राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान

Dirgha-Raj-Prasaiपुस २७ गते दुई सय ९० वर्षअगाडि गोर्खामा जन्मिएका विशाल नेपालका स्रष्टा, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक भत्काउने, राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती नमान्ने र हटाउन दबाब दिने, गोर्खामा नैँ जन्मिएका वर्तमान प्रधानमन्त्री हुन् । बाबुराम भट्टराईहरूले इतिहासलाई कुचल्दै राष्ट्रघाती बाटो समातेका छन् । यिनीहरूले बुझ्नुपर्ने हो, पृथ्वीनारायण शाहबाट वि.सं. १८२५ मा काठमाडौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समयभन्दा सय वर्षपछि सन् १८६८ मा टुक्रा–टुक्रामा विभाजित जर्मन, इटाली एकीकरणमा जुटेका थिए । सन् १८६८ अगाडि जापान सोगुनहरूको जहानियाँ शासनबाट ग्रसित थियो । सन् १८६८ मा मेजी रेस्टुरेसनको नाममा राजा र जनताको प्रयासमा जापानले आधुनिक निर्माणको बाटो लियो । नेपालको एकीकरण भइसकेपछि फ्रान्समा राज्यक्रान्ति भएको र त्यसबेला अमेरिका बेलायती उपनिवेशमा जकडिएको थियो । विश्वका कैयौँ देशहरू अन्धकारमा रहेका बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर नेपालको अस्मिता बचाउने काम गरेका हुन् । अंग्रेजी साम्राज्यले यस क्षेत्रलाई आफ्नो कब्जामा लिन खोजेको अवस्थामा उनले सूर्यचन्द्र झन्डा फहराएर हिमवत्खण्ड–नेपालको मौलिकतालाई जोगाउन सकेका थिए । त, दु:खको कुरा यिनै बाबुराम भट्टराईहरूको निर्देशनमा पोखरा, गोर्खा, सिंहदरबारअगाडि र नुवाकोटमा रहेका पृथ्वीनारायणका सालिक फोरियो । ०६३ को आन्दोलन बिसर्जन पछि पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस बाबुरामकै दबाब र कांग्रेसका गिरिजाको निर्देशनमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाबाट खारेज गरियो । यो देशभक्त नेपालीहरूका लागि ठूलो अपमान थियो ।
वि.सं. १८०० मा पृथ्वीनारायणले बनारस भ्रमण गरेका बेला अंग्रेजले भारतीय परम्परा र संस्कृति ध्वस्त पारेको आफ्नै आँखाले देखे । अंग्रेजले भारतीय जनतालाई दु:ख दिएको देखेपछि यस क्षेत्रका स–साना राज्यहरू एकीकरण गरेर यहाँको अस्मिता जोगाउन लागे । हिमवत्खण्डमा रहेका साना राज्यहरूमा सुशासन नहँुदा जनताले दु:ख पाएका थिए । यसले पृथ्वीनारायणलाई राष्ट्रिय एकीकरणमा धेरै सजिलो भएको थियो । एकीकरणको दौरानमा कीर्तिपुरको विजयपछि पृथ्वीनारायणबाट अत्यन्त सशंकित भएर कान्तिपुरका जयप्रकाश मल्लले अंग्रेजी फौजको सहायता मागे । कप्तान किनलकको नेतृत्वमा २४ सय अंग्रेज सेना जयप्रकाशको सहायतार्थ काठमाडौंमा पठाइयो । त्यसबेला पृथ्वीनारायणले, ‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरंगी भनेको ब्वासो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर, फिरंगी भनेको अर्कै हो ।’ भनेका थिए । तर जयप्रकाशले बुझ्न नसकेकाले भन्दै अंग्रेज फौजलाई लखेट्न सेनापति रामकृष्ण कँुवर, मुगिटारका रामचन्द्र प्रसार्इं, वंश गुरुङ, काजी वंशराज पाण्डे, वीरभद्र, जयनारायण मगरसहितको संयुक्त प्रयासमा १६ सय अंग्रेज फौज मारिए र ८ सय सेना लिएर कप्तान किनलक भागे । यसरी अंग्रेजहरूलाई लखेटेपछि काठमाडौं उपत्यका कब्जा गर्न पृथ्वीनारायणलाई सजिलो भयो र वि.सं. १८२५ असोजमा इन्द्रजात्राको दिन झ्यागल गुरुङको प्रयासमा ११ जना सेनाको भरमा रक्तपातविना काठमाडौं विजय भयो ।
यसरी नेपालको एकीकरण चार जात छत्तीस वर्णका जात जातिहरूको संयुक्त प्रयासको प्रतिफल थियो । पूर्वतर्फ हिन्दूप्रति सेनवंशी राजवंशको आपसी झगडाले विस्थापित हुन लागेको अवस्थामा राई, लिम्बू, किराँतीहरूले अंग्रेजको उपस्थितिभन्दा हिन्दू राजाकै संरक्षणलाई स्विकारेकाले नेपालको सिमाना पूर्व टिष्टासम्म पुग्यो । पृथ्वीनारायणले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचीनलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले उनलाई अनेकौँ लान्छना लगाउने काम गरे । तर, पृथ्वीनारायण शाहको नीति थियो कि एकीकृत राज्यका सबै जनताको संरक्षण गर्नु । पृथ्वीनारायणमा यति ठूलो सहअस्तित्वको भावना थियो कि उनले नेपाल एकीकरणपछि सबै राज्यका जातजातिहरूको रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गराए । आफ्नो राज्य गोर्खाको सट्टामा विशाल नेपाल बनाए । अनेकौँ जातीय भाषाका बीचमा नेपाली भाषा व्यापक भइसकेकाले त्यसलाई सबै नेपालीको साझा भाषा बनाइयो । एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरू हिन्दू र बौद्ध धर्मका अनुयायी भएकाले नेपाल एकीकरणमा थप सहयोग पुग्न गएको थियो । राजकुमार राई लेख्छन्, ‘जातीय र ऐतिहासिक आधार भन्दै राज्यको कल्पना गर्न थालियो भने देश बरबादीमा जानेछ । पृथ्वीनारायणको शासन गर्ने महत्त्वाकांक्षाले नेपाल जन्म्यो । तर, उनले कसैलाई यो भाषा लेख्न, पढ्न या बोल्न वर्जित गरेनन् । कसैको सांस्कृतिक अधिकारमाथि बन्देज लगाएनन् ।’
राष्ट्रिय स्वाभिमान कति प्यारो हुँदो रहेछ भन्ने कुरा इसा पूर्व ४६ वर्षअगाडि मिश्रकी महान् सुन्दरी ‘किलोप्याट्रा’ले पुष्टि गरेकी छिन् । उनले वेश्याको रूप धारण गरेर पनि मिश्रलाई स्वतन्त्र गराइन् । राष्ट्रिय सार्वभौमसत्ताको कुरा यति गहिरो हुन्छ । तर, नेपालमा ठूलो षड्यन्त्रकासाथ बाबुराम भट्टराईजस्ता प्रधानमन्त्री बन्न पुगे । यसबारेमा एक दैनिकमा ७ पौष ०६९ मा सरोजराज अधिकारी लेख्छन्, ‘भट्टराईलाई प्रधानमन्त्री बनाउनमा भारतीय भूमिका रहेको, अहिले भारतीय आडकै कारण भट्टराईले सत्ता नछाड्ने, ‘रअ’ का तत्कालीन प्रमुख पिके हर्मिजसँग भट्टराईको विशेष पुरानो सम्बन्ध, हर्मिजकै गृहजिल्ला केरालामा बिताएको आदि तथ्यहरूको साथै ‘रअ’का पूर्व नेपाल प्रमुख तथा अब ‘रअ’को नेतृत्व सम्हाल्ने आलोक जोशीसँग भट्टराईको मित्रवत सम्बन्ध रहेको थियो ।’ त्यस्तै, ०६६ साल साउन २६ गते एक साप्ताहिकमा ‘देशद्रोहीको विरुद्ध खाँडो जगाऔँ’ भन्ने लेखमा लेखिएको थियो, ‘भारतीय गुप्तचर संस्था ‘रअ’ ले बाबुराम भट्टराईलाई जसरी भए पनि प्रधानमन्त्री बनाएर सिक्किमलाई ल्यान्डुपले डुबाए जस्तै नेपाललाई डुबाउने छन् ।’
बाबुराम भट्टराई प्रधानमन्त्री बनेका दिनदेखि नेपालको अस्तित्व खतरामा पर्दै छ । प्रधानमन्त्री हुनुभन्दा अगाडि कथित जनयुद्धकालमा धेरै जनधनको क्षति गराए । देशका भौतिक पूर्वाधार ध्वस्त गराए । कतिपय पक्राउ परेका आरोपीलाई कारबाही प्रक्रिया अगाडि नबढाउन कडा निर्देशन गर्ने गरेका छन् । तिनै अभियुक्तलाई प्रधानमन्त्री बाबुरामले मन्त्री, सांसद, सल्लाहकार र उच्चस्थानमा राखेर अहिले सत्ता चलाइरहेका छन् । बाबुरामले नेपाल विश्वको एकमात्र हिन्दू राज्य हँुदाहुँदै त्यसलाई हटाएर हिन्दू तथा बौद्धको पहिचान समाप्त गर्दै इसाइकरण गर्ने, राष्ट्रिय एकता दिवस हटाउने, राष्ट्र निर्माताको जन्मजयन्ती खारेज गर्ने काममा लागेर विदेशीलाई खुसी पार्दै छन् । ०६२ सालमा दिल्लीमा भएको १२ बुँदे सहमतिपछि कांग्रेसका गिरिजाहरू, एमालेका माधव नेपालहरू समेतले माओवादी आतंकको समर्थन गर्दै आए । तर, अहिले फेरि बाबुराम भट्टराईलाई दोषारोपण गर्दै तिनीहरू आफैँ सत्तामा आउन खोजेका छन् । ०६२ सालदेखि निरन्तर बाबुराम र प्रचण्डको समर्थन गर्नेहरूले अहिले बाबुराम भट्टराईलाई लेखेट्नु कुन नैतिकता हो ? राष्ट्रियता र राष्ट्रिय एकताको भावनाविपरीत कुन सार्वभौम नेपाललाई असफल बनाउँदै नेपालीहरूलाई यसरी शरणार्थी बनाउन खोजे ? संविधानसभा नै एक धोका थियो । यस्ता तत्त्वहरूबाट कुनै संविधान बन्दैन । अब, बाबुरामजीले आफ्ना सम्पूर्ण नकारात्मक व्यवहारहरूलाई सच्याउँदै इतिहासले प्रमाणित गरेका तथ्यहरूलाई जोगाउनतर्फ लाग्नुपर्छ । यसले, उनमा लागेको कलंक मेटिनेछ । र, यही नै उनको ठूलो सफलता हुनेछ ।

प्रतिक्रिया