समकालीन नेपाली कथा साहित्यका सशक्त प्रतिनिधि हुन् राजव । शैली, भाषा, संवेदना र समाजको सटीक चित्रणमा उनी बेजोड छन् । राजव आफ्ना कथामा समाजमा संघर्षरत मान्छेको जिन्दगी खोज्छन् जहाँ परिस्थितिअनुसार पाठकलाई उसको अनुहार स्पष्ट देखाइदिन्छन् । हाल अमेरिका बस्ने उनी अमेरिकी भूमिमा संघर्षरत नेपाली जीवनका अनेकानेक कथ्यमा केन्द्रित कथाहरू लेखिरहेका छन् । उनको ‘समय–पीडा’, ‘इतर जिल्लावासी’, ‘कंगन खित्का’ र ‘क्यापिटल हिल’ कथासंग्रह, ‘एटलान्टिक स्ट्रिट’, ‘मोटेल अमेरिका’ उपन्यास, ‘असमर्थ श्लोक’, ‘क्रूरको सौन्दर्यप्रेम’, ‘एक्काइसौँ शताब्दीका भासहरू र बीसौँ शताब्दीको हयांगओभर’ कवितासंग्रह प्रकाशित छन् । उनको छिटै नयाँ कथासंग्रह ‘कमरेड ड्राइभर’ प्रकाशन हुँदै छ ।
नेपालमा हुँदा तपाईंले लेख्नुभएका चर्चित कथा ‘कंगन खित्का’, ‘इतर जिल्लावासी’हरूका सन्दर्भमा हेरौँ । अमेरिका पसेपछि अमेरिकी परिवेशका कथारचनामा प्रवृत्त हुनुभयो । उहिले र अहिलेका आफ्ना कथाको कन्टेन्टमा कत्तिको फरक पाउनुहुन्छ ?
मेरो कथालेखनको आधारभूमि आफू बाँचेको समयको भूमि र जीवनका क्रूर यथार्थ नै हुन् । आफू वरिपरिका सुखवञ्चित मानिसले भोग्न बाध्य शोषण, प्रताडना नै मेरो कथाका कथ्य हुन् । यो मेरो कथालेखनको प्रतिबद्धता पनि हो र कथ्यशोधनको आधार पनि हो । म आफू बाँचेको समय र भूमिइतरको झूठो कथ्यको कल्पना गर्दिनँ । आफ्नो यो पक्षधरताबारे मैले धेरै ठाउँमा धेरैपटक लेखेको छु । अमेरिका प्रवासमा लागेपछि पनि म आफ्नो कथालेखनको यो प्रतिबद्धताबाट विमुख भएको छैन । निश्चय नै अमेरिका गएर बस्न थालेदेखि मेरो कथालेखनको कथ्य स्वभावत: परिवेशगत रूपमा फरक हुन थाले । तर, म यो नयाँ परिवेशको साथसाथै नेपाली जीवनका कथ्यमाथि पनि उत्तिकै कथा लेखिरहेको छु । अमेरिका गएपछि मैले कथ्यको थप नयाँ आधार भेटेको मात्र हुँ । यसरी म दुवै भूमिको कथ्यमा कथा, उपन्यास लेखिरहेको छु । यस सन्दर्भमा मैले कतै लेखेको छु, ‘अमेरिका प्रवासिएपछि त्यहाँको नयाँ परिवेश, समाज, भूगोल, संस्कृति र भोगाइमा होमिँदा मेरो कथालेखनको चेतले नवीन कथ्यहरूको ओइरो देख्यो र ती देखाइ, भोगाइमध्ये कलात्मक सम्भावनायुक्त कथ्यलाई लिएर मैले थुप्रै कथा लेखेँ । लेखिरहेको छु ।
जुन दृष्टिकोणले तपाईं नेपाली समाजलाई हेर्नुहुन्छ, अमेरिकामा रहेको नेपाली समाजलाई हेर्ने दृष्टिकोण पनि त्यही हो ?
नेपालको नेपाली समाज र अमेरिका पुगेको नेपाली समाज दुई भिन्न भूगोल, हावापानी र परिवेशमा बाँचेको एउटै सांस्कृतिक समाज हो । हाल अमेरिकामा नेपालीको पहिलो पुस्ता चलिहरेछ । मेरो यो भनाइ त्यही नेपालीको पहिलो पुस्तालाई हेरेर भनिएको हो । अमेरिका बसेको नेपालीको पहिलो पुस्ताको यो समाज स्वतन्त्र भइकन पनि श्रमशिविरमा बसिरहेको वर्गजस्तो लाग्छ मलाई । यो पुस्ता श्रम, सुरक्षा र स्थापनाको चिन्ताले ग्रस्त छ । नेपालीको यो समाजले सांस्कृतिक, भाषिक, सामाजिक, साहित्यिक विमर्शको रिक्तताबोध गर्छ र स्वदेशको स्मृति सुखको (नोस्टाल्जिया) भरमा देश छाड्नुको पीडा विर्सने कोशिसमा दिन काट्छ । कथा लेखनको सन्दर्भमा दुवै समाजलाई हेर्ने मेरो कथ्यगत यथार्थको आधार एउटै हो, शोषक र शोषितको दृष्टिविन्दु र क्रूर वर्गीय भेद ।
‘नेपाल अब नेपालभित्र मात्र छैन, नेपालबाहिर पनि छ’, भनिन्छ । नेपालको जनसंख्याको महत्त्वपूर्ण हिस्सा बाहिर भएको हुनाले यसो भनिएको होला । तपाईंलाई आफू बाहिरको नेपालमा बसिरहेको छु जस्तो लाग्छ कि लाग्दैन ?
विश्वको कतिपय राष्ट्रिय सीमालाई तथाकथित भूमण्डलीकरण र उदारिकरणले खुकुलो बनाएको छ । विश्वमा यो खुकुलोपन देखिन थालेको दुई दशक भइसक्यो । यसको फाइदा ठूला शक्ति राष्ट्रहरूले तेस्रो–विश्वका नागरिकको श्रमशोषणको रूपमा खुब लिइरहेछन् । त्यस्ता नागरिकको श्रमशोषणका लागि नै त्यस्ता राष्ट्रले तेस्रो विश्वका नागरिकको आफ्नो श्रमशिविरको ढोका खोलिदिएका छन् । नेपालीहरू पनि यै गतिको अवसर छोप्दै खाडीका मरुदेशलगायत मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, जापान, कोरिया, बेलायत, जर्मन, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, अझ ब्राजिल, पोर्चुगल आदि अनेक देशसम्म फैलिएका छन् । त्यसकारण यस फैलावटलाई हेरेर नेपाल, नेपाली भाषा र संस्कृति अब नेपालमा मात्र होइन, नेपालबाहिर अनेकानेक देशमा पनि छ भन्न सहजै सकिन्छ । तथापि, यो फैलावटमा राष्ट्रियताको स्वाभिमान नहुने हुनाले नेपालवञ्चित हुनुको पीडाको मानसिक उद्वेलन प्रवासिएका हरेक नेपाली भोगिरहेकै हुन्छन् । यसबाट म पनि अपवादमा छैन । नेपालबाट टाढिनुको पीडा र उदासी मेरो मन हरदिन भोगिरहन्छ ।
‘अमेरिकालाई सराप्नु वामपन्थी हुुनुको खास निसानी हो,’ भनिन्छ । अमेरिकी वामपन्थी ध्रुवका लेखकहरू कस्तो लेख्छन्, आफ्नै मुलुकको पँुजीवादले खाएको समाज बारे ?
केही समय अगाडिसम्म लुकीलुकी अमेरिका पुग्ने, घुम्ने र प्रकटमा अमेरिका सराप्ने नेपाली वामपन्थीको रोग नै थियो । आम नेपालीले तिनको यो रोगको अब आएर स्क्यान गरिसकेका छन् । त्यसकारण तिनको सराप क्रान्तिकारिताको छद्म भेष उदांगिसकेको छ । अबका नेपाली कम्युनिस्ट पुँजीवादी कम्युनिस्ट भइसके । तिनको वामपन्थ सत्तापन्थ र धनपन्थ हो भन्ने प्रकटमा आइसक्यो । त्यसमाथि तेस्रो मुलुकका वामपन्थीलाई अमेरिकाविरोधी बनाउने न त अब सोभियत संघ छ न त छैठौँ, सातौँ दशकको माओको चीन नै छ । तथापि, नेपालमा केही सच्चा सिद्धान्तनिष्ट कम्युनिस्ट छन् जसले गरेको अमेरिकाको सैद्धान्तिक आलोचना मनन्योग्य हुन्छ नै । वामपन्थीभन्दा पनि धेरैजसो अमेरिकी लेखकहरू देब्रेध्रुवका छन् । यस ध्रुवका लेखकहरू नै बढी ऊर्जावान र शक्तिशाली छन् । सरकारको जनविरोधी, कलाविरोधी, साहित्यविरोधी हर प्रपञ्चको ती जमेर संगठित र व्यक्तिगत रूपमासमेत विरोध गर्छन् ।
अमेरिकी लेखकहरूले खाडी वा अफगान युद्धबारे लेखनमा कसरी आफूलाई र अमेरिकी समाजलाई अभिव्यक्त गर्दा रहेछन् ?
अधिकांश अमेरिकी लेखक, कवि युद्धविरोधी नै छन् । अमेरिकामा युद्धविरोधी साहित्यको लामो इतिहास छ, विशेष गरी अमेरिकाको उपन्यासमा यो प्रस्ट झल्कन्छ । भियतनाम युद्ध, कोरियन युद्ध, खाडी युद्ध, इराक युद्ध, अफगान युद्धमाथि र त्यसको विरोधमा थुप्रै विश्वविख्यात उपन्यास लेखिएका छन् । यसमा जोसेप हिलर, नोमन मिलर, टिम ओ ब्राइन, फिलिप रोथ आदि अग्रपंक्तिमा पर्छन् । हाल पनि इराक युद्धबारे लेखिएका थुप्रै उपन्यास र संस्मरणका पुस्तक निस्किएका छन् । तिनमा लुक लारसनको ‘सिनेप्र्ससन’जस्ता उपन्यास, विंगवेस्टको ‘नो ट्रयुग्लोरी’ र माइकल एन्थोनीको ‘मास कजुल्टिज’ निकै चर्चित छन् । यसदेखि बाहेक पनि थुप्रै युद्ध पत्रकारले अफगान र इराक युद्धबारे मर्मान्तक संस्मरण लेखेका छन् ।
के गर्छन् पाताल छिरेका नेपाली लेखकहरू ? के तिनको लेखनमा अमेरिकी समाज जीवन्त भएर उत्रन्छ ? कि तिनका विषयवस्तु र चरित्रमा नेपाली समाजकै नोस्टाल्जिया हावी भइरहेको हुन्छ ?
अमेरिका आएका नेपाली मूलत: रोजगारीमै केन्द्रित हुन्छन् । लेखकहरू पनि यसबाट स्वभावत: भिन्न छैनन् । अधिकांश समयकालीन प्रवासी लेखन नोस्टाल्जियाकै द्वन्द्वात्मक प्रतिफल लाग्छन् । प्रवासी मानसिकताको हिसाबले यो स्वाभाविक पनि हो ।
को–को विशिष्ट अमेरिकी लेखकलाई भेट्नुभो ? अमेरिकामै लेखिएको नेपाली साहित्यबारे तिनको कुनै परिचय स्थापित भएको छ ?
थुप्रै सन्दर्भमा मैले थुप्रै अमेरिकी लेखकलाई भेटेको र तिनलाई सुनेको छु । तिनलाई भेट्नु, सुन्नु निकै प्रीतिकर लाग्यो मलाई । अमेरिकी लेखक, कविहरू आफूसँग भेट्न आउनेसँग मन दिएर एकदम सौहार्द व्यवहार गर्छन् । मुख्य रूपले पाउल अस्टर, रिचार्ड फोर्ड, रिचार्ड प्राइस, जेम्स टे, लुइस गुलक, विलि कोलिन्स, डेभिड फ्रे, जुन्टो डायज, जोनाथन फ्रयान्जेन भेट्दा म अत्यन्त सुखानुभूतिले भरिएको थिएँ । यसपटकको अक्टोबर सत्ताइसमा भएको एक दिने बोस्टन बुक फेस्टिबलमा थुप्रै नयाँ अमेरिकी लेखक भेटेर, तिनको वार्ता सुनेर म उत्तिकै आल्हादित भएको थिएँ । वास्तवमा एउटा भिन्न प्रकृतिको भाषा र संस्कृतिको लेखकले अर्को भिन्न किसिमको भाषा र संस्कृतिको लेखकसँग भेट्नुको रोमाञ्च र अनुभव एकदम बेग्लै हुँदोरहेछ ।
नेपालको नेपाली साहित्य कत्तिको अपडेट गर्नुभा’छ ? तपाईंको अमेरिका प्रवासको क्रममा यसका उन्नति/अवनतिबारे केही धारणा बनाउनुभएको छ ?
दूरत्वको हिसाबले नेपालमा प्रकाशित हुने सबै पुस्तक र पत्रिकाको भौतिक स्वरूपसम्म पहुँच पुर्याउन सकिन्नँ । त्यसकारण यस मामलामा उता बस्दा म लगभग वञ्चित नै हुन्छु । नेपाल आउँदा मात्र म उता हुँदा छुटेका पत्रपत्रिका र पुस्तक पढ्न थाल्छु । यसरी म यता लेखिएका पुस्तक र लेखनबाट अद्यावधिक हुने कोसिस गर्छु । अहिले नेपाली लेखनको गुणात्मक हुने कोसिसको गति निकै राम्रो छ । नयाँ प्रयोग, पद्धति, सोच र मौलिक हुने प्रयत्नकासाथ थुप्रै नयाँ लेखक, कवि अग्रसर भएको देखिएका छन् । गुणवत्ताको चेतनाले अघि बढिरहेका ती लेखक, कविको लेखन मलाई उच्चस्तरीय लागिरहेछ ।
कहाँनिर फरक छ, समकालीन अमेरिकी र नेपाली साहित्य ? केमा स्पष्ट फरक देख्न सकिन्छ ?
यद्यपि, अमेरिकामा स्पेनिस, फ्रेन्च, जर्मनी, स्वाहिली, पोर्चुगिज, नेपाली आदि अनेक भाषाका लेखक आ–आफ्नो तत्–तत् मातृभाषामा लेखनरत छन् । प्रकाशित छन् । तर, विडम्बना अमेरिकी साहित्य भनेर अंग्रेजीमा लेखिएको साहित्यलाई मात्र बुझ्ने गरिन्छ । यही बुझाइको अर्थमा समकालीन अमेरिकी लेखन र नेपाली साहित्यबीच स्वादको मामलामा, पाठक संख्या, कथ्य छनोट, अवधारणा र संप्रेषणको मामलामा धेरै भिन्न छ । अमेरिकी लेखक पढ्ने पाठकको संख्या लाखौँ, करोडौँमा गनिन्छ । (यो भनाइ आख्यानमा मात्र लागू हुन्छ ।) तर, नेपाली लेखन पढ्ने पाठकको संख्या बढाइ–बढाइ गर्दा पनि पाँचको अंकभन्दा बढी गन्न सकिन्नँ । लेखक, पाठक, प्रकाशनको संख्याको दृष्टिले अमेरिकी साहित्य नेपाली साहित्यसँग तुल्य हुन सक्दैन । तर, यस्ता यान्त्रिक कुरालाई छाडेर भन्ने हो भने समकालीन नेपाली साहित्य र त्यसमा लेखिएका कथा, कविता र केही उपन्यासको स्तर अमेरिकी लेखनसँग टक्कर लिन सक्ने छ नै । यो तुलनामा नेपाली उपन्यासको संख्या कम पर्छ । वास्तवमा नेपाली लेखनले अमेरिकी अंग्रेजीको आधिकारिक क्षमताको अनुवाद पाउने हो भने थोरै भए पनि हाम्रा कथा, कविता, संस्मरण र उपन्यास अमेरिकीहरूको भन्दा कम छैनन् भन्न सक्ने स्थितिमा हामी छौँ ।
विदेशमा लेखिएका सबैखाले रचनालाई डायस्पोरिक भन्ने गरिएको छ । के यो सही हुन्छ ?
यद्यपि, विश्लेषण पछि हुन थाले पनि विश्व साहित्यमा डायस्पोरा लेखनको इतिहास शताव्दीयौँ पुरानो छ । नेपाली साहित्यको सन्दर्भमा भारत, वर्माको प्रवासी नेपाली लेखनलाई हेर्ने हो भने पनि हाम्रो डायस्पोरा लेखनको छनक बसेको इतिहास पुरानै मान्नुपर्छ । तर, यो आपैँmमा एउटा विवादित विषय बनेको छ । आजको कुनै पनि साहित्य लेखनलाई सिद्धान्तको कसीमा बुँदागत विश्लेषण गर्न कस्सिनु मूर्खता नै हुन्छ । डायस्पोरा लेखनलाई यस सन्दर्भमा बुझ्ने कोसिस हुनुपर्छ । यसको बुँदा टिपोट विश्लेषण हुन सक्दैन । यसलाई व्यापकतामा अध्ययन गरिनुपर्ने र मूल्यांकन गर्नुपर्ने हुन्छ । डायस्पोरा लेखनलाई बुझ्न बुँदावादमा नलाग्दा नै बेस हुन्छ ।
हाल नेपाली डायस्पोरा लेखनलाई समुद्रपार मुलुकमा लेखिरहेको समकालीन नेपाली लेखनसँग जोडिएको छ । र, त्यसको मूल्यांकनमा न्याय दिने कोसिसमा नेपाली साहित्यका विद्वान् अध्येयता, समालोचक, लेखकहरूले यसको गम्भीर चिरफार गरिरहेका छन् ।
अब के लेख्दै हुनुहुन्छ ?
भर्खरै मैले लेखिरहेको ‘बेकारीमा उपन्यास’ नामक उपन्यासको चौथो संशोधन सिध्याएँ । यो संशोधनमा आठ/नौ हजार शब्द उडाइयो । र, उपन्यासको रूप फुलपाइन्टबाट क्वाटरपाइन्ट भयो । रूप क्वाटरपाइन्ट भए पनि यसको सम्प्रेषण र कलाबाट म सन्तुष्ट छु । बाँकी त छापिएपछि पाठकको नजरको निर्णय हो । अब, विभिन्न पत्रपत्रिकामा छापिसकेका अमेरिकी परिवेशका मेरा कथाहरूको अर्को संग्रह र संस्मरण–संग्रहको तयारी गर्दै छु । प्रकाशक रुचिको भेटियो भने यथोचित समयमा छापिने गरी बुझाउने छु । अन्यथा दुवैलाई गुन्टामा कसेर उतै अमेरिका लैजान्छु ।
प्रस्तुति : दीपक सापकोटा
प्रतिक्रिया