माघ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले पुस महिनामा राजस्व असुली लक्ष्यभन्दा बढी हुने प्रारम्भिक तथ्यांकले देखाएको बताएका छन् । सचिव सुवेदीले राजस्व असुलीको वृद्धि दरलाई दिगो बनाउने उपाय अवलम्बन गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयअन्तर्गतका निकायलाई ०६९ पुस महिनामा सम्पन्न गर्न प्रस्ताव गरी तोकिएका कार्यक्रमको प्रगति र ०६९ माघ महिनामा गर्नुपर्ने प्रस्तावित कार्यक्रमको विवरण तयार गर्ने प्रयोजनको लागि अर्थ सचिव सुवेदीको संयोजकत्वमा बसेको बैठकमा मन्त्रालयका महाशाखा प्रमुख र विभागका विभागीय प्रमुखहरूको उपस्थिति थियो ।
उनले यो महिनामा बजेटको मध्यावधि समीक्षा सम्पन्न गर्न, पूँजीगत खर्च बढी हुने मन्त्रालयसँग गरिने अन्तक्र्रियालाई निरन्तरता दिन, राजस्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन, आगामी त्रिवर्षीय योजनाको लागि अर्थ मन्त्रालयको तर्फबाट पठाउनु पर्ने योजनाको मस्यौदा तयार गरी पठाउन, मन्त्रालयको आन्तरिक चालु एवं पूँजीगत खर्चमा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालय र अन्तर्गत निकायहरुबाट सञ्चालित आयोजनाको अर्ध—वार्षिक समीक्षा गर्न, सहसचिवको नेतृत्व मूल्यांकन फाराम भराई छिटो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनसमेत निर्देशन दिएका थिए ।
सचिव सुवेदीले माघे महिनाका लागि प्रस्तावित कार्यक्रम बनाउँदा शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, ०६९ एवं राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने विषयलाई आधार बनाई तयार गर्न र प्रस्ताव गरिएका कार्यक्रम परिणाममुखी बनाई सक्रियताका साथ सम्पन्न गर्न निर्देशन दिए ।

प्रतिक्रिया