हिंस्रक बन्दै छ राज्य

1नेपाली महिलाहरू क्रूद्ध छन् । आक्रोश अभिव्यक्त गर्ने अभ्यास गर्दै छन् । हुन त नैतिक शिक्षाले क्रोधलाई विकार भनेको छ, र नकारात्मक व्याख्या गरेको छ । तैपनि, क्रोधलाई ठीक सन्दर्भ तथा सही, सन्तुलित र व्यवस्थित तवरले राख्ने हो भने त्यसले समाज र राज्य व्यवस्थाका गाँठागुँठी फुकाउन र अग्रगामी निकास दिन मद्दत दिँदो रहेछ भन्ने चाहिँ हजारौँपटक पुिष्ट भएको छ । नेपाली समाजमा विकृति बढ्नु र हत्या हिंसा व्याप्त हुनुमा प्रतिरोध संस्कृतिको अभाव हो भन्ने निष्कर्षमा हामी पुगेकै हौँ । भारतमा दामिनी (ज्योति पाण्डे) को केसमा सबा अरब भारत उल्टियो । त्यो, विरोधको प्रभावले हाम्रा केही एक्टिभिस्टको आत्मालाई झक्झकायो । एउटी दामिनीमाथि भएको अत्याचारको विरोधमा त भारतका कुना–कुनाबाट त्यत्रा जनता सडकमा उत्रे भने हाम्रो देशमा त दामिनीमाथि भएको भन्दा चर्का अत्याचार दिनदिनै र जताततै घटिरहेछन् भन्ने सोचले मात्र पनि हाम्रा एक्टिभिस्टको आत्मामा आत्मग्लानिको बोझ पर्‍यो । ‘विभाजित गर, र राज गर’ भन्ने पुरानो ब्रिटिस नीतिलाई अपनाउँदै हाम्रा नेताहरूले हामीलाई विभाजित गरेर खण्डित गरिदिएका छन् । २०४७ सालपछि नेपाली नागरिकको सिंगो परिचय रहेन । कसैलाई कांग्रेस भनियो, कसैलाई एमाले भनियो र कसैलाई राप्रपा भनेर चिनाइयो । हाम्रो जति राम्रो भन्ने मूलमन्त्र घोकाइयो । एउटा पार्टीको लेबल लागेकोलाई अर्को पार्टीले छोइछिटोको व्यवहार गरे ।
नेपाली समाजलाई जात, थर, गोत्र र सम्प्रदायमा विभाजित गरेपछि सजिलो भयो । नेपाली समाजले समष्टिमा सोच्न छाड्यो । अंश–अंशमा हेर्ने र बुझ्ने दृष्टिकोण निर्माण भयो । आंशिक दृष्टिकोणअनुसार अमुक थर–गोत्र भएको व्यक्तिमाथि भएको अत्याचार अर्को जात, थर, गोत्रका लागि सामान्य घटना हुने भए । अझ खासमा घटना नै हुने भएनन् । अमुक पार्टीको समर्थकमाथि भएको अत्याचार अर्को पार्टीको नजरमा नपर्ने भयो । हरेक जातिले आफ्नै जातिका व्यक्ति परे मात्र बोल्ने र हरेक पार्टीले आफ्नै पार्टीका कार्यकर्तालाई परेको मात्र देख्ने भए । केही महिनाअघि यो स्तम्भकार हेटौँडामा थियो । एउटा प्रहरी जवानले १२ वर्षकी किशोरीलाई बलात्कार गरेको मुद्दा रहेछ । त्यो, मुद्दालाई कसरी कमजोर पार्दै छन् भनेर बताउँदै थिए सरकारी वकिल कार्यालयका कर्मचारी । बलात्कृत युवती वा किशोरी जति कम उमेरकी भइन्, त्यही हिसाबले अभियुक्तलाई बढी सजाय हुने रहेछ । त्यसैले, कागजपत्र मिलाएर मुद्दाको मिसीलमा १२ वर्षकी नाबालिगको उमेर बढाएर १८ वर्ष गराइएछ । यो, मुद्दामा मकवानपुर जिल्ला अदालतले पुस १२ गते फैसला गर्‍यो । वास्तविक उमेर (१२ वर्ष) राखिएको भए १२ वर्षसम्म कैदसजाय हुन सक्ने ठाउँमा पाँच वर्ष मात्र कैद सजाय तोकिएछ । बलात्कृत किशोरीका बाबु कुनै पार्टी वा कुनै जातीय संगठनका नेताका मान्छे भएका भए किशोरीको उमेर बढाउन कसैले आँट गर्ने थिएन । हल्दिबारी–४, झापा बस्ने १७ वर्षिया सावित्रा राजवंशीलाई त्यहीँको मिथुन राजवंशीले ०६८ माघ १९ गते बलात्कार गर्‍यो । बलात्कारपछि घाँटी थिचेर हत्या गर्‍यो । यस्ता, अपराधीलाई कानुनबमोजिम कडा कारबाही होस् भन्नुपर्नेमा पार्टीका भगिनी संगठनले मुद्दा खुकुलो बनाउ भनेर पो दबाब दिए । ०६७ असार १५ गते पटखौली, रूपन्देहीकी १३ वर्षिया मुस्लिम किशोरीलाई सोही गाउँका खाजिल, सुनिल, जितेन्द्र, आनन्द कुर्मी र धकधई गाविसका शंकर घोबीले सामूहिक बलात्कार गरे । बलात्कारको घटनापछि मुद्दा प्रकरणलाई गाउँमै मिलाउने जिम्मा मधेसी जनअधिकार फोरमले लियो । प्रत्येक बलात्कारीबाट ८० हजार रुपियाँका दरले रकम संकलन गर्‍यो । बलात्कृत किशोरीको बाबुलाई ३५ हजार रुपियाँ दिइयो । र, उक्त मुद्दालाई त्यतिकै दबाइयो । यति कहालिलाग्दो भयंकर अत्याचार हुँदा न त कुनै मानवअधिकारकर्मी बोल्यो, न त कुनै पार्टीको भगिनी संगठन नै बोल्यो ।
सरकार नांगिएर अपराधीको संरक्षणमा उत्रेको छ । पाँच वर्षदेखि सरकारले जघन्य अपराधका मुद्दाहरू धमाधम फिर्ता लिइरहेको छ । ०६३/६४ सालतिर गौरमा कत्लेआम नरसंहार गरे । ७ किमिसम्म लखेटी–लखेटी निर्दाेष मान्छे मारिए । कसैलाई मन्दिरमा लगेर बली चढाइयो, र कैयौँ युवतीलाई बलात्कारपछि स्तन काटिदिए । एकैदिन २८ जनालाई एउटै चिहान बनाइयो । अपराधीलाई कारबाही गर्लान् भनेको त पछिल्लो सरकारले ती अपराधीलाई बोलाएर पार्टीलाई सहयोग गर्ने भए पछि मुद्दा फिर्ता लिइयो र ससम्मान राज्यका महत्त्वपूर्ण पदमा विराजमान गराइयो । कपिलवस्तुमा त्यत्रो हत्या, हिंसा र आगजनी गर्ने अपराधीसँग पनि सरकारले त्यस्तै व्यवहार गर्‍यो । तिनीहरूका मुद्दा पनि सबै फिर्ता लिइयो ।
लोकतन्त्र आउनुभन्दा अलि अगाडिको कुरा हो । रोल्पा, गजुल गाविस, किमचौरकी २० वर्षिया दिव्यज्योति थापाले काठमाडौं आइपुगेर आफ्नो कथाव्यथा सुनाएकी थिइन् । उनले भनिन्, ‘प्रनानि रामसिंह थापाको कमान्डमा गएको प्रहरीको डफ्फा घरभित्र पस्यो । घरभित्र पस्नासाथ मेरा दुवै भाइलाई भकुर्‍यो । म र मेरी आमा वाग्मती थापालाई बाँधेर चौकीमा लग्यो । साँझको खाना खाएर प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले हामीलाई नांगै बनायो र लठ्ठी भाँचियुन्जेल पिट्यो । चुल्ठोमा समातेर लछारपछार गर्‍यो । त्यसपछि प्रनानि थापाले मेरी आमालाई भासा कोठामा लगेर बलात्कार गर्‍यो भने मलाई राजेन्द्र अधिकारीले बलात्कार गर्‍यो । बलात्कार पछि गन्जी र लुँगी लगाउन दिए । चरम यातनाले उठ्नै नसक्ने भइसकेकी थिएँ । दिसापिसाब गर्न जाँदा लौरोले पिट्दै लग्थे । ‘हेर त मरी कि जिउँदै छ’ भनेर हेर्न पठाउँथे । यसैगरी, प्रहरीले हामीलाई त्यहाँ दुई हप्तासम्म राखे । एक रात त आमाकै सामुन्ने राजेन्द्र अधिकारीले मलाई बलात्कार गर्‍यो । हामी दुवैजनालाई बाँधेको थियो । मलाई बलात्कार गरिरहँदा मेरी आमाले आँखाभरि आँसु लिएर टुलुटुलु हेरिरहेकी थिइन् ।“ रूकुम, मुरू गाविस, छानी गाउँकी १३ वर्षीया किशोरी निर्मला पुनले भोगेको पीडा झन् भयानक छ । उनले भनिन्, ‘खारा गाउँका घरहरूमा आगजनी गरेपछि हिंडेका केही प्रहरीहरू मेरो घरको बाटो भएर आए । त्यसबखत म घरमुनि बारीमा घाँस काट्दै थिएँ । त्यहाँ आइपुगेका प्रहरीहरू मलाई देखेर उभिए । उनीहरूले मलाई समाते । मिडी च्यातेर मेरो मुखमा कोच्दै तीन जनाले मलाई समाते । त्यसपछि चार जनाले पालैपालो बलात्कार गरे । पालो नपाउनेहरू ‘ए, छिटो गर’ भन्दै कराउँथे । मेरो आवाज सुनेर १२ दिनकी सुत्केरी आमा दौडिँदै आउनुभयो । मेरी आमालाई बन्दुकको कुन्दाले पिटे ।
यी त प्रतिनिधि घटना मात्र हुन् । भारतमा दामिनीमाथि अत्याचार हुँदा त्यत्रो भारतवर्ष जुरुक्कै उठ्यो । हाम्रो सानो देश र थोरै जनता भए पनि यहाँ त दामिनीमाथि भएका जस्ता अत्याचारका घटना हजारौँमा हैन, लाखौँमा घटिरहेछन् । हामी विरोधमा नउत्रने हो भने हाम्रो अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुन्छ भनेर लाजगालको लागि विरोध गरेको हो भने त विरोध कार्यक्रम पनि फेसन मात्रै हुन जाला । हैन भने समग्र हिंसाकै विरोध गर्नुपर्छ । चाहे त्यो महिलामाथि परेको होस्, पुरुषमाथि होस्, कुनै जातको होस्, पत्रकार, व्यवशायी जोसुकै होस् । जहाँ, जसमाथि भएको भए पनि हिंसा भनेको हिंसा नै हो ।

प्रतिक्रिया