पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपी पक्राउ सम्बन्धमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्ति कुनै पनि लोकतान्त्रिक सरकार र समाजका लागि सुहाउँदो छैन । विभिन्न समूहबाट हालसम्म ३३ पत्रकारको हत्या भइसकेको छ । नेपाल पत्रकार महासंघ विगतमा भएका ती सबै पत्रकार हत्याका दोषीलाई कडा कारबाही गर्न माग गर्छ । सरकारले ती हत्याराहरूलाई कानुनी दायरामा ल्याएर प्रचलित कानुन अनुरूप दण्ड, सजाय गर्नै पर्छ । मुलुकमा रहेको दण्डहीनता अन्त्यका लागि महासंघ विगतदेखि नै लड्दै आइरहेको छ । महासंघ राज्यको वैधानिक कानुन अनुरूप अधिकारप्राप्त निकायले गरेको निर्णयको सदैव सम्मान गर्छ । सरकारले कानुनी राज्यको अवधारणालाई सम्मान गर्दै मानवअधिकारको सम्मान गर्न सक्नुपर्छ । पीडकलाई दण्ड–सजाय र पीडितलाई न्याय दिलाउन प्रधानमन्त्रीले अनुसन्धान प्रक्रिया निर्वाध रूपमा तुरुन्त सुचारु गराउनुपर्छ । साथै, प्रधानमन्त्रीले जनसरकार प्रमुखको शैलीमा दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्नुपर्छ । र, अनुसन्धान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउन दिएर दण्डहीनता अन्त्य गर्नेतर्फ सहयोग पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया